‘नाइँ भन्न नसकेर साइन्स पढेँ’

पूजा बि.सी.

पूजा बि.सी. दैलेखको दुल्लू अस्पतालमा कार्यरत डाक्टर हुन् । उनी अस्पताल प्रमुखको जिम्मेवारीमा छिन् । अहिलेको कोरोना कहरकाबीच पनि निरन्तर सेवामा खटिएकी छिन् । बुबा देवकिरण बि.सी. र आमा ज्ञानुकुमारी थापाको सन्तानका रूपमा दैलेखको नारायण नगरपालिकाका जाहरकोटमा जन्मिएकी बि.सी.ले आफ्नो बाल्यकालको सम्झना हाम्रा सहकर्मी मुना हमालसँग यसरी साटिन् ः

म दैलेखमा जन्मिएँ, मामाको घरमा । तर सुर्खेतमा हुर्किएँ ।

सानो छँदाका यस्ता धेरै क्षणहरू छन् जो अहिले पनि सम्झनामा छन् । सम्झेर रमाइलो लाग्छ ।

मेरो एक जना दिदी हुनुहुन्थ्यो । अनि एक जना भाइ थियो । उनीहरू नै मेरा साथी थिए । मिलेर खेल्थ्यौं । रमाइलो गथ्र्यौं । कहिलेकाहीँ भाइ–बहिनीबीच झगडा पनि हुन्थ्यो ।

म सानोमा निकै कम बोल्ने स्वभावकी थिएँ । घरबाट टाढा कहिल्यै जाँदैनथेँ । ज्ञानी बन्नुपर्छ भन्ने लाग्थ्यो, म ज्ञानी थिएँ । कम बोल्ने भएरै होला धेरै साथी पनि थिएनन् । त्यसबेलामा मेरो दिदी र भाइ नै साथी भए । त्यसबाहेक घरनजिकै एकजना साथी थिइन् । उमेरले उनी मेरो दिदीसँगको हुन् । हामी मिल्थ्यौं । खेल्थ्यौं । उनको घरमा गएर खेलेको सम्झना आउँछ । उनीसँग धेरै खेलौना थिए । एउटा कोठामा खेलौना नै खेलौना भरिएका हुन्थे । हामी प्रायः त्यहीँ गएर खेल्थ्यौं ।

घर नजिकै स्कुल थियो । इलाइट बोर्डिङ्ग स्कुलमा पढ्थेँ । स्कुल नजिक भए पनि म जहिल्यै ढिला जान्थेँ । दिदी प्रायः छिट्टै स्कुल गइहाल्नुहुन्थ्यो । मलाई सानैदेखि ड्रोइङ्ग गर्न (चित्र बनाउन) मन पथ्र्यो । आर्टतर्फ धेरै रुचि थियो । विभिन्न डिजाइनका चित्र कोर्थें । भविष्यमा पनि डिजाइनिङ्ग सम्बन्धी पढ्ने सोच बनाएकी थिएँ ।

बुवा–आमाले भने मलाई डाक्टर बनाउने भनेर भन्नुहुन्थ्यो । मेरो पढाइ राम्रो भएकाले पनि पछि मैले प्लस–टूमा साइन्स पढें । त्यसपछि एमबीबीएस पढेँ । बुवा–आमाले पढ् भनेर भन्नुभयो । मैले नाइँ भनिनँ । एमबीबीएस पढ्न थालेपछि मात्रै अब म डाक्टर बन्ने भएँ भन्ने लागेको थियो ।

दिदीका साथीहरू धेरै हुन्थे । मलाई अचम्म लाग्थ्यो । मेरो साथीहरू नै छैनन् भन्ने लाग्थ्यो । कसरी आफ्नो मिल्ने साथीहरू गराउने भनेर सोच्थें । कक्षा सातदेखि उषा बालवाटिकामा पढ्न भएपछि भने साथी बनाएँ ।

संकटकाल बढ्दै गएपछि बोर्डिङ्ग स्कुल बन्द भएका थिए । २०५९ सालतिर फेरि बोर्डिङ्ग स्कुल खुलेपछि उषामा गएर पढ्न थालेकी हुँ, कक्षा सातदेखि । त्यहाँ पुगेपछि मिल्ने साथीहरू पनि पाएँ । पढाइ पनि अझ राम्रो बन्दै गयो । हरेक कुरामा राम्रो भयो ।

