कोरोनाबाट मृत्यु हुनेको संख्या ९५ पुग्यो

नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट थप चार जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९५ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार अछाम, महोत्तरी, धनुषा र मोरङ जिल्लामा एक÷एक जना गरी चार जनाको मृत्यु भएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार धनुषाको मिथिला नगरपालिका–७ ढल्केवरका ८५ वर्षीया महिलाको साउन २८ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ । यस्तै अछामको रामारोशन गाउँपालिका–५ का १८ वर्षीया किशोरको साउन २८ गते पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ । उनी मुटुरोगबाट ग्रसित थिए ।

मोरङको विराटनगर महानगरपालिका–३ का ५७ वर्षीया पुरुषको साउन २८ गते कोशी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । उनी मधुमेह र उच्च रक्तचापबाट ग्रसित थिए । यसैगरी महोत्तरीको महोत्तरी मटिहानी नगरपालिका–६ का ४५ वर्षीय पुरुषको साउन २५ गते मृत्यु भएको उनले बताए । क्षयरोग र मधुमेहका ग्रसित उनको राज जानकी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

यस्तै, कर्णाली प्रदेशमा हालसम्म दुई हजार ५२ जनामा संक्रमण देखिएको छ । तीमध्ये एक हजार नौ सय एक जना संक्रमणमुक्त भएका छन् भने एक सय ५१ जना सक्रिय संक्रमित छन् । हालसम्म कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ ।

प्रकाशित मितिः   ३० श्रावण २०७७, शुक्रबार ०६:०२