अपरिहार्य यौनिक शिक्षा

त्रिभुवन बि.सी.

यौन शिक्षा समग्र रूपमा मानवसँग जोडिएको विषय हो । यौन तथा यौनिकताको सम्बन्ध मानिसको शारीरिक, भावनात्मक, साँस्कृतिक, सामाजिक र व्यवहारिक पक्षसँग जोडिएको हुन्छ । बृहत्तर यौनिकता शिक्षाका बारेमा जानकारी लिनका लागि यौन तथा यौनिकताका बारेमा जानकारी हुनु आवश्यक छ । मानवले यौन व्यवहारसँग राख्ने सम्बन्ध नै यौन शिक्षा हो । यौन शब्दले जैविक गुणहरूलाई जनाउँछ, जसले हामीलाई पुरुष र महिला भनी छुट्याउन मद्दत गर्दछ । यौन शब्द यौनसम्पर्क तथा सम्भोग लगायतका विभिन्न यौन गतिविधिहरूका लागि पनि प्रयोग गरिन्छ । अर्थात् यौनको आधारभूत अर्थ महिला तथा पुरुष भनी छुट्याउनु हो ।
यौनिकता भनेको यौन र यौन व्यवहारसँग सम्बन्धित हाम्रा विचार, मूल्य, मान्यता, भावना र व्यवहारहरू हुन् । यौनिकतामा खासगरी यौन सम्बन्धहरूका बारेमा हाम्रा विचारहरू, यौनसम्बन्धी हाम्रा मूल्यमान्यता तथा धारणाहरू, यौनका सम्बन्धमा हाम्रा दृष्टिकोणहरू र त्यसलाई कसरी नियन्त्रण गर्ने भन्ने कुराहरू पर्दछन् । त्यसैले पनि यौनिकताका बारेमा हामी सबै जानकार हुनु आवश्यक छ । यौनिकताका बारेमा खासगरी किशोरकिशोरीलाई मात्र नभएर यौनका बारेमा जानकारी राख्ने जुनसुकै उमेर समूहका व्यक्तिहरूमा ज्ञान हुनुपर्दछ । यसले हाम्रा दृष्टिकोणहरूका साथै धारणाहरूलाई हाम्रा मूल्य मान्यतासँग व्यवहारिक तरिकाले सम्प्रेषण गर्ने काम गर्दछ ।

कुनै पनि मानिसलाई स्वस्थ भएर जीवनयापन गर्नका लागि यौन र यौनिकता सम्बन्धीको शिक्षा हुनु आवश्यक छ । मानिसको सर्वाङ्गिण विकासका लागि मानिसको वृद्धि विकाससँगै यौन र यौनिकताका बारेमा जानरकार हुनु अनिवार्य छ । यौन र यौनिकताकाबारेमा कुरा गर्नु कुनै नौलो कुरा होइन यो एउटा प्राकृतिक प्रक्रिया हो । कुनै पनि व्यक्ति जब बालकबाट किशोरकिशोरी अवस्थातर्फ अघि बढ्छ तब उसलाई यौन शिक्षाको आवश्यकता पर्दछ । व्यक्तिको शारीरिक बनावटमा आउने परिवर्तनका बारेमा जानकारी लिनका लागि उसलाई यौन शिक्षा हुनु आवश्यक छ । तर यसका बारेमा न त औपचारिक शिक्षामा सम्पूर्ण ज्ञान लिन पाइन्छ न त अनौपचारिक रूपमा नै जानकारी लिने सुविधा छ । औपचारिक रूपमा जति ज्ञान लिन पाइन्छ त्यो पनि साघुँरो घेरामा सीमित रहेर अल्पज्ञान लिनुपर्ने बाध्यता रहि आएको छ । यौन शिक्षाका बारेमा न त शिक्षक शिक्षिकाले खुलेर पढाउने गर्छन् न त विद्यार्थीले नै खुलेर सिक्ने गर्छन् । यौनको कुरा आउने बित्तिकै लुकिचोरी सिक्नु र खोजी खोजी अध्ययन गर्नु हाम्रो समाजले दिएको संकिर्ण सोचको उपज हो । यौन शिक्षाका बारेमा समाज खुल्न नसकेकै कारण विद्यालयमा शिक्षक तथा विद्यार्थी पनि खुलेर सिक्न र सिकाउन सकिरहेका हुँदैनन् । हाम्रो जस्तो सामाजिक परम्परा भएको समाजमा धर्म र सामाजिक मूल्य मान्यताका कारण यौन शिक्षाका बारेमा चर्चा परिचर्चा हुन सकिरहेको छैन । फलस्वरूप यौनिकता शिक्षा अभिषापको रूपमा विष्फोटन भइरहेको हुन्छ ।

