कर्णालीका ६७ स्थानीय तहमा कोरोना
कर्णाली प्रदेशका ६७ स्थानीय तहमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएको छ । प्रदेशका दश वटा जिल्लाका ७९ स्थानीय तहमध्ये ६७ वटा स्थानीय तहमा भाइरसको संक्रमण पुगेको हो । कर्णालीमा कोरोना संक्रमण नपुगेका पालिका १२ वटा मात्र छन् ।
प्रदेश स्वास्थ्य सेवा महाशाखाको पछिल्लो तथ्याङ्क अनुसार हालसम्म कर्णालीमा दुई हजार दुई सय ८१ जनामा संक्रमित देखिएको छ । जसमध्ये सबैभन्दा बढी संक्रमित देखिएको स्थानीय तह दैलेखको नारायण नगरपालिका हो । जहाँ तीन सय चार जनामा संक्रमण देखिएको छ । संक्रमण धेरै पुष्टि हुने दोस्रो स्थानीय तहमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका छ । यहाँ दुई सय दुई जना कोरोनाका संक्रमित पुगेका छन् ।
प्रदेशमा जेठ ५ गते पहिलो पटक पुष्टि भएको संक्रमण तीन महिनाको अवधिमा १० वटै जिल्लाका अधिकांश पालिकामा पुगेको हो । सुरुमा भारतबाट फर्किएर क्वारेन्टाइन बसेका व्यक्तिहरूमा मात्रै देखिएको संक्रमण विस्तारै समुदायमा पुगेर व्यापक रूप लिएको हो । हाल प्रदेशमा औषतमा दैनिक झण्डै ३० जनाको हाराहारीमा नयाँ संक्रमित भेटिने गरेका छन् ।
संक्रमणले भयावह अवस्था आउन थालेपछि पछिल्लो समय कतिपय जिल्ला तथा पालिकाहरूमा निषेधाज्ञा जारी गरिएको छ भने बजार तथा सीमा नाकाहरूमा कडाइ थालिएको छ । प्रदेशका चार जिल्ला सुर्खेत, जुम्ला, दैलेख र रुकुम–पश्चिमबाट कोरोना परीक्षण हुँदै आएको छ । संक्रमण समुदायस्तरमा छयापछ्याप्ती देखिन थालेपछि जनस्वास्थ्य विज्ञ तथा चिकित्सकहरूले खतराको संकेत देखिएको बताएका छन् । यही दरमा नयाँ संक्रमित थपिँदै जाने र रोकथाम तथा नियन्त्रणका लागि ठोस योजना नबनाए कर्णालीमा भयावह स्थिति आउने उनीहरूले औंल्याएका छन् ।
आइतवारसम्म दैलेखमा एक हजार तीन, सुर्खेतमा ६ सय ११, सल्यानमा दुई सय ६०, जुम्लामा एक सय १५ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, कालीकोटमा ७९, जाजरकोटमा ३३, रुकुम–पश्चिममा ३९, मुगुमा १०, डोल्पा र हुम्लामा पाँच÷पाँच जनामा संक्रमण देखिएको हो । कर्णालीमै पुष्टि भएका अन्य प्रदेशका ८४ जनामा पनि संक्रमण भएको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । संक्रमितमध्ये प्रदेशभर हालसम्म एक हजार नौ सय ८३ जना संक्रमणमुक्त भएको स्वास्थ्य महाशाखाको दावी छ । महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले आइतवारसम्म दुई सय ६५ जना मात्रै कोरोनाका सक्रिय संक्रमित रहेको बताए । अहिलेसम्म भेटिएका संक्रमितमध्ये एक हजार नौ सय १९ पुरुष हुन् भने तीन सय २५ जना महिलामा संक्रमण देखिएको हो ।
संक्रमणको दर अंकगणितीय रूपमा बढेपनि रोकथाम तथा नियन्त्रणका लागि भने प्रदेश तथा स्थानीय सरकारहरूले ठोस कार्ययोजना बनाएको पाइँदैन । स्वास्थ्य पूर्वाधार, जनशक्ति, परीक्षणको दायरा, सचेतना तथा सीमा नाकाहरूमा कडाइ र भिडभाड व्यवस्थापनमा सरकारको ध्यान नपुगेको सरोकारवाला निकायले बताउने गरेका छन् ।
१२ पालिकामा छैन संक्रमण
कर्णाली प्रदेशका नौ जिल्लाका १२ स्थानीय तहमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छैन । उच्च जोखिममा हुँदाहुँदै यी पालिका हालसम्म संक्रमणबाट जोगिएका हुन् । डोल्पाका सात तहमध्ये शे–फोक्सुण्डो गाउँपालिका, काइके गाउँपालिका, छार्का ताङसोङ गाउँपालिका र डोल्पोबुद्ध गाउँपालिकामा संक्रमण देखिएको छैन ।
जाजरकोटका सात तहमध्ये नलगाड नगरपालिका र जुनीचाँदे गाउँपालिका, जुम्लाका आठ तहमध्ये तातोपानी गाउँपालिका, मुगुका चार तहमध्ये सोरु गाउँपालिका र मुगुम कार्मारोङ गाउँपालिका, हुम्लाका सात तहमध्ये सिमकोट गाउँपालिका, खार्पुनाथ गाउँपालिका र सर्केगाड गाउँपालिकामा कोरोना भाइरसको संक्रमण पुष्टि नभएको प्रदेश स्वास्थ्य सेवा महाशाखाको तथ्याङ्क छ । महाशाखाका अनुसार परीक्षण र उपचार जहाँ भए पनि ठेगाना स्थायी हुनेभएकोले यसैलाई आधार मानेर तथ्याङ्क राखिएको छ । हाल डोल्पा र हुम्ला जिल्ला भने संक्रमणमुक्त छन् । यहाँ कोरोनाका नयाँ संक्रमित भेटिएका छैनन् ।
प्रकाशित मितिः ७ भाद्र २०७७, आईतवार २३:०३
साझा बिसौनी ।