वीरेन्द्रनगरमा ९ गतेसम्म निषेधाज्ञा
वीरेन्द्रनगरमा कोरोना संक्रमणको जोखिम बढेपछि भदौ ९ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । यसअघि भदौ १ गतेदेखि ५ गते राति १२ बजेसम्म जारी गरिएको निषेधाज्ञा चार दिन थप गरिएको हो ।
कोरोना संक्रमण फैलिने जोखिम बढेकाले निषेधाज्ञा लम्बाइएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए । बिहीवार बसेको जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले भदौ ९ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको छ ।प्रजिअ रेग्मीले कोरोनाको जोखिम बढ्दै गएको र समुदायमा संक्रमण फैलिने देखिएकाले वीरेन्द्रनगरमा निषेधाज्ञा जारी नै राख्नु परेको जनाए ।
‘अहिले निषेधाज्ञा हटाउँदा वीरेन्द्रनगरमा अझै समुदायस्तरमा संक्रमण फैलिने जोखिम रहेकाले स्थानीय व्यवसायी, स्वास्थ्यकर्मी, नगरपालिकाका प्रतिनिधिलगायतको सुझावका आधारमा यस्तो निर्णय गरिएको हो,’ उनले भने ।
पछिल्लो समय वीरेन्द्रनगरमा दैनिक कोरोना संक्रमिको संख्या बढ्दै गएको छ । तीजलगायतका चाडपर्वका कारण पनि भीडभाड हुने हुँदा प्रशासनले निषेधाज्ञालाई निरन्तरता दिएको हो । प्रशासनले निषेधाज्ञालाई कडाइका साथ कार्यान्वयन गर्न सहायक प्रमुुख जिल्ला अधिकारी भीमकान्त पौडेलको नेतृत्वमा अनुुगमन टोली बनाएको छ । उक्त टोलीले बिहान ६ बजेदेखि साँझसम्म अनुुगमन गर्दै आएको छ । प्रशासन कार्यालयले नागरिकहरूलाई सावधानी अपनाउन र भिडभाड नगर्नसमेत आग्रह गरेको छ ।
दैलेखमा चार दिन
दैलेखमा चार दिनका लागि निषेधाज्ञा जारी गरिएको छ । बिहीवार भदौ ४ गते दिउँसो २ बजेदेखि ७ गते राति १२ बजेसम्म जिल्लाभर निषेधाज्ञा जारी गरिएको हो । कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रण तथा रोकथामलाई थप प्रभावकारी बनाउन निषेधाज्ञा जारी गर्नु परेको दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले बताए ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र दैलेखको बिहीवार बसेको बैठकले जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । संक्रमण बढ्दै गएकाले निषेधाज्ञा जारी गर्नु परेको प्रशासनले जनाएको छ । चाडपर्व खासगरी तीज पर्वका बेला हुने भिडभाडका कारण कोरोना भाइरसको संक्रमण फैलिन नदिन निषेधाज्ञा जारी गरिएको हो ।
निषेधाज्ञा अवधिभर अत्यावश्यकबाहेकका सबै सेवाहरू बन्द रहने बताइएको छ । स्थानीय प्रशासनले कोरोना भाइरसको महामारीबाट थप सजग र सुरक्षित रहन आग्रह गर्दै अन्यत्रबाट दैलेख जिल्ला प्रवेशमा समेत रोक लगाइएको छ । योसँगै जिल्लाका विभिन्न स्थानीय पालिकामा गरी प्रशासनले चार पटकसम्म निषेधाज्ञा जारी गरिसकेको छ ।
दैलेख कर्णाली प्रदेशकै सबैभन्दा बढी कोरोनाका संक्रमित भएको जिल्ला हो । यहाँ बिहीवारसम्म संक्रमितको संख्या एक हजार पुगेको छ । तीमध्ये नौ सय ३८ जना संक्रमणमुक्त भएका छन् भने दैलेखमा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भइसकेको छ ।
प्रकाशित मितिः ५ भाद्र २०७७, शुक्रबार ०६:०५
साझा बिसौनी ।