लजाएको सभ्यता
कुरा केही हप्ता पहिलेको मात्र हो । हरेक दिनजसो बिहानै उठेर मोबाइलमा समाचार पढेँ । समाचारपछि फेसबुक चहार्ने पालो आयो । एकजना चर्चित लेखकको वालमा आँँखा पुग्यो, टक्क रोकिएँ । तीज सन्दर्भको एउटा भिडियो सेयर गरेको भेटेँ । मैले पनि गीत सुनेँ, राम्रो लाग्यो र सेयर गरेँ । गीत सोफिया थापाको आफ्नै सिर्जना र स्वरमा थियो ।
गीतमा परिवर्तनको स्वर थियो । समानताको लागि गरिएको आग्रह थियो । तीजको नाममा भइरहेका विकृत र अस्वस्थ पक्षलाई हटाउनु पर्छ भन्ने विनम्रताको स्वर थियो । त्यसको केही समयपश्चात् गीत यूट्युबबाट हटाइएको समाचार आयो । हिन्दू जागरण नेपालका अध्यक्ष रामकृष्ण उपाध्यायले उक्त गीतले धर्म, संस्कृतिमाथि आँच पु¥याउने तथा सामाजिक सद्भाव बिगार्ने र धर्मसम्बन्धी कानुनविरुद्ध भएको भन्दै सम्बन्धित च्यानललाई भिडियो हटाइदिन आग्रह गरेर निवेदन दिएको र भिडियो हटाइएको खबर सुनियो । तर त्यत्तिमै कथा सकिएको छैन, यसले धेरै प्रश्नहरूलाई जन्म दिएको छ ।
सोफियाको उक्त गीतमा के छ ? त्यो गीतले के साँच्चै उपाध्यायले भनेजस्तै धर्म, संस्कार, संस्कृतिको महिमामाथि आँच आउने काम गरेको छ त ? चर्चा गर्नु सान्दर्भिक हुनेछ । गीत यस्तो थियो ः
अबको तीज नो ब्रत प्लिज
नो खुट्टाको पानी
महिला पुरुष दुबै नै बराबरी
रङ्गीविङ्गी चुरा र सारी गहनाको भारी
गुडिया जस्तै सजिएर नखाने दर हामी
अबको तीज नो नक्कल प्लिज
नो खर्च नो पाटी
महिला पुरुष दुबै नै बराबरी
हातैमा हात साथैमा साथ नाचौँ न छमछमी
सबैलाई खुसी पारेर नै मनाऊँ तीज यसपालि
गीतका सबै शब्द र भाव केलाएर हेर्दा न तीजको विरोध गरेको छ, न त धर्म संस्कारको विरुद्धमा उभिएको छ, न त कुनै शब्दमा अश्लिलता र छाडापन देखाएको छ । त्यसको सट्टा यो गीतले अबको तीज मनाउने परम्परालाई परम्परागत ढङ्गभन्दा माथि उठ्न आग्रह गर्दछ । तीजलाई आत्मसम्मानपूर्वक मनाउन, खर्चमा मितव्ययिता अपनाउन र सबै वर्ग र तप्काका लागि तीज पर्वलाई सहज बनाउन विनम्रतापूर्वक आग्रह गरेको छ । के एउटी महिलाले नारी जातिको महान पर्व भनेर चिनिने हरितालिका तीजलाई परिष्कृत र मर्यादित तरिकाले मनाऊँ भनेर भन्न पाउँदिनन् ?
