स्वास्थ्य तालिम केन्द्र पुनस्र्थापनाको माग

कर्णाली प्रदेशमा स्वास्थ्य तालिम केन्द्र पुनस्र्थापनाको लागि प्रदेश सरकारलाई ज्ञापन–पत्र बुझाइएको छ । स्वास्थ्य प्रवद्र्धन तथा शिक्षा संघ नेपालले बिहीवार सामाजिक विकासमन्त्री दल रावललाई तालिम केन्द्र पुनस्र्थापनाको माग गर्दै ज्ञापन–पत्र बुझाएको हो ।

२०७६ भदौ ५ गते कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् निर्णयबाट स्वास्थ्य तालिम केन्द्रलाई अन्य सेवाको तालिम केन्द्रहरूसँग एकीकृत गरी मानव संशाधन विकास केन्द्र बनाएको छ । कार्यालय र भएको दरबन्दीसमेत कटौती गरेकोले तालिम केन्द्र पुनस्र्थापनाको लागि मन्त्रीलाई ज्ञापन–पत्र बुझाइएको संघका केन्द्रीय सचिव नवराज कँडेलले जानकारी दिए । ‘सरकारको निर्णयले हाम्रो वृत्ति विकासमा अवरोध भएको छ,’ उनले भने ‘केही कार्यालयहरूलाई पुनस्र्थापनाका लागि मन्त्रालयले वार्षिक कार्यक्रममा समावेश गरे पनि तालिम केन्द्रका लागि प्रदेश सरकार मौन छ ।’

उनले चालु आ.व. २०७७÷०७८ को वार्षिक स्वीकृत कार्यक्रममा सोही निर्णयबाट प्रदेश स्वास्थ्य सेवा निर्देशनालयमा खरिद तथा आपूर्ति शाखा र जनस्वास्थ्य प्रयोगशाला शाखाको रूपमा गाभिएका प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई पुनस्र्थापना गर्न सामाजिक विकास मन्त्रालयले पहल चाले पनि तालिम केन्द्रको बारेमा केही नसोचेको भन्दै ध्यानाकर्षण–पत्र बुझाउनु परेको सचिव कँडेलले बताए ।

प्रदेश सरकारको यस कार्यले चिकित्सा क्षेत्रमा गुणस्तरीय तालिम व्यवस्थापनलाई उपेक्षा गरिएको र कोभिड–१९ को महामारीमा आईसीयू र भेन्टिलेटर चलाउन सक्ने तालिम प्राप्त जनशक्तिको अभाव भएको स्वास्थ्य प्रवद्र्धन तथा शिक्षा संघले जनाएको छ । स्वास्थ्य तालिम केन्द्रको पुनस्र्थापनामा सरकारले तत्काल कदम चाल्नुपर्ने संघको माग छ ।