एकैदिन ४३ जनामा कोरोना पुष्टि

समुदायमा भेटिए ६ जना संक्रमित

कर्णालीमा एकैदिन ४३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । गत असार २९ गते ४७ जनामा संक्रमण पुष्टि भएको थियो । बुधवार भेटिएका संक्रमितको संख्या त्यसयताकै सबैभन्दा बढी हो ।

बुधवार कर्णाली प्रदेशकै विभिन्न प्रयोगशालाहरूमा गरिएको परीक्षणमा कर्णालीका ४१, गण्डकी प्रदेशका एक र पाँच नं. प्रदेशका एक जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । जसमध्ये सुर्खेतका १० जना, दैलेखका चार जना, सल्यानका १७ जना, जुम्लाका नौ जना, डोल्पाका एक जना तथा कास्की र बाँकेका एक÷एक गरी ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रदेश स्वास्थ्य सेवा महाशाखा  प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार प्रदेश अस्पतालको प्रयोशालामा गरिएको आरटी–पीसीआर परीक्षणमा ३० जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १० जना र दैलेख जिल्ला अस्पतालमा भएको परीक्षणमा तीन जनामा संक्रमण पुष्टि भएको हो । बुधवार भेटिएका नयाँ संक्रमितमध्ये वीरेन्द्रनगर नगरपालिकामा चार जना र चौकुने गाउँपालिकाका दुई जना समुदायस्तरका छन् । अरू संक्रमित क्वारेन्टाइनमा रहेका व्यक्तिहरू हुन् ।

योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या दुई हजार एक सय ३० पुगेको छ । प्रदेशभर गत चौबिस घण्टामा कुनै पनि संक्रमित निको भएका छैनन् भने हालसम्म संक्रमणमुक्त हुनेको संख्या भने एक हजार नौ सय ३२ रहेको डा. तिवारीले जनाए । पछिल्लो तथ्याङ्क अनुसार कर्णालीमा कोरोनाका सक्रिय संक्रमित एक सय ९२ जना छन् ।

प्रकाशित मितिः   ४ भाद्र २०७७, बिहीबार ०६:०४