प्रविधि र म

मैले थाहा पाउँदा हाम्रो घरमा एउटा डबल स्पीकरवाला ठूलो रेडियो थियो । जापानमा बनेको बहुचर्चित नेसनल पानाशोनिक त्यो रेडियोलाई मेरो बुबाले कुनै लाहुरेसँग किन्नुभएको हुँदो हो । हाम्रो घरमा माथिल्लो तलाको बाहिर बार्दलीतिर भित्तामा एउटा ठूलो काठको किलो ठोकिएको थियो, त्यसलाई हाम्रो परिवारका सबैले रेडियो झुण्डाउने किलो भनेर चिन्दथे । रेडियो खोलेर प्रायः त्यही किलामा झुण्डाएको मलाई अलि–अलि याद छ । त्यसरी त्यहाँ झुण्डाएर रेडियो बजाएपछि निकै टाढा–टाढासम्म पनि त्यसको आवाज सुनिन्थ्यो । दैलेख जिल्लाको साँडु गाउँमा हाम्रो घर गाउँको करिब–करिब सबैभन्दा माथिल्लो भागमा थियो । ध्वनी प्रदुषणको कुनै असर नपरेको त्यो समयमा हाम्रो घरमा बजेको रेडियोको आवाज गाउँ टोल नजिक मात्र नभएर धेरै परपरसम्म पनि स्पष्टै सुनिन्थ्यो । रेडियोको बीच भागमा बेण्ड र मिटर चलेको हेर्नका लागि सीसाको ढोका जस्तो भाग थियो र हाम्रो बालकल्पनामा त्यसलाई ढोका नै मानेका थियौं । त्यहाँभित्र साना–साना मान्छे त्यही ढोकाबाट बाहिर–भित्र गर्दा हुन् भनि ठान्थ्यौं ।

त्यतिखेर त्यस्ता सामान कि त लाहुरेसँग हुन्थे कि भने अलि हुनेखानेसँग मात्र हुने गथ्र्याे । एक दिन हाम्रो माइला दाजुले एउटा ‘टेपरिकाट’ भन्ने रेडियो जस्तै अर्काे यन्त्र बोकेर आउनुभयो त्यसमा आमाहरू, फुपुहरू, दिदीहरूले बोलेको कुरा उहाँहरूले थाहा नपाउने गरी रेकर्ड गरेर पछि उहाँहरूलाई नै सुनाएर चकित पारेको पनि मलाई अलि–अलि याद छ । त्यो क्यासेट प्लेयर थियो । त्यस्ता चीजहरू जो कोहीसँग हुँदैनथ्यो जोसँग हुन्थ्यो सानो ठूलो जत्रो भए पनि उसले साथमा बोकेरै हिँड्थ्यो ।

लाहुरेहरू अथवा कोही आफन्तहरूले क्यामरा बोकेर आउँथे र फोटो खिच्थे त्यो फोटो धुलाएर आउन दुई÷चार महिना भन्दा बढी नै लाग्थ्यो, एकपटक कुनै लाहुरेले मेरो फोटो खिच्न खोज्दा म डराएर खुब रोएको थिएँ । जो कोहीसँग क्यामरा पनि हुँदैनथ्यो भने हम्मेसी फोटो खिच्ने काम पनि हुँदैनथ्यो । काम विशेषले मात्र फोटो खिचिन्थ्यो भने उस्तै सौखिनहरूले अवसर विशेषमा फोटो खिच्थे । स्टुडियोमा फोटो खिचाउँदासमेत फोटो लिन महिनौं दिन लाग्थ्यो । त्यो सादा फोटोको जमाना थियो, पछि रंगीन फोटोको चलन आयो । काठमाडौंमा ४५मीनेटमा रंगिन फोटो धुलाइ हुने कुरा रेडियोले फुक्यो । त्यो प्रविधिले ढिलो छिटो ठूला र साना सहरहरूमा ब्यापकता लिदैं गयो । रंगीन रिल क्यामरामा हालेर अवसर विशेषमा फोटोहरू खिच्ने अनि धुलाउन पनि छिनको छिनमै धुलाउने र त्यसको रिललाई सुरक्षित राख्ने फेरिपछि आवश्यक पर्दा धुलाउने, चाहना अनुसारका फोटोहरू धुलाएर किसिम किसिमका एल्बम भरेर राख्ने फेसन खुब चल्यो । आफन्तहरू भेट गर्न आउँदा फोटोको एल्बम हेर्ने एउटा मुख्य कार्यक्रम नै हुन्थ्यो कुनै–कुनै आगन्तुकले फोटो चोरेर लैजाने पनि हुन्थ्यो । आजभोलि त क्यामराले फोटो खिचेर धुलाउने चलन करिब–करिब हराइसकेको छ भन्दा पनि हुन्छ । घरका फोटो एल्बमहरूलाई मोबाइल, कम्प्युटर र फेसबुकका एल्बमहरूले झण्डै–झण्डै विस्थापित गरी सकेका छन् ।