अवश्य पाउँछिन् । संविधानको धारा १७ ले हरेक नागरिकलाई विचार अभिव्यक्तिको स्वतन्त्रता प्रदान गरेको छ र उनले यस गीतमा त्यही अधिकारको प्रयोग गरेकी छन् ।
पौराणिक कालदेखि चल्दै आएको तीज पर्वको पृष्ठभूमि हिमालय पुत्री पार्वती र शिवजीको विवाह प्रसङ्गसँग जोडिन्छ । आफ्नो मनले चाहेका व्यक्तिलाई वरको रूपमा पाउन पार्वतीले निराहार ब्रत (पानी समेत नपिएर) बसी कठोर तपस्या गरेको र पछि उनले शिवजीलाई पतिको रूपमा पाउन सफल भएको कुरा धार्मिक शास्त्रहरूमा पढ्न पाइन्छ । हजारौँ वर्ष अगाडिदेखिको त्यही मिथकलाई अनुशरण गर्दै आज पनि विशेषतः अधिकांश हिन्दू महिलाहरू निराहार ब्रत बस्दै आएका छन् । दिनभरी पानीसमेत नपिएर निराहार ब्रत बसेर पूजा गर्दा केही महिलाहरू बेहोस भइ ढलेको खबर समेत बेला–बेलामा सुन्न पाइन्छ । स्वास्थ्यविद्हरूले समेत भन्दै आएको कुरा यो हो कि लामो समयसम्म केही पनि नखाइ बसिने ब्रतले शरीरमा नकारात्मक प्रभाव पार्ने र विभिन्न प्रकारका स्वास्थ्य समस्याहरू आउन सक्ने बताउँदै आएका छन् । एकातिर निराहार ब्रत बस्दा शरीरमा डिहाइड्रेसन हुने र जसका कारण मृगौलामा समेत असर पर्ने अर्कोतिर निरन्तरको ब्रतले ग्याष्ट्रिक, अल्सरको सम्भावना पनि हुन सक्ने कुरा चिकित्सकहरू बताउँछन् । यस अवस्थामा एउटी नारीले महिलाको स्वास्थ्य समस्यालाई समेत ध्यान दिएर तीजलाई महिलाको स्वास्थ्यमैत्रीसमेत बनाउन आग्रह गर्दै तीजमा ब्रत नबसौँ । तीजलाई सबै वर्गको चाड बनाऔँ भन्ने कुरा कसरी संस्कार विरोधी हुन्छ ? के हजारौँ वर्ष अगाडिदेखि तीज मनाउँदै आएको नाममा अवैज्ञानिक कुराहरूलाई आजको समाजले हुबहु रूपमा स्वीकार्नै पर्ने जरुरी छ ? के यो समय द्रौपदीको समय हो ? जसले पाँच पतिको बीचमा आपूmलाई विभाजित गरेर बाँचिन् । के यो समय सीताको समय हो ? जसले आपूmलाई चोखो सावित गर्न अग्नि परीक्षा दिनु प¥यो । यो समय पार्वतीको समय पनि होइन, जसले आपूmले चाहेको श्रीमान् पाउन भागेर वनमा गएर तपस्या गर्नुप¥यो ।
आजको समय महिलाहरू हर क्षेत्रमा काम गर्न सक्षम छन् भन्ने समय हो । चाहे समाज परिवर्तनका लागि युद्ध मैदानमा सानदार ढङ्गले भिड्ने वीर महिलाहरू होऊन्, चाहे विज्ञानको क्षेत्रमा समर्पित भएर संसारलाई महान योगदान दिने नारी विभूतिहरू होऊन् चाहे समाजका हरेक क्षेत्रको काममा खरो उत्रेर आपूmलाई कुनै पनि हिसाबले अब्बल सावित गर्ने महिलाहरू ती महान परिवर्तनकारी महिलाहरू सधै आदरणीय छन् जसले समाज परिवर्तनका लागि उल्लेखनीय योगदान गरे र महिलालाई कमजोर सम्झिने खिया लागेको पितृप्रधान सोँचलाई दरो झापड दिए । समय परिवर्तनशील छ भने हाम्रा संस्कारभित्र रहेकाकतिपय अवैज्ञानिक कुराहरूको पनि परिस्कार र परिमार्जन आवश्यक छ । सत्य त सापेक्ष सत्य हुन्छ भने निरपेक्ष सत्य संसारका कुनै पनि कुरा छैनन् । अर्कोतिर तीजमा ब्रत बस्न चाहने भक्तजनलाई ब्रत बस्ने कुरामा जति अधिकार छ, ब्रत नबस्नेलाई नबस्न पनि उत्तिकै अधिकार छ । कसैको विचार मान्ने नमान्ने कुरा व्यक्तिको स्वतन्त्रताको कुरा हो । हरेक व्यक्तिलाई आफ्नै शैलीमा, आफ्नै लयमा आत्मसम्मानको जीवन जिउने अधिकार छ ।