एसएलसीमा कक्षा नौ र १० को पढेर परीक्षा दिनुपथ्र्यो । कक्षा ९ को ६० र १० को ४० प्रतिशतले प्रश्न सोधिन्थ्यो । त्यसपछिको ब्याचले नौँ–दश पढेर परीक्षा दिनु परेन । हामी नै अन्तिम ब्याच हो ।

त्यतिबेलासम्म सुर्खेतमा कम्प्युटर विषय पढाइ हुन्थेन । हामी कक्षा दशमा पढ्दा सुरु भयो । कम्प्युटर पढ्ने हामी पहिलो ब्याच थियौं । फरक विषय भएकाले त्यसैमा धेरै समय दिनुपथ्र्यो ।

दिदी र भाइ पहिले नै काठमाडौँ गएर पढ्नुहुन्थ्यो । उहाँहरू छुट्टीमा घर आउँदा धेरै रमाइलो लाग्थ्यो । दिदी आउनु भएको दिन मैले के–के गरें भनेर रातिभरी सबै कुरा भन्थँे । आफूले गरेका कामको कुराभन्दा निकै रमाइलो लाग्थ्यो ।

म स्कुलका अतिरिक्त क्रियाकलापमा सहभागी हुन्थें । विशेष गरेर हाजिरीजवाफ र वक्तृत्वकला प्रतियोगितामा सहभागी हुन्थें । प्रायः स्कुलमा हुने यी कार्यक्रममा सहभागी भइरहन्थें ।

घरमा पनि रमाइलो गथ्र्यौं । बुवा–मम्मी घर नभएको बेला गीत बजाएर नाथ्यौं । कहिलेकाहीँ मामाको घर जान्थ्यौँ । दिदी (माया थापा) रेडियोमा काम गर्नुहुन्थ्यो । कहाँबाट आउनु भएको भन्दा म रेडियोबाट आएको भन्नुहुन्थ्यो । उहाँले रेडियो कार्यक्रममा अरुसँग कुरा गरेको सुन्थ्यौं । अनि हाम्रो पनि इन्टरभ्यू लगिदिनु न भनेर कर गथ्र्यौं । उहाँले पनि त्यतिकै हाम्रो इन्टरभ्यू लिएको जस्तै गरीदिनुहुन्थ्यो ।

मसँग धेरै मिल्ने साथी भवानी खनाल थिइन् । उनी र म प्रायः सँगै हुन्थ्यौं । त्यसबेलामा मोबाइल फोनभन्दा पनि ल्याण्डलाइन फोन चलाउने गरिन्थ्यो । प्रायका घरमा फोन हुन्थ्यो । स्कुलमा सँगै भए पनि हामी घरमा आएर साँझ धेरै बेरसम्म फोनमा कुरा गथ्यौंँ ।

मलाई बुवाको भन्दा मम्मीको डर धेरै लाग्थ्यो । उहाँ अलि कडा स्वभावको हुनुहुन्थ्यो । हामी केही गर्नुपरे बुवालाई भन्थ्यौँ । कहिले वनभोज खान जाँदा बुवासँगै पैसा मागेर जान्थ्यौँ । मम्मीले कहीँ जान दिनुहुन्न भनेर बुवालाई मात्र भनेर मम्मीदेखि लुकीलुकी पनि जान्थ्यौँ ।

चाडपर्वहरूमा रमाइलो हुन्थ्यो । प्रायः चाडपर्वहरू सुर्खेतमै मनाउँथ्यौं । हजुरआमाहरू कहिलेकाहीँ दैलेखबाट आउनुहुन्थ्यो । तिहारमा रमाइलो हुन्थ्यो । आमाको दाइभाइ र भदैहरू धेरै आउनुहुन्थ्यो । धेरै जनाको जमघट हुँदा रमाइलो लाग्थ्यो । अहिले त बाल्यकाल सम्झदा धेरै परिपक्क भइएछ भन्ने लाग्छ ।

२०६२ सालमा एसएलसी पास भएपछि म उच्च शिक्षा पढ्न काठमाडौं गएँ । प्लस टू सकेपछि एमबीबीएस पढ्न नेपालगन्ज आएँ । एमबीबीएस सकेपछि केही समयसम्म काठमाडौं पाटन अस्पतालमा काम गरेँ । स्थायी रूपमा नाम निस्केपछि केही समयसम्म कालिकोटमा सेवा गरें । अहिले दुल्लू अस्पतालमा छु ।

प्रकाशित मितिः   ६ भाद्र २०७७, शनिबार ०६:०६