किशोर–किशोरीहरूलाई यौनिकताका बारेमा जानकारी दिँदै वयस्क अवस्थामा परिवर्तन गराउनु ठूलो चुनौति बनेको छ । घरमा होस् या विद्यालयमा यौनिकताका बारेमा खुलेर छलफल नहुँदा किशोरकिशोरीले आफ्नो जीवनमा आएको भौतिक परिवर्तनका बारेमा जान्न विभिन्न वैकल्पिक माध्यम प्रयोग गरिरहेका छन् । अहिले किशोर किशोरीहरू विभिन्न प्रकारका सञ्चारका माध्यमबाट यौनिक सामग्रीहरूसम्मको पहुँचलाई बढाइरहेका छन् । यस्ता सञ्चारमाध्यमहरूबाट आवश्यक पर्ने यौनिकता सम्बन्धी ज्ञान र सीपहरू लिन बाध्य छन् । यसरी ज्ञान र सीपहरू लिँदा चाहिने चिजको मात्र ज्ञान लिए त ठिकै हो तर यसको दुरूपयोग गरेर अनावश्यक यौनका सामग्रीमा पहँुच पु¥याएमा किशोरकिशोरी गलत बाटो तर्फ लम्कन पनि सक्ने सम्भावना रहेको छ । यसतर्फ हामी सबै सजग र सचेत बन्दै यौन र यौनिकताका बारेमा घरदेखि नै खुलेर कुरा गर्ने बानीको विकास गर्नु आवश्यक छ ।

हामीले धेरै पहिलेदेखि पढिरहेको पाठ्यक्रम अव्यवहारिक छ । जुन पाठ्यक्रम वर्षौसम्म अध्ययन गरे पनि व्यवहारिक रूपमा लागू हुन सकिरहेको छैन । यौन शिक्षा जस्तो व्यवहारिक र अति आवश्यक चिजलाई पाठ्यक्रम निर्माताहरूले अनिबार्य विषयका रूपमा राख्न नसक्दा अहिले यौन र यौनिकताको विषयले जटिलता प्रदान गरिरहेको छ । यस विषयमा अहिले सर्वत्र चासो र बहस चलिरहेको छ । निम्न माध्यमिक र माध्यमिक तहको पाठ्यक्रममा यौन र यौनिकताका बारेमा विस्तृत अध्ययन हुन नसक्दा किशोरकिशोरीहरूले अहिले यौन शिक्षाका लागि वैकल्पिक माध्यम प्रयोग गरिरहेका छन् । नीति निर्माताले नै यस विषयमा गहिरिएर नसोचिदिएपछि पढ्ने र पढाउनेलाई मात्र दोष दिएर केही हुँदैन । यो वर्तमान समयको निकै सोचनीय विषय हो । यसका बारेमा व्यापक छलफल र बहसमात्र होइन यौन र यौनिकता शिक्षाका बारेमा निम्न माध्यमिक र माध्यमिक तहमा अनिवार्य विषयका रूपमा अध्ययन अध्यापन हुनु जरुरी छ ।

विश्व स्वास्थ्य सङ्गठनले यौनिकता शिक्षासम्बन्धी वैज्ञानिकहरूका लेखका बारेमा समीक्षा गरेको थियो । उक्त समीक्षाअनुसार बृहत्तर यौनिकता शिक्षाले ढिलो यौनसम्पर्क राख्ने र अन्य गर्भनिरोधकको प्रयोग बढाउने कुरालाई प्रमाणित गरेको थियो । त्यस्तै यूएनएड्सले गरेको अध्ययनअनुसार बृहत्तर यौनिकता शिक्षाको कारण लागू औषध प्रयोगमा कमी र स्वास्थ्य सेवाको प्रेषण सङ्ख्या वृद्धि भएको देखाएको छ । यसका साथै बृहत्तर यौनिकता शिक्षाको कारण लैङ्गिक हिंसा, लाञ्छना र भेदभाव न्यूनीकरण जस्ता गतिविधि भएको पाइएको छ । त्यसैले पनि यौनिकता शिक्षालाई व्यापक तरिकाले औपचारिक रूपमा नै लागू गर्नुपर्ने देखिन्छ । विश्वका विभिन्न देशहरूले यौनिकता शिक्षासम्बन्धी कार्यक्रमलाई कडाइका साथ लागू गरिसकेका छन् । खासगरी बालविवाह भएका किशोरीहरू, यौनिक कार्यमा सक्रिय भइसकेका किशोरकिशोरीहरू र अपाङ्गहरूका लागि यौनिकता शिक्षाको आवश्यकता भएको पुष्टि गरेका छन् । यही कुरालाई मध्यनजर गरेर भए पनि हाम्रो जस्तो विकासोन्मुख देशमा पनि यौनिकता शिक्षालाई औपचारिक र अनौपचारिक दुवै माध्यमबाट सिक्ने र सिकाउने दुवै कार्य हुनु जरुरी देखिन्छ ।

