निजी विद्यालयमा छोराछोरी पढाउने शिक्षकलाई कारबाही

दैलेखको गुराँस गाउँपालिकाले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले निजी विद्यालयमा आफ्ना छोराछोरी पढाएको भन्दै कारबाही गरेको छ । गाउँपालिकाका तीन जना शिक्षकलाई गाउँपालिकाले कारबाही गरेको हो ।

गुराँस गाउँपालिका–५ को कृष्ण माध्यमिक विद्यालय सानाकाँडाका तीन शिक्षकलाई जनही १० हजार रूपैयाँ जरिवानासहित कारबाही गरिएको छ । गाउँ कार्यपालिकाको २०७५ चैत्र २५ गते गरिएको निर्णय अनुसार गाउँपालिकाका सबै सामुदायिक विद्यालयका शिक्षकहरूले निजी विद्यालयमा छोराछोरी पढाउन नपाउने गरी निर्णय गरेको थियो ।

सोही निर्णय बमोजिम ती शिक्षकहरूलाई कारबाही स्वरूप रकम दाखिलाको लागि पत्र पठाइएको स्रोत शिक्षक थिरेन्द्रकुमार बिसीले जानकारी दिए । उनका अनुसार शिक्षक पदमबहादुर नेपाली, शिक्षिका रोशनी मल्ल र कमलाकुमारी चन्दलाई गाउँपालिकाको आन्तरिक राजस्व खातामा रकम दाखिला गर्न पत्र पठाएको हो ।

गत असार ३१ गते गाउँपालिकाको शिक्षा शाखाले उक्त विद्यालयलाई रकम दाखिला गर्न पत्र काटेपछि विद्यालयका प्रधानाध्यापक सुरेन्द्रकुमार चन्दले यही भदौ ८ गते शिक्षकहरूको नाममा पत्र काटेको जनाए । उक्त पालिकाका जनप्रतिनिधिले समेत छोरोछोरी निजी विद्यालयमा नपढाउने कार्यपालिकाले निर्णय गरेको छ ।

प्रकाशित मितिः   १० भाद्र २०७७, बुधबार ०६:०३