सतर्कताको आगामी योजना
प्रदेश राजधानी वीरेन्द्रनगरमा करिब दुई सातादेखि जारी निषेधाज्ञा अन्त्य गरिएको छ । शनिवारदेखि शर्तसहित निषेधाज्ञा हटाइएको हो । नगरपालिका, जिल्ला प्रशासन कार्यालय र प्रदेश सरकारबीचको छलफल र समन्वयमा गत भदौ १ गतेदेखि राजधानीमा निषेधाज्ञा जारी गरिएको थियो । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जोखिम कम गर्न उक्त निर्णय लिइएको हो । तीज नजिकिएसँगै बढ्दो भिडभाड नियन्त्रण गर्न पनि प्रशासनले सतर्कता अपनाएको थियो । अब भने वीरेन्द्रनगर खुल्ला भएको छ ।
स्थानीय प्रशासनले शर्तसहित निषेधाज्ञा हटाएको हो । निषेधाज्ञा पूर्णरूपमा हटे पनि भिडभाड नियन्त्रणका लागि व्यवसायी तथा नागरिकहरूले भने केही शर्तहरू पालना गर्नुपर्ने छ । वीरेन्द्रनगर बजार बिहान ५ बजेदेखि साँझ ७ बजेसम्म मात्र खुला गर्न दिने निर्णय भएको छ । त्यस्तै सवारी साधनहरूको हकमा भने स्वास्थ्य, सुरक्षा, एम्बुलेन्स, दमकल, सञ्चारकर्मी, मालबाहक तथा अत्यावश्यक सवारी साधनहरूबाहेक सार्वजनिक यातायातका साधनहरूमा जोर–बिजोर प्रणाली लागू गरिएको छ । साँझ ७ बजेपछि निजी तथा सार्वजनिक दुवै खालका सवारी साधन चलाउन पाइने छैन । सार्वजनिक यातायातका साधनहरू सञ्चालनको हकमा भने जिल्ला भित्रमात्रै जोर–बिजोर प्रणाली अनुसार चलाउन पाइने छ । सुर्खेतबाहेक अन्य जिल्लामा जानुपर्ने वा आउनुपर्ने भएमा सम्बन्धित जिल्ला प्रशासनको स्वीकृति अनिवार्य लिनुपर्ने छ । कोही नागरिकलाई व्यवहारिक रूपमै अप्ठ्यारो परेको समयमाबाहेक शर्तको अवज्ञा गर्नेलाई कडा कारबाही गर्ने चेतावनी प्रशासनले दिएको छ ।
अर्कोतर्फ जनसम्पर्क तथा सेवाग्राहीको चाप बढी हुने कार्यालयहरूमा र बैंकहरूमा टोकन, अनलाइन प्रणाली र सीमित सेवाग्राही राखी सेवा सञ्चालन गर्न भनिएको छ । यदि सो सम्भव नभएको खण्डमा नेपाल राष्ट्र बैंकले तोकेको बार र संख्यामा सीमित जनशक्तिबाट बैंकहरू सञ्चालन गर्नुपर्ने छ । त्यस्तै होटेल व्यवसायीहरूले होटेलमा क्वारेन्टाइन राख्नुपर्ने भएमा जिल्ला प्रशासनको स्वीकृति लिनुपर्ने, दैनिक नित्य पूजाबाहेक अन्य धार्मिक गतिविधि, विवाह र व्रतबन्धमा भिडभाड नगर्ने/नगराउने शर्तमा निषेधाज्ञा खुल्ला गरिएको हो । अन्य व्यवसायका हकमा पार्लर, सैलुन लगायतका व्यवसाय तथा शैक्षिक संस्था, खेलकुद, पुस्तकालय, संग्रहालयहरू सञ्चालन नगर्ने, गोष्ठी, तालिम लगायतका भिडभाड हुने कार्य नगर्ने गरी निषेधाज्ञा हटाइएको छ । यस्तै फूटपाथमा बसी व्यवसाय गर्नेहरूले पनि व्यवसाय गर्न नपाउने भएका छन् । फूटपाथका ठेला, तरकारी, खुद्रा लगायतका व्यवसाय तत्काल नगर्ने गरी वीरेन्द्रनगरमा निषेधाज्ञा खुला गरिएको हो ।
कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगर कोरोनाको उच्च जोखिममा छ । यहाँ भिडभाड बढी हुने हुँदा अन्य जिल्लाका सदरमुकाम तथा बजार क्षेत्रभन्दा बढी जोखिम देखिएको हो । कोरोना संक्रमण समुदायस्तरमा फैलिसकेको छ । यही जोखिमलाई नियन्त्रण गर्नु चुनौतीपूर्ण छ । निषेधाज्ञा हटाइएपनि आवश्यक सतर्कता भने अपरिहार्य छ । यसमा आम नागरिकको भूमिका महŒवपूर्ण हुन्छ । हरेक व्यक्ति आफै सजग भएर स्वास्थ्य सतर्कता अपनाउने, भौतिक दुरी कायम गर्ने, अत्यावश्यक कामबाहेक बाहिर ननिस्कने, भिडभाड नगर्ने जस्ता कुरामा ध्यान दिएमा मात्र सम्भावित जोखिमबाट जोगिन सकिन्छ ।
प्रकाशित मितिः १४ भाद्र २०७७, आईतवार ०६:०३
साझा बिसौनी ।