त्यही याद

पात्रहरु :
ऊ : जीवन
म : शिखा
यात्रा : विश्वासका, आश्थाका ।
उसका शब्दहरुसँग मेरो प्रेम हुन्छ । उसका यादहरुसँग मेरो प्रेम हुन्छ । उसका झलकहरुसँग मेरो प्रेम हुन्छ । एक पटक प्रेम त हुन्छ, जसरी नि हुन्छ, जो सँग नि हुन्छ । तर एउटैसँग हुन्छ ।

प्रेम जसको कुनै अर्थ छैन तर एक पटक जरुर यसको अर्थ खोजिन्छ । हो, प्रेम गर्नेहरुबाटै खोजिन्छ, प्रेमको अर्थ । त्यो खोजीबाट अर्थ त होइन तर महसुसका व्याख्याहरु भने पक्कै भेटिन्छन् ।

जहाँ पुगेर कहिल्यै नफर्किउँ जस्तो र फेरि नरोकिउँ जस्तै, कति हराए जस्तो… यस्तै यस्तै ।

झरी त पहिले पनि पथ्र्यो होला तर याद छैन । जबदेखि याद हुन थाल्यो त्यो तिमीबाटै सुरु हुन्छ । जब पानीका थोपाले स्पर्श गर्छन् अनि एकाएक मनका शब्दहरु छ–छल्किन्छन्, कति त समेटिन्छन् कलमले सेता पान्नामा त कति त्यसै हराउँछन् ।

म यहि सोच्छु, यदि यी सब आस्थाहरु भ्रम भए भने, यदि प्रेम मात्र भ्रम भयो भने के हुन्छ होला ? म कहाँ पुगेर रोकिन्छु ? मेरो यात्राले गन्तव्य भेट्ला या नभेट्ला म केही जान्दिनँ । म जान्दछु त मात्र यति ‘लेख्ने मान्छेको एउटै कमजोरी हुन्छ, शब्दहरुमा नै आफूलाई पाउने र शब्दहरुमा नै आफूलाई भुलिदिने ।’

मलाई शब्दहरुसँग कुनै गुनासो छैन नत छ तिम्रो जस्तो सजावट नै ।

ऊ अजनवी नै हो चाहे जीवनको अन्तिम श्वाससम्म पनि अज्नवी नै किन नहोस् । तर खोजी कहिल्यै रित्तिने छैन ।
तिमीसँग मेरो कुनै परिचय छैन । नत तिमीबाट मेरो परिचय सुरु हुन्छ, नत मबाट नै । म अपरिचित नै बन्न चाहन्छु र चाहन्छु भुल्न तिम्रो शब्द पछाडि कुरुप व्यवहारलाई ।

तिमी दोषी होउ, जसले म भित्र दबिएर रहेको प्रेमलाई उत्सर्गमा समाहित त गरिदियो तर मबाट मलाई नै गुमाइदियौं र भुलिदियौ मलाई ।
कुन प्रेमी होला, जसले अदालतमा अपराधीलाई कठ्घरामा उभ्याएर सजाए सुनाए जस्तै पटक–पटक प्रेमका नाममा सजाएको भागिदार घोषित गर्छ ।
मोबाइल हेरेँ, तिम्रो नामबाट फोन आएछ । त्यो नै अन्तिम फोन थियो तिम्रो नम्बरबाट । तिमीले माफी माग्नै पर्छ, गल्ती जसको भएपनि ।
हैन भने…?
यहाँ भन्दा बढी केही सुन्नु थिएन मलाई । यो सुन्नु भन्दा अगाडि त तिम्रो गल्ती हो जस्तो लाग्थ्यो तर सुनीसकेपछि थाहा भयो गल्ती मेरो हो किनकी मैले तिमीलाई विश्वास गरें ।
अब अन्तिम पल्ट मैले जवाफ दिनुनै थियोे र दिएँ पनि ः
‘आज स्पष्ट थाहा भयो तिमी न त माफी माग्न नै लायक छौं, न त गल्ती गरिरहन नै । तिम्रो सजाय नै यही हो कि आफ्नो गल्ती आफै नचिन्नु ।’

यहाँ धेरै मान्छेहरु जिन्दगी जीउन मजाक गर्छन त केही जिन्दगीलाई मजाक बनाउन जीउँछन् । जे गर्छन ठीकै गर्छन, आ–आफ्नै भागीदार छन् । केही गल्तीहरु यस्ता हुन्छन् जसको कुनै अर्थ नै हुँदैन । प्रेम पनि एक गल्ती नै त हो, जे काल्पनिक हो त्यही सत्य मानिन्छ । जे सत्य हो त्यही काल्पनिक मान्छि । एक याद, जसले कुनै बेला हसाउँछ त कुनै बेला बेस्सरी रुवाउँछ । त्यही याद जो नजिकै आएर फेरि नजिैबाट हराएको छ ।

प्रकाशित मितिः   २७ कार्तिक २०७३, शनिबार १५:४४