चाडपर्व लक्षित निषेधाज्ञा

हिरालाल रेग्मी प्रमुख जिल्ला अधिकारी

निषेधाज्ञा जारी गर्नुको मुख्य कारण बजार क्षेत्रमा देखिएको अत्याधिक भिडभाडका साथै लापरबाही, नजिकिँदै गरेका चाडवाडले निम्तिन सक्ने जोखिम र समुदायस्तरमा कोरोना संक्रमण देखिनु हो । संक्रमण समुदायमा फैलिसकेको अवस्थामा नागरिकहरूको अटेरीपनका कारणसमेत झनै जोखिम बढेको छ ।

 

चाडपर्व नजिकिँदै गर्दा बजार क्षेत्रहरूमा भिडभाड बढेको छ । यतिबेला कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम पनि बढ्दै गएको छ । चाडवाडमा हुने भिडभाड रोक्न कर्णालीका विभिन्न स्थानमा निषेधाज्ञासमेत जारी गरिएका छन् । कोरोना संक्रमणको जोखिम उच्च रहेको भन्दै चाडपर्व केन्द्रित निषेधाज्ञा लागू गरिएको हो ।

स्थानीय प्रशासनले प्रदेशका केही स्थानमा यसअघि नै निषेधाज्ञा जारी गरिसकेका छन् भने प्रदेश राजधानी वीरेन्द्रनगरलगायतका कतिपय स्थानीय तहमा आज (भदौ १) देखि निषेधाज्ञा जारी भएको छ । मुगुको गमगढीमा पनि आजदेखि नै निषेधाज्ञा लागू हुने भएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जुम्लामा यसअघि पटक–पटक निषेधाज्ञा लागू गरिसकिएको छ भने रुकुम–पश्चिमको मुसीकोट नगरपालिकामा बुधवारदेखि निषेधाज्ञा जारी छ ।

लकडाउन हटेसँगै बढेको भिडभाडले प्रदेश राजधानीसमेत रहेको वीरेन्द्रनगर नगरपालिकामा कोरोना संक्रमणको जोखिम बढेको छ । संक्रमण फैलने जोखिम भएसँगै नागरिकस्तरबाट समेत निषेधाज्ञा गर्नका लागि दबाब बढेको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए । उनले वीरेन्द्रनगर नगरपालिकामा निषेधाज्ञा गर्नुपर्ने मुख्य तीन कारण रहेको जनाए । उनका अनुसार बजारको अत्याधिक भिडभाड, नजिकिँदै गरेका चाडवाड र समुदायस्तरमा संक्रमण पुग्नुले संक्रमण रोकथाम तथा नियन्त्रण लागि यस्तो कदम चाल्नु परेको हो ।

कोरोना भाइरस समुदायमा फैलिसकेको अवस्थालाई मध्यनजर गरी वीरेन्द्रनगरमा निषेधाज्ञा जारी गरिएको प्रजिअ रेग्मीले बताए । ‘समुदायस्तरमा कोरोना देखिएपछि ‘कन्ट्रयाक ट्रेसिङ्ग’ गर्न स्वास्थ्यकर्मीलाई निकै कठिन भएको छ । नागरिकहरूको अटेरीपनका कारण समेत जोखिम थप बढेपछि निषेधाज्ञा नै जारी गर्नुपरेको हो,’ उनले भने । निषेधाज्ञाका लागि नगरपालिका, उद्योग वाणिज्य संघ, नागरिक अगुवा र प्रदेश सरकार समेत सकारात्मक भएकोले कार्यान्वयनमा सहज हुने उनको अपेक्षा छ । निषेधाज्ञा उल्लंघन गर्नेलाई स्थानीय प्रशासन ऐन, २०२८ र संक्रामक रोग ऐन, २०२० अनुसार कारबाही गरिने उनले बताए ।

यता सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले भने लामो समयको लकडाउनले व्यवसायीहरू आर्थिक संकटमा परेको बताए । ‘कर्णालीमा कोरोना भाइरसको जोखिम बढेकोले यसलाई नियन्त्रण गर्नुपर्छ भन्ने त लागेकै हो, उनले भने ‘समुदायस्तरमा समेत भाइरस फैलिएकोले निषेधाज्ञा गरिएको होला ।’ उनले जुन समुदायमा कोरोना पुष्टि भएको हो सो समुदायलाई सिल गरी व्यवसाय सञ्चालन गर्न दिँदा राम्रो हुने बताए । आर्थिक मेरुदण्डको रूपमा रहेको व्यवसायलाई पटक–पटक बन्द गर्दा राज्यलाई नै घाटा हुने रावत बताउँछन् । ‘यसअघि लकडाउनको कारण व्यवसायीहरूले घरभाडा, बंैकको ब्याजसमेत तिर्न सकेका छैनन्,’ उनले भने । उनले निषेधाज्ञा लामो समय हुन नहुने बताए । अहिलेलाई जोखिम बढेकोले आर्थिक घाटा भए पनि यसको कार्यान्वयनमा आफूहरूको समर्थन रहेको उनले जनाए ।

