दुई हजार बढीले जिते कोरोना
कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएका दुई हजार बढी संक्रमणमुक्त भएका छन् । मंगलवार मात्र १५ जना संक्रमणमुक्त भएका हुन् । प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या दुई हजार सात पुगेको छ ।
त्यस्तै प्रदेशमा मंगलवार थप १८ जनामा संक्रमण पुष्टि भएको छ । कर्णालीका पाँच र अन्य प्रदेशका दुई जिल्लाका गरी १८ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये सुर्खेतका पाँच, दैलेखका चार, सल्यानका दुई, कालीकोटका चार र जुम्लाका एक जना छन् । अन्य प्रदेशका दुई जनामा संक्रमण पुष्टि भएको छ । कञ्चनपुरका एक र धुनषाका एक जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या तीन हजार तीन सय १३ पुगेको छ र प्रदेशभर कोरोनाका सक्रिय संक्रमित दुई सय ९३ रहेको प्रदेश स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । कर्णालीमा कोरोनाबाट ६ जनाको मृत्यु भइसकेको छ ।
एक सय ६४ जनाको मृत्यु
कोरोना संक्रमणबाट मंगलवार थप सात जनाको मृत्यु भएको छ । एक महिला र ६ पुरुषसहित सात जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो । मृत्यु हुनेमा काठमाडौंका तीन रहेका छन् । काठमाडौंका ७४ र ६६ वर्षीय पुरुष र ७१ वर्षीया महिला हुन् ।
त्यसैगरी सिरहाका २२ वर्षीय पुरुष, पर्साका ६८ र ७६ वर्षीय पुरुष र रूपन्देहीका ५३ वर्षीय पुरुष पनि मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय ६४ पुगेको छ ।
प्रकाशित मितिः १० भाद्र २०७७, बुधबार ०६:०२
साझा बिसौनी ।