प्राकृतिक विपद्मा परी चार जनाको मृत्यु
मंगलवार राती गएको पहिरो र चट्याङमा परी चार जनाको मृत्यु भएको छ । पहिरोले घर बगाउँदा दैलेखमा दुई र सुर्खेतमा एक जना तथा मंगलवार राती नै चट्याङ लागेर जाजरकोटमा एक बालकको मृत्यु भएको हो ।
घरमा सुतिरहेको अवस्थामा पहिरोले घर बगाउँदा दैलेखको भगवतीमाई गाउँपालिका–५ कट्टीका ६६ वर्षीय बलबहादुर रावत र ठाटीकाँध गाउँपालिका–४ गैरीगाउँका १२ वर्षीय जनक कठायतको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । ठाटीकाँध पहिरोमा परी कठायत परिवारका चार र एक जना छिमेकीसमेत घाइते भएका छन् ।
सुर्खेतको सिम्ता गाउँपालिका–१ मा रंगे खत्रीको घर पहिरोले बगाउँदा उनका दुई वर्षीय छोराको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जाजरकोट छेडागाड नगरपालिका–१ का वीरबहादुर नेपालीको घरमा चट्याङ पर्दा उनका ३ वर्षीय छोराको मृत्यु भएको छ ।
यस्तै, मंगलवार राति नै अविरल वर्षासँगै आएको बाढीले जाजरकोटमा वडा कार्यालय बगाएको छ । शिवालय गाउँपालिका–६ को वडा कार्यालयको आधा भाग बाढीले बगाइदिएको हो । जाँत खोलामा आएको बाढीले कटान गर्दा टुनीबगरमा रहेको ६ नम्बर वडा कार्यालयको भवन बगाएको शिवालय गाउँपालिकाका अध्यक्ष नरेन्द्र शाहीले जानकारी दिए । उनका अनुसार कार्यालय नजिकै रहेको जाँत खोलाको ट्रस ब्रिज पनि बाढीले बगाएको छ ।
प्रकाशित मितिः ४ भाद्र २०७७, बिहीबार ०६:०३
साझा बिसौनी ।