५६ प्रतिशत उजुरी फछ्र्यौट

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयले गएको आर्थिक वर्ष २०७६/७७ मा ५६ दशमलब ७६ प्रतिशत उजुरी फछ्र्यौट गरेको छ । कर्णाली प्रदेशका दशवटै जिल्लाबाट अख्तियारको सुर्खेत कार्यालयमा परेका एक हजार ८० मुद्दामध्ये ६ सय १३ वटा मुद्दा फछ्र्यौट गरिएको हो ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग सुर्खेत कार्यालयका प्रमुख नारायणप्रसाद रिसालले गत आर्थिक वर्ष सात वटा मुद्दामाथि अनुसन्धान गर्ने क्रममा १० जना रङ्गेहात पक्राउ परेको र एक जना राजस्व हिनामिना गरेको विषयमा पक्राउ परेको जनाए । रङ्गेहात पक्राउ परेकाबाट १० लाख ७५ हजार रूपैयाँ बिगो दावी गरिएको छ । रङ्गेहात पक्राउ पर्नेमा जनप्रतिनिधिदेखि सरकारी कर्मचारीसम्म रहेका छन् ।

२०७६/०७७ वर्षका कूल मुद्दामध्ये चार सय ११ वटा अघिल्लो आर्थिक वर्ष २०७५/७६ बाट जिम्मेवारी सरेर आएका मुद्दा हुन् । फछ्र्यौट हुन बाँकी चार सय ६७ मुद्दा चालु आर्थिक वर्षका लागि जिम्मेवारी सरेर आएको कार्यालयले जनाएको छ ।

यस्तै गत आर्थिक वर्षका मुद्दा फछ्र्यौटका क्रममा ५९ लाख ५८ हजार ६ सय ५५ रूपैयाँ बिगो असुल गरिएको छ । फछ्र्यौट भएका मुद्दामध्ये तीन सय ४५ तामेलीमा गएका छन् । यस्तै एक सय ९ वटा एकीकरण भएका छन् भने ७२ वटा लेखी पठाइएको छ । यसैगरी ८३ वटा मुद्दामा विस्तृत अनुसन्धान गरिएको छ । आयोगको अर्को निकायमा एउटा मुद्दा पठाइएको छ भने अन्य निकायमा तीन वटा मुद्दा अनुसन्धानका लागि पठाइएको जनाइएको छ ।

अख्तियार सुर्खेत कार्यालयका अनुसार गत आर्थिक वर्षका सबैभन्दा धेरै मुद्दा स्थानीय तहसँग सम्बन्धित थिए । शिक्षासँग सम्बन्धित मुद्दासहित स्थानीय तहबाट मात्र चार ५४ वटा मुद्दा दर्ता भएका थिए । यस्तै सबैभन्दा धेरै मुद्दा दर्ता हुने माध्यम चिठीपत्र भएको कार्यालयले जनाएको छ ।

प्रकाशित मितिः   ३० श्रावण २०७७, शुक्रबार ०६:०१