गीतको अर्को पङ्तिमा ‘नो खुट्टाको पानी’ भनिएको छ । आज पनि नेपाली महिलालाई खुट्टाको पानी नखाऊँ भनेर भन्नुपर्दा वास्तवमा सभ्यता पनि लजाउँदो हो तर हाम्रो समाजले लाज मान्दैन । सानदार ढङ्गले श्रीमतीलाई आफ्नो खुट्टा धुवाएर गर्वसाथ फोटो पोस्ट गर्ने र नारी समानताको पक्षमा चर्को भाषण गरेर नथाक्ने ढोँगीहरू खोज्न धेरै टाढा गइराख्नु पर्दैन । के हाम्रो समाजले आज पनि महिलाहरूलाई दासीको रूपमा स्वीकार गरेर खुट्टाको पानी खाऊन् भन्ने चाहना राख्छ ? के आज पनि हाम्रो समाजले हरेक पुरुषहरू ईश्वरका अवतार हुन् । पुरुषहरू नारीहरूभन्दा श्रेष्ठ छन्, माथि छन् भनेर पूजा गर्नर खुट्टाको पानी खान आग्रह गर्छ ? आज पनि हामी यो मानसिकताभन्दा माथि उठेका छैनौँ भने योभन्दा ठूलो विडम्बना अर्को के हुन सक्छ ? मानव जातिको एउटा समुदाय मंगल ग्रहमा मानव वस्ती बसाउने सोँचिरहँदा हामी भने खुट्टाको पानी नखाने कुरामा विवाद गर्दैर्छौं । यसले हाम्रो चेतनास्तरको पुड्कोपनलाई उजागर गरेको छ । सोफियाको यो आवाज नारी जातिको स्वाभिमान, स्वतन्त्रता र सचेतनाको पक्षमा उठेको आवाज हो । उनको यो आवाज नारी जातिलाई सधैं दासीको रूपमा हेर्ने मक्किएको, सामन्ती र अस्वस्थ चिन्तनकोविरुद्ध विद्रोहको आवाज उठाउने साहस हो, असमानताका पर्दाहरू च्यातेर स्वस्थ र सुन्दर समाज निर्माणका लागि गरिएको विनम्र आग्रह हो । हरेक नागरिकलाई जागरण पैmलाउने पूरापूर अधिकार छ, त्यही अधिकारमा सीमित छ उनको यो गीत ।
गीतले समाज सुधारका निकै सुन्दर कुराहरू पनि उठान गरेको छ । महिला–पुरुष दुवै बराबर हुन् भन्ने पक्षमा वकालत गर्दै गीतले फजुल खर्च नगरौँ, तडकभडक नगरौँ, रङ्गीविरङ्गी सारी र गहनामा सजिएर तीजलाई अस्वस्थ प्रतिस्प्रधाको भारी नबोकाऊँ । सबैको लागि सहज हुने तीज बनाऊँ भन्ने कुरामा आपत्ति किन ? के हाम्रो जस्तो कमजोर अर्थतन्त्र भएको देशमा नागरिकले आपूmसँग भएको पूँजीलाई उत्पादनमूलक काममा लगाऊँ, जहाँ पूँजी फ्रिज हुन्छ, त्यस्तो ठाउँमा पैसा धेरै खर्च नगरौँ भन्ने कुरा सान्दर्भिक छैन ? बिल्कूल सान्दर्भिक छ । पछिल्लो समयमा खास गरी सहरी क्षेत्रमा तीज भड्किलो बन्दै गएको कुरा सत्य हो । महिनौँ अगाडिदेखि पार्टी प्यालेसमा सकी नसकी गरिने खर्च सामाजिक, आर्थिक, सांस्कृतिक कुनै पनि रूपमा न सान्दर्भिक छ, न त उपयोगी । त्यसैले उनले प्लिज भन्दै गरेका यी आग्रहहरू विल्कूल औचित्यपूर्ण छन् ।
एक समय समाजमा सतीप्रथाले मान्यता पाएको थियो । समाजमा दास प्रथा थियो । महिलाले पढ्नु हुँदैन भन्ने समाज थियो । छाउपडी प्रथा आज पनि जीवित छ । के प्रथाको नाममा यी प्रथाहरू समाजका कलङ्क थिएनन् ? अवश्य नै यी प्रथाहरूले समाजलाई लामोसमयसम्म निकै पछाडि धकेले र मानव समाजमा विषबृक्ष बनेर धेरै मानिसलाई जिउँदै मारिदिए । त्यसैले आजको समाजले यसलाई स्वीकार गर्न सकेन । समाज परिवर्तनशील छ । समाजमा परिवर्तनको लहर सिर्जना गरेर समाजलाई गति दिने काममा समाजका सचेत सदस्यहरूको अहम् भूमिका हुन्छ । तर हाम्रो समाज दिनप्रतिदिन पूर्वाग्रही, ढोँगी, यथास्थिति मन पराउने र असहिष्णु बन्दै गइरहेको छ । यो निश्चय नै राम्रो सङ्केत होइन ।
