कोरोनाका २८ संक्रमित घरमै
कर्णाली प्रदेशमा आइतवारसम्म कोरोना भाइरस ‐कोभिड–१९) का सक्रिय संक्रमित एक सय ४७ जना छन् । त्यसमध्ये कोरोना अस्पताल तथा आइसोलेसन सेन्टरमा एक सय १९ जनाको उपचार भइरहेको छ । उनीहरू चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको प्रत्यक्ष निगरानीमा छन् । सुर्खेतमा ४९ जना, दैलेखमा ३४ जना, जाजरकोटमा ६, सल्यानमा ११, कालीकोटमा तीन र मुगुमा दुई जना सम्बन्धित जिल्लाका कोरोना अस्पताल तथा आइसोलेसन सेन्टरमा छन् ।
प्रदेश स्वास्थ्य सेवा महाशाखाको पछिल्लो तथ्याङ्कमा कोरोना अस्पताल तथा आइसोलेसन सेन्टरमा एक सय १९ जना र बाँकी २८ जना होम आइसोलेसनमै रहेको उल्लेख छ । तर उनीहरू कुन जिल्लाका कति जना हुन् र ती सक्रिय संक्रमितको अवस्था कस्तो छ भन्नेबारे भने स्वास्थ्य सेवा महाशाखा अनभिज्ञ छ । महाशाखाका प्रमुख डा. लक्ष्मी नारायण तिवारीले कुन जिल्लामा कति संक्रमित होम आइसोलेसनमा छन् भनेर यकिन तथ्याङ्क नराखिएको जनाए ।
ती संक्रमितहरू चिकित्सकको सल्लाह र निगरानीमै रहेको उनको दावी छ । ‘केही संक्रमितहरू आफ्नै इच्छाले घरमै बसेर उपचार गराइरहनु भएको छ’, उनले भने, ‘हामीले एकमुष्ट तथ्याङ्क मात्र राखेका छौं ।’ यसरी संक्रमितहरू घरमै बस्दा संक्रमण फैलने जोखिम उच्च रहेको चिकित्सकहरूले नै बताउने गरेका छन् ।
दुई जना संक्रमित थपिए
कर्णालीमा आइतवार दुई जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार जुम्लामा दुुई जनामा संक्रमण पुष्टि भएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा जुम्लामा रहेका रूकुम–पश्चिमका एक जना र जुम्लाकै एक जनामा संक्रमण देखिएको छ । प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या दुई हजार ६७ पुगेको छ । त्यसमध्ये एक हजार नौ सय १४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म कर्णालीमा ६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।
प्रकाशित मितिः १ भाद्र २०७७, सोमबार ०६:०३
साझा बिसौनी ।