यौनिकता शिक्षासम्बन्धी ज्ञानको अभावका कारण देखापरेका समस्यालाई समाधान गर्नका लागि यौन तथा प्रजनन अधिकारवादी, महिला र लैङ्गिक अधिकारवादी, स्वास्थ्य अधिकारवादी सङ्घ–संस्थाहरूले यस्ता समस्यालाई समाधान गर्न व्यावहारिक यौनिकता शिक्षालाई बहसका रूपमा अगाडि सारेको पाइन्छ । उनीहरूले यौनिकता शिक्षालाई समग्रतामा आधारित अर्थात् बृहत्तर रूपमा दिइनुपर्छ भनी बृहत्तर यौनिकता शिक्षाको अवधारणालाई अगाडि सारेका छन् । नेपालमा पनि संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषको सहयोगमा बृहत्तर यौनिकता शिक्षासँग सम्बन्धित पाठ्यक्रम, स्रोत सामग्री, शिक्षक तालिम सामग्री, आदिको सुरुवात भएको पाइन्छ । यौनिकता शिक्षा पढाउने शिक्षकहरूको क्षमता अभिवृद्धि गराउनका लागि संसारका विभिन्न देशहरूमा लागू गरिएको यौनिकता शिक्षाको सकारात्मक परिणामहरूका आधारमा नेपालमा पनि लागू गरिएको हो । यसका लागि युएनएड्स, युएनएफपिए, यूनिसेफ र विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा युनेस्कोले विकास गरेको यौनिकता शिक्षासम्बन्धी अन्तर्राष्ट्रिय निर्देशिकाले निर्देशित गरेअनुसारका विषयवस्तुहरू र नेपालमा गरिएको पुनरावलोकन समेतका आधारमा समावेश गरिएका विषयवस्तुहरूलाई समेटेर बृहत्तर यौनिकता शिक्षासम्बन्धी सन्दर्भ सामग्री विकास गरिएको हो । बृहत्तर यौनिकता शिक्षा भन्नाले उमेरअनुसारको, मानवअधिकारमा आधारित र लैङ्गिक सम्वेदनशील जानकारीहरू सामाजिक तथा सांस्कृतिक रूपमा सान्दर्भिक विधिबाट दिइने शिक्षा भन्ने बुझिन्छ । बृहत्तर यौनिकता शिक्षाले व्यक्तिलाई यौनिकताका विभिन्न पक्षहरूमा आफ्ना मूल्यमान्यताहरू पत्ता लगाएर निर्णय गर्ने, सञ्चार गर्ने र जोखिम घटाउने सिपहरू विकास गर्ने अवसरहरू प्रदान गर्दछ ।

हाम्रो समाजमा अभिभावकहरू सामाजिक तथा सांस्कृतिक मूल्यमान्यता तथा अज्ञानताका कारणले आफ्ना किशोरकिशोरी छोराछोरीहरूसँग यौनिकतासँग सम्बन्धित विषयहरूमा छलफल गर्न अप्ठ्यारो मान्दछन् । एउटा व्यक्तिको यौनिक विकास भनेको शारीरिक, भावनात्मक तथा मनोवैज्ञानिक, सामाजिक र साँस्कृतिक प्रक्रिया हो । यो व्यक्तिको परिचयको विकाससँग अलग्याउनै नसकिने गरी जोडिएको हुन्छ । किशोरकिशोरीहरूले अभिभावक, साथी दौँतरीहरू, शिक्षक, समुदाय तथा सञ्चारमाध्यमहरूबाट लैङ्गिकता र यौनिकतासम्बन्धी मूल्यमान्यताहरू सिक्दछन् । यी सबै स्रोतहरूबाट किशोरकिशोरीहरूले सिक्ने लैङ्गिक समानता र यौनिकतासम्बन्धी मूल्यमान्यताहरू धेरैजसो अवस्थामा आफ्नो सामाजिक तथा सांस्कृतिक अवस्थाअनुसार सही तथा मान्य हुन्छन् भने कहिलेकाहीँ गलत पनि हुने सम्भावना हुन्छ ।