दैलेखमा राणाकालीन शैलीको एउटा दरबार थियो कुनै राणा वडा हाकिमले बनाउन लगाएको हुनुपर्छ । जो पछि माओवादीहरूले ध्वस्त पारे । अहिले पुरानै स्वरूपमा पुनर्निर्माण गरिएको छ । हामीले थाहा पाउ“दा त्यह“ा सीडीओको कार्यालय थियो । त्यसको आँगनकै किनारमा कर्कटपाताले बारेको एउटा सानो घर जस्तो टहरो थियो जसलाई आ.वा.घर भनिन्थ्यो । आ.वा. अर्थात् आकाशवाणी । त्यहाँबाट सरकारी र निजी खबरहरूको आदान–प्रदान त्यसबाट हुने गथ्र्याे । आफ्नो सन्देश त्यहाँ टिपाउनु पथ्र्यो, अपरेटर भन्ने मान्छेले आफ्नो शैलीमा बोलेर त्यो उता टिपाइ दिन्थ्यो र उताबाट आउने सन्देश पनि उसले त्यसैगरी टिपेर सम्बन्धितलाई उपलब्ध गराइदिन्थ्यो । त्यो सञ्चार माध्यममा एकै पटक दोहोरो कुरा हुँदैनथ्यो, एक पटक बोल्ने मात्रै र एक पटक सुन्ने मात्रै सुविधा त्यसमा थियो । त्यतिखेर त्यो नै अत्यन्त प्रभावशाली सञ्चार माध्यम मानिन्थ्यो ।

दैलेखमा हुँदा आमाहरू बिहान सबेरै उठेर ढिकी जाँतो गरेको मलाइ याद छ । सानो हुँदा म बुबालाई भन्दा आमालाई नै पछाउँथें र आमाले सबेरै उठेर घरधन्दा गर्ने समयमा पनि म बुबासँग आरामले नसुतेर आमासँगै जान्थें र आमाले मलाई पीठ्यूँमा बोकेर अथवा कोखिलामा च्यापेर ढिकी जातो गर्नुपथ्र्याे । दैनिक रोटी भातको लागि गाउँमा साँझ बिहानमा ढिकी जातोको आवाज प्रायः सुनिन्थ्यो । अलि धेरै पीठो बनाउनु परेमा घट्टमा लैजाने चलन थियो । तेल बनाउनु पर्दा कोलमा पेलिन्थ्यो । अमिलो कागतीहरू पेलेर रस निकाल्नका लागि पनि काठको सानो कोल जस्तो बनाइएको हुन्थ्यो । ढिकी जाँतो सबैको घरमा हुन्थ्यो भने तेल बनाउने कोल चाहिँ ८÷१० घरको बीचमा एउटा हुन्थ्यो ।

थोरै लुगा धुनका लागि रिठ्ठा र साबुनको प्रयोग हुन्थ्यो भने कहिले कहीं आमाले घरभरीका लुगा कपडा जम्मा गरेर बडेमानको ताउलोमा पानी, खरानी र अरु के–के हालेर पकाएको अनि काठको पाटीले पिटी–पिटी धुने गरेको मलाइ याद छ, त्यसलाई बान पकाउने भनिन्थ्यो, त्यसो गर्दा हामी केटाकेटीहरू त्यतै वरपर रमाइरहेका हुन्थ्यौ । नजिकै धारो अथवा कुलोबाट आइरहेको मिठो कलकल ध्वनी, बानबाट बाफ उठिरहेको अनि त्यसबाट निस्केको खरानी र मयल मिश्रित एक प्रकारको गन्ध, आकाशतिर गइरहेको धुँवाको मुस्लो सायद आगो नबलेर आमालाई रिस उठेको अनि हामी चलिरहेकोमा हामी माथि थप क्रोधित हुँदै कराएको अहिल्यै जस्तो लाग्छ, अब त जति नै इच्छा गरे पनि ती दिन फर्केर आउँदैनन् । हामी सुर्खेत झरेपछि त्यो ढिकी र जातोको आवाज विरानो भयो । सायद आमाको पेटमा हुँदा देखि सुनेको आवाज भएर होला त्यो आवाजमा एउटा बेग्लै खालको आनन्द मिल्छ । कुट्ने, पिस्ने र पेल्ने कामका लागि त गाउँगाउँमा तेलबाट चल्ने अथवा बिजुलीबाट चल्ने विभिन्न किसिमका मिलहरू पुगेको धेरै समय भइसक्यो । घरमा पनि मसला र अचार पीस्न मसिन, घर बढार्न मसिन लुगा धुन मसिन सबै सामान्य जस्तो भइसक्यो ।

