कृषकलाई स्याउ टिप्ने चटारो

यतिबेला जुम्लाका कृषकलाई स्याउ टिप्न भ्याइ–नभ्याई छ । जुम्ली स्याउ भदौ दोस्रो सातापछि मात्र पूर्ण रूपमा पाकेर बजारमा लैजान योग्य हुने भएतापनि कृषक हतारिएका छन् ।

कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाका अनुसार दुई स्थानीय तहबाट झण्डै ६० देखि ७० टन स्याउ बजार पुगिसकेको छ । कृषि विकास कार्यालयले एक महिना अघि नै भदौ १० भन्दा अघि स्याउ नटिप्न आग्रह गरिसकेको थियो । यो पटक स्याउ उत्पादन निकै कम हुने सम्भावना छ । कृषि कार्यालयले गत वर्षको तुलनामा ५० प्रतिशत उत्पादन घट्ने अनुमान गरेको थियो । उत्पादन कम हुँदा स्याउको महत्व बढ्ने भन्दै स्याउ टिप्न हतारो नगर्न आग्रह गरिएको कृषि विकास कार्यालयका प्रमुख देवकोटाले बताए । कृषकले स्याउको महŒव बुझ्न नसक्दा गुणस्तरीयतामा प्रश्न उठ्ने विज्ञहरू बताउँछन् ।

जुम्लाको स्याउले सहजै बजार पाउने हँुदा कृषकले हतारो गर्न आवश्यक नहुने स्याउ सुपरजोन जुम्लाका प्रमुख नवराज भण्डारीले बताएका छन् । काँचो स्याउ बजारमा जाँदा जुम्लाको पहिचान गुम्ने खतरा भएको उनको भनाइ छ । उनका अनुसार जुम्ली स्याउ पूर्ण रूपमा पाक्न १२ प्रतिशत गुलियोपना हुनुपर्छ, ७० प्रतिशत कलर चढिसकेको हुनुपर्छ र ६५ देखि ५५ एमएम सम्मको दाना लाग्नुपर्छ । अनि मात्र बजारमा लैजानयोग्य मानिन्छ । यो पटक व्यापारीले नपाक्दै स्याउ सुर्खेत बजारमा लगेका छन् ।

वर्षेनी उत्पादन घट्दै जाँदा किसान निराश छन् । रोगकिराको व्यवस्थापन नहुँदा तथा असिना–पानी र कालो तुसारो परेर स्याउ उत्पादनमा गिरावट आएको कृषकहरूले बताएका छन् । यो पटक व्यापारीले प्रतिकेजी ५० रूपैयाँ मूल्यमा स्याउ किनेका छन् । पाकेको स्याउ गत वर्ष ७० रूपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको थियो ।

प्रकाशित मितिः   ५ भाद्र २०७७, शुक्रबार ०६:०४