मेटिए सडकका जेब्रा क्रस
वीरेन्द्रनगर–१० का निरुता बर्ताेलले शनिवार दिउँसो वीरेन्द्रनगर चोकमा बाटो काट्नका लागि जेब्रा क्रस खोजिन् । एक वर्षअघि बनाइएको जेब्रा क्रस मेटिसकेको थियो । सडकमा सवारी साधन आफ्नै गतिमा हिँडिरहेकाले उनलाई बाटो काट्न सकस भयो । उनले अनुमानमै बाटो काटिन् ।
‘पहिले बनाएको जेब्रा क्रस मेटिएछ, उनले भनिन् ‘छेउमा अलिकति संकेत देखिएकाले यहीँबाट बाटो काटे ।’ बढ्दो सवारी साधनको चापसँगै जेब्रा क्रस नहुँदा सडकमा वारपार गर्न निकै गाह्रो हुने गरेको उनले सुनाइन् ।
भेरीगंगा नगरपालिका–२ का साउने बुढा पनि शनिवार दिउँसो यरीचोकमा बाटो काट्दै थिए । उनले राजमार्गमा हुइँकिएका सवारी साधनबाट जोगिदै बल्ल–बल्ल सडक पार गरे । उनलाई जेब्रा क्रसका बारेमा थाहा नभए पनि मान्छे हिँडिरहेको समयमा सवारी साधन एकछिन रोकिदिएको भए भन्ने लाग्छ ।
पैदल यात्रुप्रति सवारी चालकको अत्याधिक लापरबाही रहेको र ट्राफिक प्रहरी पनि कम गम्भीर नबन्ने गरेको यात्रुहरूको गुनासो छ । पैदल यात्रु जथाभावी हिँड्दा सवारी साधन ठाउँ–ठाउँमा एक्कासी रोक्नुपर्दा दुर्घटनाको जोखिम बढ्ने गरेको सवारी चालकहरू बताउँछन् । वीरेन्द्रनगरका स्थानीय चेत अधिकारीले जेब्रा क्रस नहुँदा सवारी चलाउने र पैदल यात्री दुवैलाई समस्या हुने गरेको बताए । ‘केही स्थानमा जेब्रा क्रस बनाउने काम भएको थियो । तर केही समय सम्मका लागि मात्रै भयो । सवारी साधनको चाप बढी भएकाले जेब्रा क्रसबाट मात्रै बाटो काट्ने गरी सम्बन्धित निकायले व्यवस्थापन गर्नुपर्छ,’ उनले भने । वीरेन्द्रनगरका मुख्य सडकमै जेब्रा क्रस नहुँदा सडकमा असुरक्षा बढेको छ । भएका जेब्रा क्रेस पनि मेटिँदै गएपछि पैदलयात्रीलाई बाटो काट्न समस्या हुने गरेको हो । वीरेन्द्रनगर नगरपालिका प्रदेशको राजधानी भएसँगै यहाँ सवारीसाधन र मानिसहरूको चहलपहल बढी छ । साँघुरो सडक र अव्यवस्थित पार्किङ्गले पैदल यात्रीलाई झनै सास्ती हुने गरेको छ । सडकमा जोखिम मोलेर बाटो यात्रुहरूको गुनासो छ ।
वीरेन्द्रनगरका सडकमा जेब्रा क्रस हुुने बेलामा जिल्ला ट्राफिक प्रहरी कार्यालयले पैदल यात्रुलाई जेब्रा क्रसबाट हिँड्न भन्ने गर्थे । तर अहिले जेब्रा क्रस नै मेटिएपछि ट्राफिक प्रहरीले पनि भन्न छोडे । सवारी साधन तीव्र गतिमा चलाउँदा पैदल यात्रु असुरक्षित हुनुका साथै दुर्घटनाको जोखिम पनि बढी भएको ट्राफिक प्रहरीले जनाएको छ । जिल्ला ट्राफिक कार्यालयका प्रमुख उदयसिंह सिजापतिले जेब्रा क्रस निर्माणका लागि नगरपालिकासँग अनुरोध गरे पनि सुनुवाइ नभएको बताए । ‘जेब्रा क्रस मेटिएपछि मैले नगरपालिकासँग कुरा राखेको हो । त्यहाँबाट चासो भएन, उनले भने, ‘अहिलेसम्म फाटफूटबाहेक ठूलो घटना त घटेको छैन । तर जेब्रा क्रस नहुँदा सवारी दुर्घटनाको जोखिम जहिले रहिरहन्छ ।’ उनले साँघुरो सडक, अव्यवस्थित पार्किङ्ग र त्यसमाथि जेब्रा क्रस नहुँदा ट्राफिक दुर्घटनाको जोखिम धेरै रहेको औंल्याए ।
वीरेन्द्रनगर नगरपालिकाकाले गएको आर्थिक वर्षमा कोरोनाका कारण लकडाउन भएपछि बजार क्षेत्रका सडकमा जेब्रा क्रस बनाउन नसकिएको जनाएको छ । गत वर्ष वीरेन्द्रनगर नगरपालिका र स्थानीय युवा किरण सापकोटाले मंगलगढीचोकदेखि पुरानो हुुलाक कार्यालयसम्म जेब्रा क्रस बनाएका थिए । त्यसबेलामा वीरेन्द्रनगर नगरपालिकाले पाँच लाख रूपैयाँ बजेट खर्च गरेको थियो ।
नगरपालिकाका वरिष्ठ प्रशासन सहायक यामलाल गिरीले कोरोनाका कारण लकडाउन भएपछि यो पटक जेब्रा क्रसको काम हुन नसकेको बताए । उनले जेब्रा क्रस गुणस्तर नभएकाले छोटो समयमै मेटिएको पनि बताए । ‘हामीले सामान्य तरिकाले जेब्रा क्रस बनायौं । सडकको गुुणस्तर पनि राम्रो भएन । घरमा रङ्ग लगाए जसरी बनाइयो । यसरी गर्दा खर्च धेरै र गुणस्तर नहुने रहेछ ।’ गिरीले जेब्रा क्रस गराउन नगरपालिकासँग अहिले पर्याप्त बजेट नभएको जनाए । उनका अनुसार आउँदो चैतमा मात्रै वीरेन्द्रनगरका मुख्य सडकमा जेब्रा क्रस बनाइनेछ । कच्चा पदार्थ बाहिरबाट ल्याउनुपर्ने भएका कारण लकडाउनका समयमा जेब्रा क्रस गराउन नसकिएको उनको भनाइ छ ।
प्रकाशित मितिः ३२ श्रावण २०७७, आईतवार १०:०२
मुना हमाल ।