वीरेन्द्रनगरमा आजदेखि ५ गते राति १२ सम्म निषेधाज्ञा जारी रहनेछ । यो अवधिमा अत्यावश्यक सेवा स्वास्थ्य, सुरक्षा, विद्युत, दूरसञ्चार, खानेपानी, दुध, फोहोरमैला व्यवस्थापन, ग्यास तथा पेटो«लियम पदार्थ, औषधि पसल तथा तरकारी र सञ्चार लगायतका सेवा भने बन्द हुने छैनन् । यो अवधिमा मृत्यु/दाहसंस्कारमा बढीमा १५ जना मात्र सहभागी हुन पाउने छन् । अन्य कुनै पनि प्रकारको जमघट, भेला गर्न पाइने छैन । तर अत्यावश्यक सवारी साधन एम्बुलेन्स, शववाहन, दमकल, झण्डावाल सवारी, सुरक्षा, स्वास्थ्य, कुटनीतिक नियोग र प्रेस तथा सञ्चारकर्मीहरूका सवारी साधनहरू भने चलाउन पाइनेछ ।

कर्णालीमा संक्रमणको जोखिम उच्च रहे पनि हाल दैनिक पुष्टि हुने संक्रमितको संख्या पहिलेको तुलनामा कम छ । भदौ ५ गते हरितालिका तीज पर्वमा बढी भिडभाड हुने भएकाले सोही दिनलाई लक्षित गरी निषेधाज्ञा जारी गरिएको हुन सक्ने आँकलन गरिएको छ । जोखिम बढ्ने सम्भावनालाई मध्यनजर गर्दै कर्णाली प्रदेश सरकारले पनि प्रदेश प्रवेश गर्ने नाकाहरूमा कडाइ गर्ने निर्णय गरेको छ । अबदेखि प्रदेश भित्रिने नागरिकहरूले पीसीआर रिपोर्ट देखाउनुपर्ने छ । प्रदेश भित्रिने मुख्य नाका सुर्खेतको बबई तथा कुइने, सल्यानको कालिमाटी, काल्चे र कपुरकोटलगायतका सीमा नाकामा पीसीआर रिपोर्ट हेरिनेछ । पास बनाएर आएका व्यक्तिहरूलाई समेत पीसीआर रिपोर्ट अनिवार्य गरिएको हो । प्रदेशभरका मुख्य बजार क्षेत्रका होटल तथा रेष्टुरेण्ट पूर्णरूपमा बन्द गर्ने निर्णय पनि प्रदेश सरकारले गरेको छ ।

प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार सुर्खेतमा कोरोना संक्रमितको संख्या ६ सय ३३ पुगेको छ । तीमध्ये पाँच सय ७६ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो तथ्याङ्कअनुसार ६३ जना आइसोलेसनमा उपचाररत छन् भने वीरेन्द्रनगरमा मात्रै ३८ जना सक्रिय संक्रमित रहेका छन् ।

भेरीगंगाका बजार बन्द

कोरोनाको जोखिम बढेको भन्दै भेरीगंगा नगरपालिकाका क्षेत्रभित्र रहेका बजार पनि आज (सोमवार) देखि बन्द गरिने भएको छ । नगरपालिकाले कोरोना संक्रमणको जोखिम बढ्न सक्ने भन्दै आज साँझ सात बजेदेखि भदौ ५ गते राति १२ बजेसम्म बजार क्षेत्र बन्द गर्ने निर्णय गरेको हो । आइतवार नगरपालिकामा बसेको सर्वपक्षीय बैठकले यस्तो निर्णय भएको नगरपालिकाले जनाएको छ ।

यो अवधिमा भेरीगंगा नगरपालिका भित्रपर्ने छिन्चु, जहरे, झिङ्नी र रामघाट बजार बन्द रहने नगरपालिकाद्वारा जारी सूचनामा जनाइएको छ । नगरपालिकाले अति आवश्यक कामबाहेक घरबाहिर ननिस्कन समेत सर्वसाधारणलाई अनुरोध गरेको छ ।

अदालतको सेवा पनि बन्द

वीरेन्द्रनगरमा निषेधाज्ञा जारी भएपछि उच्च अदालत सुर्खेतले पनि सेवा प्रवाह बन्द गरेको छ । निषेधाज्ञा जारी गरेपछि आन्तरिकबाहेक अन्य सेवा बन्द गरिएको उच्च अदालतले जनाएको छ । निषेधाज्ञा अवधिभर अदालतबाट भइरहेको सेवा प्रवाहमध्ये बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता र सुनुवाइ तथा कोभिडसँग सम्बन्धित रिट निवेदनको दर्ता र नियमित सुनुवाइ गर्ने बाहेकका अन्य सेवा स्थगित गरेको जनाइएको छ । सेवाग्राहीको भिडभाड हुने अन्य कार्यालयहरूले यसअघि नै अत्यावश्यकबाहेकका सेवा प्रवाह बन्द गरिसकेका छन् ।

प्रकाशित मितिः   १ भाद्र २०७७, सोमबार ०६:०६