वार्षिकोत्सवको अवसरमा वक्तृत्वकला

अमरज्योति नमुना माध्यमिक विद्यालय नेवारेले अनलाईनमार्फत वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । विद्यालयको वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसर पारेर शनिवार प्रतियोगिता आयोजना गरिएको हो ।

‘कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणमा हाम्रो भूमिका’ विषयमा प्रतियोगिता गरिएको विद्यालयका सहायक प्रधानाध्यापक भुपेन्द्र बिसीले जानकारी दिए । उनका अनुसार उक्त प्रतियोगितामा कक्षा ९ मा अध्ययनरत रूपक अधिकारी प्रथम, कक्षा ९ कै केशवराज शाही द्वितीय, कक्षा ८ की सीता बुढाक्षेत्री तृतीय तथा कक्षा १० का निरक अधिकारीले सान्तवना स्थान हासिल गरेका छन् ।

विद्यालयले मंगलवार आफ्नो ६०औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाउँदै छ । प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई सोही दिन पुरस्कार प्रदान गरिनेछ । कोरोना कहरका कारण विगतमा जसरी औपचारिक कार्यक्रम नगरिएपनि विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा सीमित विद्यार्थीमाझ पुरस्कार वितरण गरिने जनाइएको छ । उक्त प्रतियोगिता विद्यालयका प्रधानाध्यापक खगेन्द्र थापाको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाराम आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

प्रकाशित मितिः   १४ भाद्र २०७७, आईतवार ०६:०२