किशोरकिशोरीको जीवनको आनन्द भनेको नै माया–प्रेमको भावना व्यक्त गर्ने र पारिवारिक जीवनको सुरुवात गर्ने अवस्था हो । यस बेलामा स्वास्थ्यसम्बन्धी नकारात्मक प्रभाव पर्ने तथा नकारात्मक सामाजिक अवस्था सिर्जना हुन पनि सक्दछ । उमेरअनुसारको प्रभावकारी यौनिकता शिक्षाको कमीले गर्दा हाम्रो समाजमा कतिपय यौनिक व्यवहारहरू सहमतिमा नहुने, जबरजस्ती हुने तथा बलात्कारसम्म हुने पनि गर्दछन् । यौनिकता शिक्षाले यौनिक स्वास्थ्यको बारेमा जानकारी प्राप्त गर्न, प्रचलित सामाजिक सांस्कृतिक मूल्यमान्यताहरूसँग सान्दर्भिक सिपको विकास गर्न र सकारात्मक धारणा अर्थात् मूल्य र मान्यताहरूको विकास गर्न सहयोग पु¥याउँछ । बृहत्तर यौनिकता शिक्षाले किशोरकिशोरीहरूलाई आफ्नो यौनिक जीवनलाई वर्तमान र भविष्यमा स्वस्थकर बनाउनका लागि समेत सहयोग पु¥याउँछ । संसारमा भएका विभिन्न अध्ययन अनुसन्धानले बृहत्तर यौनिकता शिक्षा पाएको व्यक्तिले स्वस्थ यौन तथा पारिवारिक जीवन व्यतित गर्न सक्नुका साथै आफूलाई प्राणघातक एवम् सङ्क्रामक रोगहरूबाट बचाउन र अनिच्छित गर्भधारण हुनबाट बचाउन सक्छन् भन्ने प्रमाणित गरेका छन् ।

यौनिकता शिक्षाको आवश्यकता जसले बलत्कार गर्छ उसलाई हुने गर्दछ । बलात्कृत हुनेले त आफू कसरी जोेगिने भन्ने नै हुने भएकाले उसलाई कठिन हुन्छ । प्रायः बलात्कृत हुने भनेको केही नजान्ने, नबुझ्ने अबोध बालबालिकाहरू हुन्छन् । यदि उमेर पुगेका बुझेका छन् भने त प्रतिकार गर्न सक्छन् । कानूनले बलात्कारलाई कहिल्यै कम गर्न सक्दैन । बलात्कारलाई कम गर्ने उपयुक्त उपाय भनेको नै बृहत्तर यौनिकता शिक्षा हो । शिक्षाले मानिसलाई चेतनशील बनाउँछ र यस्ता गलत कार्य गर्नबाट ऊ आफै सचेत रहन्छ । त्यसैले सकेसम्म कानूनसँगै यौनिकता शिक्षाको विषयमा ज्ञान नै दिनु ठूलो कुरा हो । मानिसहरू यौनिकता शिक्षाका बारेमा जति सचेत हुँदै गयो उति नै यौन सम्बन्धीका घटनाहरू कम हुँदै जाने गर्छन् ।

विदेशी मुलुकहरूमा भने सानैदेखि यौनशिक्षा दिने गरिन्छ । त्यो राम्रो कुरा पनि हो । नेपालमा भने यौनिकता शिक्षाको अभाव छ । नेपालमा हामीले यौन र यौनिकता शिक्षालाई सहजै स्वीकार गर्न नसक्नु नै शिक्षाको कमी हुनु हो । जसले गर्दा समाजमा यौनका विषयमा अप्रिय घटनाहरू दिनप्रतिदिन बढिरहेका हुन्छन् । यसलाई बुझेर भए पनि अहिलेको एक्काइसौं शताब्दीमा बृहत्तर यौनिक शिक्षाको बारेमा घरदेखि विद्यालयसम्म, औपचारिकदेखि अनौपचारिक तरिकाबाट समेत लागू गर्नु आजको अपरिहार्य आवश्यकता हो ।

[email protected]