निश्चय नै सोफियाको यो गीतले उनले एक अन्तरवार्तामा भनेजस्तै पितृसत्तात्मक सोँचलाई हल्लाइदिएको छ । पुरुषप्रधान मानसिकताको इगोमा चोट पुगेको छ । तर सवाल कसैले गरेको कार्यले मानव समाजको लागि हित गरेको छ कि छैन भन्ने कुरा नै मूल कुरा हो । शताब्दीऔँ अगाडिदेखि महिलाहरूमाथि अनेक खालका भेद्भाव, थिचोमिचो र अत्याचार हुँदै आएको छ । महिलालाई जहिल्यै दोस्रो दर्जाको रूपमा राखेर हेर्ने हाम्रो समाजका पितृसत्तात्मक आँखाहरू अभैm महिलामैत्री हुन सकेका छैनन् । अभैm हाम्रो विवेकले महिलाहरूको स्वतन्त्र अस्तित्वलाई पूर्ण रूपमा स्वीकार गर्न सकिरहेको छैन । महिलाको आत्मसम्मानमा उठेका आवाजहरू उनीहरूलाई पुरुष विरोधी, धर्म विरोधी लाग्छन् । यो हाम्रो समाजको चारित्रिक दोष हो । यसप्रकारको पितृप्रधान मानसिकताको अन्त्य गर्न ठूलो साहसको जरुरत पर्छ । हाम्रा सोँच र चिन्तनहरू सबै मानव जातिलाई एउटै मानवीय चश्माले हेर्ने दिशामा केन्द्रित भए मात्र समाजले नयाँ दिशा लिन सक्छ ।
जहाँसम्म धर्मको प्रश्न छ, धर्म त्यो हो जसले मानिसको आत्मसम्मानको रक्षा गर्छ, मानवीय स्वतन्त्रताको रक्षा गर्छ र मानवीय गौरवको रक्षा गर्छ । धर्मले कहिल्यै अरुको अहित गर्दैन । धर्म सदैव मानवको हितमा हुन्छ । मानव समाजको हितमा हुन्छ । मानिस मानिसको बीचमा विभेद सिर्जना गर्ने, भेद्भाव गर्ने र उच निचको भावना सञ्चार गर्ने धर्म होइन । कुनै पनि धर्मले मानिस मानिसको बीचमा भेद गर्नु भन्दैन । सामाजिक विकृतिहरू सबै मानव मस्तिष्कका उपज हुन् । ठूलो सानोको भाव पैदा गरेर आपूmलाई श्रेष्ठ सावित गर्न प्रयोग गरिएका हतियारहरू मात्र हुन् । त्यसैले यस्ता कुरामा धर्मलाई दोष दिनु उचित हुँदैन । के हिन्दू धर्मको रक्षा कुनै संघ–संगठनले मात्र गर्ने हो ? धर्मको रक्षा कसैले गर्छ भने त्यो रक्षा सत्यले गर्छ, न्यायले गर्छ र मानिसभित्रको विवेकले गर्छ । मानवीय हितभन्दा ठूलो धर्म केही छैन । जसरी आगोको धर्म पोल्नु हो, हावाको धर्म बहनु हो, पानीको धर्म चिसो हुनु, बग्नु हो, सूर्यको धर्म प्रकाश दिनु हो, ठीक त्यसैगरी मानवताभन्दा ठूलो अर्को कुनै धर्म छैन ।
लोकतन्त्रको सुन्दर पक्ष भनेको हरेक नागरिकले आफ्नो विचारलाई निर्भयतापूर्वक राख्न पाउने स्वतन्त्रता हो । कसैले राखेको विचार सबैलाई मन नपर्न सक्छ । विचारमाथि छलफल, विचार विमर्श हुनुपर्छ तर विचारको हत्या गरिनु हुँदैन । विचारको हत्याले सिर्जनालाई नष्ट गरिदिन्छ । विचारका सबै पूmलहरूले फुल्ने वातावरण पाउनु पर्छ, जुन समाजको लागि हितकर छन् । मानवताको पक्षमा छन् । समाज सुन्दर, सभ्य र समृद्ध त्यतिबेला मात्र हुन्छ जब समाजका सम्पूर्ण मानिसहरूले आत्मसम्मानपूर्वक जीवन जिएको महसुस गर्न पाउँछन् । शताब्दीऔँ अगाडिदेखिका संस्कारलाई आजको समाजले पनि हुबहु उतार्दै जाने कुराले यथास्थितिलाई जन्म दिन्छ । हामीले हाम्रा संस्कार संस्कृतिभित्रका सुन्दर पक्षको संंरक्षण गर्नुपर्छ, हाम्रो मौलिक पक्षको संरक्षण गर्नु पर्छ । वास्तवमा सोफियाको यो गीतको विरोध धर्म संस्कारको रक्षाका लागि गरिएको विरोध होइन । बरु यो विरोध महिलाहरूलाई आजको स्थितिबाट माथि उठ्न नदिने चिन्तन हो । महिलालाई सधै दासीको रूपमा हेर्ने खिया लागेको पुरुषवादी मानसिकता हो । लोकतन्त्रमाविचारको यसप्रकारको हत्या सबैभन्दा ठूलो हिंसा हो ।
प्रकाशित मितिः ४ भाद्र २०७७, बिहीबार ०६:०२
साझा बिसौनी ।