पछि हामी सुर्खेत बसाइँ सरेपछि हाम्रो त्यो पानासोनिक रेडियो हामीसँगै सुर्खेत आयो । रेडियो बुबाले बजाउनुहुन्थ्यो, बिहानको छ बजे रेडियो खुल्थ्यो त्यो स“गस“गै सबै जना आ–आफ्नो दैनिक क्रियाकलापमा लाग्थे, हाम्रो त्यो रेडियो प्रायः बिहान आठ बजेसम्म बज्ने गथ्र्याे । बिहान आठ बजे अङ्गे्रजीमा समाचार आउथ्यो र त्यो अङ्गे्रजीको समाचार मानौं सुन्नु हुँदैन, सुन्यो भने अनर्थ हुन्छ भने झैं गरी रेडियो बन्द गरिन्थ्यो । त्यसरी बन्द भएको रेडियो साँझ बुबा अफिसबाट फर्केपछि मात्रै बजाइन्थ्यो, मानौं त्यो रेडियो हामी केटाकेटीले खोल्नु हुँदैनथ्यो अथवा हामी खोल्न जाँन्दैनथ्यौं । हामीलाई हाम्रो रेडियो बिहान र बेलुका मात्रै बज्छ भन्ने लाग्दथ्यो ।

बुबाको अफिसको एक जना कार्यालय सहयोगी हाम्रो घरमा सहयोगीको रूपमा आए । उनले सो रेडियो दिउ“स पनि बजाए पछि हामीले अचम्म मान्यौः हाम्रो रेडियो त दिउँस पनि बज्दो रहेछ । पछि पो थाहा भयो त्यतिखेर रेडियो नेपाल साँझ बिहान मिडियम वेभ बेण्डमा र दिउँसो चाही सर्टवेभ बेण्ड सेवामा राम्रो सुनिदो रहेछ । बेण्ड बदलेर रेडियो बजाउने कुरा हामीलाई थाहा थिएन । रेडियोमा गीत आउँछ भन्ने हामीलाई थाहा थियो त्यसले बोलेको कुरा बुझ्न सक्ने हामी भएका थिएनौं । एक दिन दिदीले उहाँको साथीले रेडियोमा आएको गीत कापीमा टिपेको कुरा सुनाउनु भयो । हामी उनको त्यस किसिमको क्षमतासँग एक किसिमले प्रभावित भयौं र त्यसरी हामी गीत टिप्न सक्छौं कि सक्दैनौं भनेर आफ्नै परीक्षा गर्ने विचार ग¥यौं र गीतको प्रतिक्षा गर्न थाल्यौं । रेडियोमा खुव राम्रो धुन बज्यो, गजबको गीत बज्न थाल्यो भनेर हामीले हतार–हतार कलम कापी ठीक पा¥यौं तर हामीले सोचे जस्तो गीत बजेन । सायद कुनै कार्यक्रम अथवा समाचारको ट्युन थियो त्यो । हामीले त्यहाँ बोल्नेवाला मान्छेलाई गाली गर्दै भन्यौ ‘कति राम्रो गीत आउन लागेको थियो को बड्डो बोलेर म¥यो ।’ त्यतिखेर नागरिकले रेडियो किनेर त्यत्तिकै बजाउन पाइदैनथ्यो, सरकारी निकायबाट बन्दुकको लाइसेन्स लिए झैं रेडियोको पनि लाइसेन्स लिनुपथ्र्याे । स्कुलमा लामो बिदा परेको बेला दिउँसो त्यसै साथीहरूसँग बरालिन्छ भनेर बुबाले मलाई आफ्नो अफिसमा लिएर जानुहुन्थ्यो । त्यहाँ उहाँले मलाई आफ्नो स्कुल गृहकार्यको अलावा टाइप गर्न पनि सिक्न लगाउनुहुन्थ्यो । त्यो टाइपराइटर पटटट बजेर अक्षर लेखेको देख्दा मलाई निकै रमाइलो लाग्थ्यो । टाइपिस्ट कर्मचारीको काम नभएको बेला मलाइ टाइप गर्न सिक्ने मौका मिल्थ्यो । आजभोलि त त्यो टाइपराइटरलाई कम्प्युटरले राम्रै गरी विस्थापित गरिसक्यो । त्यसरी बुबाको अफिसमा गएको बेला एक जना लाहुरे आफ्नो रेडियोको लाइसेन्स बनाउन आएको थियो । लाइसेन्स बनाउने क्रममा उसले आफ्नो रेडियो बजायो, रेडियोले एउटा गीत गायो :
गयो माया पुतलीको छाया बनेर
झ¥यो आँसु मायालुको रूप बनेर…
यस्तो गीत मन पराउने मेरो उमेर त भइसकेको थिएन तर पनि मलाइ त्यो गीत खुब मन परेको थियो, सायद गीतको भावले भन्दा स्वर अनि ताल र लयले प्रभाव पारेको हुनसक्छ । संयोगबस त्यही गीत साँझ हाम्रो घरको रेडियोले पनि गाएको थियो मैले अचम्म मान्दै बुबालाई भनेको थिए“ः ‘बुबा दिउ“सको गीत’ । दिउँसो लाहुरेको रेडियोले गाएको गीत साँझ हाम्रो रेडियोले पनि गाइदिएकोमा म एक प्रकारले आश्चर्यचकित भएको थिए“ ।

