सडकका सकस

सडक विकासको आधारभूत पूर्वाधार हो । यसको सम्बन्ध यात्रुहरूको सहज यात्रासँग मात्र जोडिएको हुँदैन, विकासका अन्य पूर्वाधार निर्माण र विस्तारसँग पनि जोडिएको हुन्छ । यात्रुहरूका साथसाथै सवारीका साधनहरू पनि सडकमै गुड्छन् । सहरी क्षेत्रमा त पैदल यात्रु र सवारीका अधिक चाप हुन्छ । जसले गर्दा दुर्घटनाको जोखिम पनि बढी हुने गर्दछ । हरेक दिनजसो सानो तथा ठूला सवारी दुर्घटनाका घटना भइरहेकै हुन्छन् । जसमा परेर कतिपयको ज्यान जाने गरेको छ भने कतिपय घाइते भइरहेका छन् । त्यसैले सडकको सदुपयोग सही तरिकाले गर्नु अपरिहार्य हुन्छ । सडक अनुसानको परिपालना अनिवार्य हुन्छ । तर कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगरमा भने सडक अनुशासनको पालना हुने गरेको छैन । हेलचक्य्राइँ बढ्दो छ । यसले जोखिम पनि बढाएको छ ।

पछिल्लो समय वीरेन्द्रनगरमा सहरीकरण बढ्दै छ । सहरीकरणसँगै मानिसको चाप बढ्छ । मानिसको चाप बढेसँगै सवारीका साधनहरूको चाप पनि अधिक हुन्छ । सडक भने साँघुरा छन् । त्यसमाथि सडक प्रयोगमा हेलचक्य्राइँ भइरहेको हुन्छ । फूटपाथ पैदल यात्रुले प्रयोग गर्न पाइरहेका छैनन् । सडक छेउका व्यवसायीहरूले सामान राखिरहेका हुन्छन् । यात्रु र सवारी साधन मूल सडकमै हिँड्ने र गुड्ने हुँदा दुर्घटनाको जोखिम झन् बढी हुने गरेको छ । त्यसमाथि साइकल लेन, जेब्राक्रस, सडक बत्ती लगायतका पूर्वाधारको विकास गरिएको छैन । सीमित ठाउँमा बनाइएका जेब्रा क्रसको प्रयोग नै हुँदैन । जेब्रा क्रस सडक सुरक्षाको एक महŒवपूर्ण पक्ष हो । जहाँ पायो त्यहीँबाट बाटो काट्दा दुर्घटनाको डर हुने हुँदा पैदल यात्रुलाई बाटो काट्नका लागि सहज र सुरक्षित बनाउन जेब्रा क्रस बनाउने गरिन्छ । तर वीरेन्द्रनगरका सडकमा देख्न पाइँदैन । मुख्य बजार क्षेत्रमा बनाइएका जेब्रा क्रस पनि प्रयोगविहीन छन् । कतिसम्म भने पछिल्लो समय त जेब्रा क्रस नै मेटिएन नदेखिने भएका छन् ।

जेब्रा क्रस नहुँदा सवारी चलाउने र पैदल यात्री दुवैलाई समस्या हुने गरेको छ । हेलचक्य्राइँ कुनै एक पक्षबाट मात्र पनि भएको छैन । पैदल यात्रु, सवारी चालकका साथै नियम पालना गराउनुपर्ने निकाय ट्राफिक प्रहरीबाट पनि बेवास्ता हुने गरेको छ । यात्रुले जहाँकहीँबाट बाटो काटिरहेका हुन्छन् । जेब्रा क्रससम्म पुग्दैनन् । अर्कोतर्फ सवारी चालकहरू जेब्रा क्रस भएको स्थानमा पनि गति कम नगरेर सवारी हाँक्छन् । यात्रु नै डराउनुपर्नेगरी । दुवै पक्षले नियम पालना नगरेपछि जेब्रा क्रस हुनुको पनि कुनै अर्थ रहेन । त्यसमाथि ट्राफिक प्रहरीको कर्तव्य सडक अनुशासन पालना गराउनु । नियम लागू गर्नु र पालना नगर्नेलाई कारबाहीको दायरामा ल्याउनु । तर नियमनकारी निकायले नै बेवास्ता गरिरहेको छ । मुख्य चोकमै नियमविपरित यात्रुहरूले बाटो काटिरहँदा नजिकै रहेका प्रहरी मुकदर्शक बनिरहेका हुन्छन् । यो अवस्थाको अन्त्य गरी सडक अनुशासन पालना गराउन सके अहिले भइरहेको दुर्घटना र त्यसले निम्त्याउने क्षति न्यूनीकरण हुनेछ ।

प्रकाशित मितिः   १ भाद्र २०७७, सोमबार ०६:०२