जोखिम घटाउन निषेधाज्ञा

कोरोना भाइरसको महामारीले आक्रान्त बनाएको लामो समय भइसक्यो । यसको त्रास र जोखिम भने अझै घटेको छैन । चार महिना लामो लकडाउन गरेर पनि खुला गरिएपछि पुनः संक्रमणको दर बढेको छ । मृत्यु हुनेको संख्या पनि थपिएको छ । दैनिकजसो नयाँ संक्रमित फेला परिरहेकै छन् । यसले गर्दा कोरोनाको कहरबाट मुलुक बाहिर निस्कन सकेको छैन । यहीबीचमा चाडपर्व नजिकिँदै छन् । तीज सँगै ठूला पर्वहरू भित्रिन्छन् । चाडपर्वको समयमा जहाँकहीँ मानिसहरूको चाप बढ्छ । भिडभाड हुन्छ । यसले कोरोना संक्रमणको जोखिम थप बढी हुने गर्दछ । यही जोखिमबाट अहिले हामी गुज्रिरहेका छौं ।

पछिल्लो दिनहरूमा बजार क्षेत्रमा भिडभाड निक्कै बढेको थियो । यही भिडबाट हुने संक्रमण र फैलिने जोखिम न्यूनिकरण गर्न स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्न थालेका छन् । चाडवाडमा हुने भिडभाड रोक्न कर्णालीका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरिएका हुन् । कोरोना संक्रमणको जोखिम उच्च रहेको भन्दै चाडपर्व केन्द्रित निषेधाज्ञा लागू गरिएको हो । स्थानीय प्रशासनले प्रदेशका केही स्थानमा यसअघि नै निषेधाज्ञा जारी गरिसकेका छन् भने प्रदेश राजधानी वीरेन्द्रनगरलगायतका कतिपय स्थानीय तहमा सोमवारदेखि लागू भएको छ । यस्तै मुगुको गमगढीमा पनि सोमवारदेखि नै निषेधाज्ञा लागू भएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जुम्लामा यसअघि पटक–पटक निषेधाज्ञा लागू गरिसकिएको छ भने रुकुम–पश्चिमको मुसीकोट नगरपालिकामा बुधवारदेखि निषेधाज्ञा जारी छ ।

निषेधाज्ञा भिडभाड रोक्ने उपाए । भिडभाड रोक्दा कोरोना फैलिने जोखिम कम हुन्छ । लकडाउन हटेसँगै बढेको भिडभाडले प्रदेश संक्रमणको जोखिम बढेपछि निषेधाज्ञा गर्नुपरेको हो । यसलाई नागरिकले पनि पालना गरेका छन् । जुन नागरिकको कर्तव्य हो । बजारको अत्याधिक भिडभाड, नजिकिँदै गरेका चाडवाड र समुदायस्तरमा संक्रमण पुग्नुले संक्रमण रोकथाम तथा नियन्त्रण लागि यस्तो कदम चाल्नु परेको हो । यसमा नागरिक सहयोग अपरिहार्य छ । नेपालमा दैनिक सयौंको संख्यामा संक्रमित फेला पर्न थालेका छन् । बीचमा केही समय संक्रमितको दर घटेपछि सरकारले लकडाउन खुकुलो बनाएको थियो । यद्यपि पछिल्लो समय यो दर बढेको छ । जसले गर्दा बेवास्ता र हेलचक्य्राइँ गर्न सकिने अवस्था छैन । सानो हेलचक्य्राइँले पनि ठूलो जोखिम निम्त्याउनेतर्फ सबै सजग हुनैपर्दछ । नागरिक सगज भएका मात्र कोरोनाको संक्रमण फैलिनबाट रोक्न सकिन्छ ।

अहिले कर्णाली प्रदेशको समुदायस्तरमा संक्रमण पुगि सकेको छ । यो अर्को ठूलो जोखिम हो । त्यसैले पनि सरकारले समुदाय केन्द्रित परीक्षणलाई तीव्र पारेको छ । तर परीक्षण सबैको सहज पहुँचमा पुगिसकेको छैन । यस्तो अवस्थामा आवश्यक सतर्कता अपनाउनु नै उत्तम उपाय हो । सरकारले आफ्नोतर्फबाट विभिन्न प्रयास गरिरहेको छ । त्यसकै एक कदम हो, अहिले जारी गरिएको निषेधाज्ञा । यो बेला अत्यावश्यक कामबाहेक कोही पनि घरबाहिर ननिस्कने र भिडभाड हुने क्रियाकलाप नगर्नेतर्फ सचेत हुनु जरूरी छ ।

प्रकाशित मितिः   २ भाद्र २०७७, मंगलवार ०६:०२