८५ प्रतिशत पुुरुषमा कोरोना

कर्णाली प्रदेशमा हालसम्म पुष्टि भएका संक्रमितमध्ये ८५ प्रतिशत पुुरुष छन् । दैनिक थपिने संक्रमितको तथ्याङ्क हेर्दा महिलाको संख्या न्यून छ । संक्रमित पुरुषमध्ये पनि युवा समूहका बढी छन् । कर्णालीमा कोरोना संक्रमितको संख्या दुई हजार दुई सय ४० पुगेको छ । त्यसमध्ये एक हजार नौ सय १६ अर्थात् ८५ दशमलब ५३ प्रतिशत पुुरुषमा संक्रमण देखिएको छ । तीन सय २४ महिलालाई मात्र कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या कुल संक्रमितको १४ दशमलब ४६ प्रतिशत हो ।

भारत तथा अन्य मुलुकबाट फर्कने पुरुष नै बढी भएकाले संक्रमित पुरुषको संख्या पनि बढी रहेको चिकित्सक तथा जनस्वास्थ्य विज्ञहरूले जनाएका छन् । प्रदेश अस्पतालका विशेषज्ञ डा. केएन पौडेलले भारत तथा अन्य तेस्रो मुलुकमा रोजगारीका लागि गएका पुरुषहरू बढी फर्किएकाले उनीहरूमा नै संक्रमण बढी देखिएको पाइएको बताए । समुदायस्तरमा पनि पुुरुषहरू नै विभिन्न कामको शिलशिलामा बढी मानिसहरूको सम्पर्कमा जाने र घुलमिल बढी गर्ने भएकाले संक्रमण बढी देखिएको उनको भनाइ छ । ‘रोगले महिलालाई संक्रमण नगर्ने पुुरुषलाई गर्ने भन्ने हुँदैन । ९५ प्रतिशत पुुरुष भारतबाट आए । किनमेलदेखि विभिन्न काममा पुुरुषहरू नै घुलमिल हुँदा संक्रमण बढी देखिएको हो,’ उनले भने । जोसुुकैलाई पनि संक्रमणको जोखिम उत्तिकै हुने हुँदा सचेत र सावधानी अपनाउनुुपर्ने उनले सुझाए ।

१५ जना संक्रमित थपिए

कर्णाली प्रदेशमा शनिवार थप १५ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार शनिवार सुुर्खेत, रुकुुम–पश्चिम, दैलेख र जुम्लामा गरी १५ जनामा कोरोना संक्रमण देखिएको हो ।

प्रदेश अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सुर्खेतका चार जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भएको परीक्षणमा जुम्लाका तीन जना, दैलेख अस्पतालमा गरिएको परीक्षणमा दैलेखका दुुई जना र चौरजहारी नगरपालिकाको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा रुकुम–पश्चिमका ६ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो तथ्याङ्क अनुसार प्रदेशमा दुुई हजार दुुई सय १६ जनामा कोरोना संक्रमण देखिएको छ । त्यसमध्ये एक हजार नौ सय ६९ जना संक्रमणमुक्त भइसकेका छन् । शनिवार मात्रै २४ जना संक्रमित डिस्चार्ज भएका हुन् । पछिल्लो समय कर्णालीमा समुदायस्तरमै कोरोना संक्रमण देखिन थालेको छ । समुदायमा कोरोनाको जोखिम बढ्न थालेपछि कतिपय जिल्ला तथा स्थानीय तहहरूमा निषेधाज्ञा गर्नुुका साथै कडाइ गर्न थालिएको छ । प्रदेशमा ६ जनाको कोरोना संक्रमणको कारण मृत्युु भएको छ ।

प्रकाशित मितिः   ७ भाद्र २०७७, आईतवार ०६:०४