त्यो रेडियोले हाम्रो खुब सेवा ग¥यो । पछि त्यो रेडियो दिदीको कब्जामा प¥यो किशोरावस्थामा उक्लन नपाउँदै आमाले भातभान्साको काम प्रायः गरी दिदीको जिम्मा लगाइदिनुभो । भान्साको काम गर्दा होस् वा अघिपछि दिदीलाई हिन्दी गीत सुन्ने लत बसेको थियो । बिहानको समयमा विविध भारतीको फरमाइसी गीतको कार्यक्रम र दिउँसोको समयमा नेपाली फरमाइसी गीतको कार्यक्रम उहाँले नछुटाइ सुुन्नुहुन्थ्यो त्यसरी त्यो पुरानो रेडियोको मिटर बटारिरहँदा एक पटक मिटर बटार्न नमिल्ने गरी बिग्रेको थियो र त्यो बनाएर ल्याउने जिम्मा पनि मेरै परेको थियो । त्यतिबेला मेरो जिज्ञासु स्वभाव त थियो नै, मेकानिकले कसरी बनाउँछ भनेर मैले खुब गौर गरेर हेरेको थिएँ । पछि त्यसैगरी मिटरको धागो चुट्दा मैले मेकानिकले खोले जस्तै गरी रेडियो खोलेर चुटेको धागो फालेर त्यसको ठाउँमा बुबाको पुरानो जनैको धागो हालेर बनाइदिएको थिए किनकी मसँग उपलब्ध सबैभन्दा बलियो धागो त्यही थियो । दिदीसँग झगडा पर्दा मैले दुश्मनी साध्न रेडियोको त्यही मिटरको धागो चुँडाइदिन्थे र दिदीले निकै अनुनय विनय गरेर मलाइ रेडियो बनाइदिनका लागि अनुरोध गर्नुहुन्थ्यो र म आफ्नो जीत भएको महसुस गर्दै बुबाको पुरानो जनैको धागो हालेर त्यो रेडियो बनाइदिन्थे ।

सायद म चार कक्षामा पढ्थे । एक दिन स्कुल बिदा भएपछि आएर म घरमा खेल्दै थिए“, अफिसबाट फर्केपछि बुबाले मलाइ बोलाएर आफ्नो पाकेटबाट एउटा यन्त्र झिकेर देखाउँदै भन्नुभो ‘हेर यो हिसाब गर्ने मेसिन हो ।’ र त्यसमा कसरी हिसाब गर्ने भनेर सिकाउनु भो । म आश्चर्यचकित भए“ । त्यो मसिन मलाइ थमाएर बुबा आफ्नो काममा लाग्नुभो म अचम्म मान्दै त्यो मसिनसँग खेल्न थाले । त्यसले गरेको हिसाब सही छ कि छैन भनेर मैले पटक–पटक जोड, घटाउ र गुणन, भागका हिसाबहरू गरेर हेरे“ । मैले जति पटक जाँच्न खोजे पनि त्यसले हिसाब सही नै ग¥यो गल्ती गरेन । नयाँ क्याल्कुलेटर थियो बिग्रेको थिएन गल्ती किन पो गथ्र्याे विचरा । क्रमश…अर्को साता ।
(लेखक बाङ्मय चौतारी नेपालका अध्यक्ष हुन् ।)