प्रदेश भित्रिने नाकामा आठ संक्रमित पुष्टि
कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखम उच्च रहेका बेला प्रदेश भित्रिनेहरूमा पनि संक्रमण पुष्टि हुने गरेको छ । प्रदेशको बबई नाकामा गरिएको परीक्षणमा आठ जनामा संक्रमण पुष्टि भएको छ । सोमवार संक्रमण पुष्टि भएका उनीहरू अत्यावश्यक सामग्री ओसार्ने हेभी सवारी साधनका चालक हुन् ।
कर्णाली तथा अन्य प्रदेशका गरी सात जिल्लाका आठ जना चालकमा कोरोना देखिएको हो । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेका अनुसार चितवनको भरतपुर महानगरपालिका र राप्ती नगरपालिकाका दुई जना पुरुष, कञ्चनपुर बेलडाँडी गाउँपालिकाका दुई जना पुरुष, वनगाड कुपिण्डे नगरपालिका, लम्कीचुहा नगरपालिका कैलाली, हरिवन नगरपालिका सर्लाही र बुटवल उपमहानगरपालिका रूपन्देहीका एक÷एक जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।
गत भदौ १ गते यता प्रदेश नं. ५ र कर्णाली प्रदेशको सीमा नाका बबईमा कर्णाली भित्रिनेहरूको आरटी–पीसीआर परीक्षण गर्न थालिएको छ । यो अवधिमा साढे ६ सय जनामा गरिएको परीक्षणमा दश जनामा भाइरस पुष्टि भएको जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ । यसअघि उक्त नाकामा दुई जनामा कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि हुनेहरूमा सबै फलफूल, सरिया–सिमेन्ट लगायतका सामान ढुवानी गर्ने सवारी साधनका चालकहरू हुन् । हालसम्म कर्णालीमा गरिएको परीक्षणमा अन्य प्रदेशका संक्रमितको संख्या ९६ छ ।
सोमवार कर्णालीमा थप ५१ जना संक्रमित भेटिएका छन् । प्रदेश अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ११ जना, चौरजहारी नगरपालिका पीसीआर परीक्षण प्रयोगशाला रुकुम–पश्चिममा ३७ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा तीन जनामा कोरोना पुष्टि भएको हो । योसँगै प्रदेश स्वास्थ्य सेवा महाशाखाको पछिल्लो तथ्याङ्क अनुसार हालसम्म कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या दुई हजार दुई सय ९५ रहेको छ । संक्रमणमुक्त हुनेको संख्या एक हजार नौ सय ९२ पुगेको छ । प्रदेशभर कोरोनाका दुई सय ९७ सक्रिय संक्रमित छन् । अहिलेसम्म ६ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।
प्रकाशित मितिः ९ भाद्र २०७७, मंगलवार ०६:०३
साझा बिसौनी ।