खेलाँची नगर
कोरोना कहर कायमै छ । विश्व स्वास्थ्य संगठनले अझै दुई वर्ष महामारी निर्मूल नहुने बताइसकेको छ । यसरी हेर्दा यो कहरले सजिलै उन्मुक्ति पाउन सक्ने अवस्था छैन । अर्थात् अझै केही वर्ष झेल्नुपर्ने छ । जुन सजिलो छैन । यस्तो असजिलो अवस्थामा हेलचक्य्राइँ र खेलाँची गर्नु भूल हो । त्यस्तो भूल जसले अहिलेको भन्दा ठूलो जोखिम निम्त्याउन सक्छ ।
कर्णाली प्रदेशमा कोरोना संक्रमण भेटिएको दुई महिना बित्यो । गत जेठ ५ गते दैलेखको आठबीस नगरपालिकाका–३५ वर्षीय युवामा कोरोना संक्रमण (कोभिड–१९) पुष्टि भएको थियो । भारतबाट आएका ती युवामा कोरोनाको संक्रमण पुष्टि हुनुभन्दा पहिले कर्णाली ‘ग्रिन जोन’मा थियो । अर्थात् प्रदेश त्यतिञ्जेल संक्रमणबाट सुरक्षित थियो । संक्रमण देखिएको थिएन । भारतबाट फर्किएर क्वारेन्टाइन बसिरहेका उनी नै कोरोनाको पहिलो संक्रमित थिए । उनलाई संक्रमण पुष्टि हुँदा प्रदेशभर चार सय २० आइसोलेसन र २२ वटा आईसीयू तयारी अवस्थामा राखिएको थियो । प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा आरटी–पीसीआर मेसिन जडान गरिएको थियो । यी दुई ठाउँबाट कोरोनाको परीक्षण गरिन्थ्यो । अन्य प्रदेशमा तीव्र गतिमा फैलिएको कोरोना कर्णालीमा खासै नदेखिएपछि सरोकारवालाले खेलाँची गरे । भारतबाट भित्रिने सबैलाई अनिवार्य पीसीआर जाँच गर्नुपर्ने भनिए पनि गरिएन । समुदायमा उचित सतर्कता अपनाइएन । त्यही खेलाँचीको परिणाम पछिल्लो समय देखिन थालेको छ ।
कोरोना संक्रमण हाल समुदायस्तरमा फैलिसकेको छ । संक्रमितको दर दिन प्रतिदिन बढ्दो छ । तर, रोकथामका लागि प्रदेश सरकारको तयारी भने उहीँ जेठ पहिलो साताकै अवस्थामा छ । स्वास्थ्य पूर्वाधार र जनशक्तिमा खासै ध्यान पुगेको देखिँदैन । कर्णालीमा पहिलो संक्रमित भेटिएको ठीक तीन महिनामा संक्रमितको संख्या दुई हजार दुई सय ४० पुगेको छ । संक्रमणको दर पहिले भन्दा तीव्र गतिमा बढेको छ । संक्रमण समुदायमा पुगेको भयावह बन्ने संकेत देखिएको छ । तर प्रदेशभरका बिरामीलाई उपचारका लागि जम्मा ४० वटा आईसीयू कक्ष छन् भने १७ वटा भेन्टिलेटर छन् । त्यहाँ सबैखाले रोगका सिकिस्त बिरामीलाई राख्नुपर्ने हुन्छ । कोरोनाका संक्रमितलाई आईसीयू र भेन्टिलेटरमा उपचार गर्नुपर्ने अवस्था आए समस्या देखिने निश्चित छ । प्रदेशभर एक हजार चार सय २८ वटा आइसोलेसन छन् । ती पनि नाम मात्रमा । आइसोलेसनमा हुनुपर्ने सामान्य मापदण्ड समेत पूरा गरिएको छैन । अधिकांश ठाउँमा क्वारेन्टाइनलाई नै आइसोलेसनमा रूपान्तरण गरिएको छ । संक्रमणको दर हेर्ने हो भने थुप्रै आइसोलेसन बेड, आईसीयू कक्ष र भेन्टिलेटरको आवश्यकता पर्ने देखिन्छ । सरकारले भने स्वास्थ्य संरचना र जनशक्ति व्यवस्थापनमा जस्तो पर्ला त्यस्तै टर्ला कै शैलीमा काम गरिरहेको छ । सरकारका पछिल्ला गतिविधि र काम गराइको गति हेर्दा कोरोना रोकथाम तथा नियन्त्रणमा सुस्त देखिन्छ । यही खेलाँचीले अर्को संकट ननिम्तिएला भन्न सकिदैन ।
प्रकाशित मितिः ८ भाद्र २०७७, सोमबार ०६:००
साझा बिसौनी ।