आज सार्वजनिक बिदा

कर्णाली प्रदेश सरकारले आज (बिहीवार) प्रदेशभर सार्वजनिक बिदा दिएको छ । भदौ ४ गते प्रदेश स्थापना तथा सहिद दिवसको अवसरमा सार्वजनिक बिदा दिइएको हो । सरकारले गत वर्षदेखि भदौ ४ गतेलाई प्रदेश स्थापना तथा सहिद दिवसका रूपमा बिदा दिने निर्णय गरेको थियो ।

प्रदेश प्राप्तिको आन्दोलनमा मृत्युवरण गरेका सहिद र प्रदेश घोषणा भएको दिनको सम्झनामा प्रदेश स्थापना तथा सहिद दिवस मनाउन आजको दिनमा सार्वजनिक बिदा दिने गरिएको हो । बुधवार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विज्ञप्ती जारी गरी भदौ ४ गते सार्वजनिक बिदा रहेको जानकारी गराएको छ ।

कर्णाली प्रदेश प्राप्तिको आन्दोलनमा सुर्खेतका यामबहादुर बिसी, टिकाराम गौतम, गोपालसिंह रजवार र जुम्लाका हरिबहादुर कुँवरको ज्यान गएको थियो । उनीहरूकै सम्झनामा प्रदेश स्थापना र सहिद दिवस एकैदिन मनाउने गरिएको छ ।