अर्थतन्त्रको आधार जडिबुटी
मुलुकका अन्य ६ प्रदेशको तुलनामा विकासमा पछि परेको प्रदेश हो, कर्णाली । भौगोलिक रूपमा पनि विकट छ । आर्थिक रूपमा कमजोर रहँदै आएको छ । गरिबीले पिल्सिएको छ । विगतको केन्द्रीकृत शासन प्रणालीबाट सधैं पिछडियो । विकासका आधारभूत पूर्वाधारहरू पनि पर्याप्त बनेनन् । सडक, सञ्चार, शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत लगायतका पूर्वाधारकै लागि अझै पनि संघर्ष गरिरहनुपरेको छ । यस्तो कमजोर अवस्थाकै कारण प्रदेशको अर्थतन्त्र पनि सवल बन्न सकेको छैन । अहिले प्रदेश र स्थानीय सरकार सञ्चालनमा छन् । तर उनीहरूको आन्तरिक स्रोत बलियो छैन । संघीय सरकारले दिने अनुदानमै निर्भर हुनुपर्ने अवस्था छ । तर सरकारसँग आफ्नो आन्तरिक स्रोत बढाउने र अर्थतन्त्रलाई बलियो बनाउने दीर्घकालीन योजनाको अभाव छ ।
राजस्वलाई अर्थतन्त्रको मेरुदण्ड मानिन्छ । सरकारले उठाउने राजस्व नै मुलुकको मुख्य आन्तरिक स्रोत हो । राजस्वका लागि सबैभन्दा बलियो आधार उद्योगधन्दा हुन् । तर कर्णाली प्रदेशमा औद्योगिक विकास हुन सकेको छैन । केही मात्रामा लघु तथा घरेलु उद्योगहरू भए पनि ठूला लगानीका उद्योग व्यवसाय छैनन् । कर्णालीमा २१ हजार नौ सय ३६ लघु तथा घरेलु उद्योग र २७ हजार ८१ वाणिज्यतर्फका व्यवसाय दर्ता छन् । गएको आर्थिक वर्ष २०७६/०७७ मा प्रदेशभर दुई हजार नौ सय ७५ नयाँ साना उद्योग र वाणिज्यतर्फ तीन हजार एक सय ८७ व्यवसाय दर्ता भएका छन् । उद्योग नहुँदा वर्षेनी न्यून मात्रामा राजस्व उठ्ने गरेको छ । प्रदेशभर सञ्चालित उद्योग र वाणिज्यतर्फका व्यवसायबाट वर्षमा जम्मा तीन करोड राजस्व संकलन भएको छ । तर जडिबुटीबाट भने केही बढी राजश्व संकलन भएको छ । जडिबुटी व्यवसायबाट मात्रै सरकारलाई साढे तीन करोड राजस्व उठेको छ । यो तथ्याङ्कले पनि कर्णाली प्रदेशको अर्थतन्त्र जडिबुटीमा निर्भर रहेको देखाउँछ ।
कर्णालीमा तीन करोडभन्दा माथि लगानी भएका उद्योगहरू छैनन् । हाल सञ्चालनमा रहेका सबै उद्योग साना तथा घरेलु उद्योग हुन् । कर्णाली प्रदेश सरकारले उद्योग सञ्चालनसम्बन्धी धेरै ऐनहरू निर्माण गर्न बाँकी रहेको र आवश्यक कानुनको अभावमा सरकारले मात्रै वा नागरिक एक्लैले ठूला उद्योगमा लगानी गर्न सक्ने अवस्था नरहेको हो । कर्णालीमा औद्योगिक विकासको सम्भावना नै नभएको पनि होइन । बहुमूल्य जडिबुटीको खानी हो, कर्णाली । त्यही जटिबुटीजन्य उद्योगको विकास गर्न सक्ने हो भने मात्रै पनि प्रदेशको अर्थतन्त्र मात्रै होइन समग्र मुलुककै अर्थतन्त्र बलियो बनाउन महŒवपूर्ण भूमिका निर्वाह हुनेछ । औद्योगिक विकासले अर्थतन्त्रलाई मात्रै बलियो बनाउँदैन, रोजगारीका पर्याप्त अवसरहरू पनि सिर्जना गर्दछ । अहिले बेरोजगारी प्रदेशको ठूलो समस्या बनेको छ । यसको समाधानका लागि पनि सरकारले औद्योगिक विकासतर्फ ध्यान दिनुपर्ने हुन्छ । अन्य उद्योगसँगै जडिबुटीजन्य उद्योगको विकासमा सरकारले लगानी बढाउने र निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहित गर्न सक्नुपर्दछ ।
प्रकाशित मितिः ३२ श्रावण २०७७, आईतवार १०:००
साझा बिसौनी ।