कर्णालीमा ३४ प्रतिशत मात्र विद्युतीकरण

प्रदेशका १० जिल्लामध्ये हुम्ला, जुम्ला, डोल्पा, कालीकोट र मुगुमा अहिलेसम्म राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेको छैन।

कर्णाली प्रदेशका पाँच जिल्लामा अझै राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेको छैन । कर्णालीमा राष्ट्रिय प्रसारण प्रणालीबाट (ग्रिड) ३० दशमलब ५७ र अफ ग्रिडबाट ४ दशमलब १७ प्रतिशत विद्युतीकरण गरिएको छ । प्रदेशका १० जिल्लामध्ये हुम्ला, जुम्ला, डोल्पा, कालीकोट र मुगुमा अहिलेसम्म राष्ट्रिय प्रसारण ग्रिड नपुगेको हो । नेपाल विद्युत प्राधिकरणले ती जिल्लाका केही स्थानहरूमा मात्र माइक्रो हाइड्रोमार्फत विद्युत आपूर्ति गरिरहेको छ । यहाँका अधिकांश बस्ती विद्युत प्रयोग गर्नबाट वञ्चित छन् । भौगोलिक कठिनाइ तथा विकटताले गर्दा कर्णाली प्रदेशमा विद्युतीकरण चुनौतिपूर्ण रहेको प्राधिकरणले जनाएको छ ।

मुलुकभर ८६.४४ प्रतिशत घरपरिवारमा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत पुगेको छ । विद्युत प्राधिकरणको तथ्याङ्क अनुसार राष्ट्रिय ग्रिडमार्फत सबैभन्दा बढी प्रदेश २ का घरपरिवारमा विद्युतको पहुँच पुगेको छ भने सबैभन्दा कम कर्णाली प्रदेशमा छ । प्रदेश २ मा राष्ट्रिय प्रसारण प्रणालीमार्फत ९९ दशमलब पाँच घरपरिवारमा विद्युत पुगेको छ । प्राधिकरणले कर्णाली प्रदेशमा ग्रिड र अफ ग्रिड गरी ३४ दशमलव ७४ प्रतिशत विद्युतीकरण गरेको छ ।

सरकारले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत राष्ट्रिय ग्रिड पुग्न नसकेका ठाउँमा सौर्य, लघुजलविद्युत (माइक्रो–हाइड्रो) लगायतमार्फत पनि विद्युतीकरण गर्दै आएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको तथ्याङ्कअनुसार, अहिले देशभर ९० प्रतिशतभन्दा बढी जनसंख्यामा विद्युतको पहुँच पुगेको छ ।

प्राधिकरण्का अनुसार आर्थिक वर्ष २०७२÷०७३ मा ६२ दशमलब १६ प्रतिशत घरपरिवारमा मात्रै विद्युतीकरण भएको थियो । चार वर्षभित्र २३ दशमलव २८ प्रतिशतले विद्युतको पहुँचमा वृद्धि भइ अहिले ८६ दशमलब ४४ प्रतिशत पुगेको छ । आगामी साढे दुई वर्षभित्र हरेक नेपालीको घरमा विद्युतको पहुँच पु¥याउने लक्ष्यका साथ विद्युतीकरण अगाडि बढाइएको प्राधिकरणले जनाएको छ । एसियाली पूर्वाधार लगानी बैंकले कम विद्युतीकरण भएका कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि सहुलियतपूर्ण ऋण प्रवाह गर्न लागेको जनाइएको छ ।

सरकारले २०७९ (सन् २०२२) भित्रमा प्रत्येक घरधुरीमा विद्युत् सेवा पु¥याउने र चार वर्षभित्रमा प्रतिव्यक्ति विद्युत खपतलाई ७०० युनिट पु¥याउने लक्ष्य राखेको छ । अहिले प्रतिव्यक्ति ऊर्जा खपत २ सय ६० युनिट पुगेको छ ।

प्रकाशित मितिः   ३२ श्रावण २०७७, आईतवार १०:०४