जोखिम बढेपछि प्रदेश राजधानीमा निषेधाज्ञा

वीरेन्द्रनगरमा भदौ १ देखि ५ गतेसम्म निषेधाज्ञा जारी गरिने भएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम बढ्दै गएपछि स्थानीय प्रशासनले यस्तो निर्णय गरेको हो । समुदायस्तरमा संक्रमण देखिन थालेपछि जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको बिहीवारको बैठकले पाँच दिन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । कर्णाली प्रदेश राजधानीसमेत रहेको वीरेन्द्रनगरलाई भदौ १ गते बिहान ६ बजेदेखि ५ गते राती १२ बजेसम्म निषेधाज्ञा गर्न लागिएको हो ।

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले संक्रमणको जोखिमलाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको बताए । उनका अनुसार निषेधाज्ञाको यो अवधिमा उद्योग, व्यापार–व्यवसाय, मानिसहरूको आवतजावत बन्द हुुने र औषधि पसल, अस्पताल, तरकारी तथा फलफूल, ग्यास र दुुध डेरीलगायतका अत्यावश्यक व्यवसाय भने सञ्चालन हुनेछन् । त्यस्तै निषेधाज्ञाका समयमा एम्बुलेन्स, शववहान, दमकल, सुरक्षा, स्वास्थ्य, कुटनीतिक नियोग, सञ्चारकर्मी तथा प्रेसका सवारीसाधन सञ्चालन गर्न पाइनेछ । प्रजिअ रेग्मीले स्थितिको मूल्याङ्कन गरेर निषेधाज्ञा लम्बाउने वा हटाउने भन्ने विषयमा पछि निर्णय गरिने बताए । उनका अनुसार यो समयमा भौतिक निर्माणका केही कामहरू भने गर्न सकिनेछ । निश्चित एरियामा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर निर्माणका काम गर्न सकिने उनले जनाए ।

पछिल्लो दुुई दिनमा वीरेन्द्रनगरमा थप ३६ जना कोरोना संक्रमित भेटिएका छन् । त्यसमध्ये पनि पाँच जना कुनै पनि ‘ट्राभल हिस्ट्री’ नभएका संक्रमित छन् । अहिलेसम्म वीरेन्द्रनगरमा एक सय ९२ जनामा संक्रमण देखिएको छ । यसअघि साउन २५ गतेदेखि कोरोना जोखिम बढेको भन्दै सेवाग्राहीको बढी भिड हुने जिल्ला प्रशासन, मालपोत, यातायातलगायतका कार्यालयमा अत्यावश्यक बाहेकका सेवाहरू बन्द गरिएको थियो ।

कोरोना संकट व्यवस्थापन केन्द्रले जिल्लामा यसअघि नै चाडपर्वका बेला जात्रा–मेला लगाउन, गोष्ठी तथा सेमिनारहरू गर्न रोक लगाइसकेको छ । पछिल्लो समय संक्रमितहरूको तथ्याङ्क र संक्रमणको प्रकृति हेर्दा समुदायमा कोरोनाको जोखिम बढेकोले अहिले वीरेन्द्रनगर क्षेत्रमा मात्रै निषेधाज्ञा जारी गरिएको प्रजिअ रेग्मीले बताए ।

अबदेखि कर्णाली प्रदेश भित्रिन अनिवार्य रूपमा आरटी–पीसीआर रिपोर्ट आवश्यक पर्ने भएको छ । प्रदेश संकट व्यवस्थापन केन्द्रको बिहीवारको बैठकले नाकाहरूमा कडाइ गर्नुका साथै प्रदेश भित्रिनेलाई पीसीआर रिपोर्ट अनिवार्य गर्ने निर्णय गरेको हो । बैठकले होटल र रेष्टुरेण्ट पूर्ण रूपमा बन्द गर्नेसमेत निर्णय गरेको छ । यस्तै जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र सुर्खेतले पनि अन्य प्रदेश तथा जिल्लाबाट सुर्खेत भित्रिने नाकाहरूमा कडाइ गर्ने जनाएको छ ।

जिल्ला भित्रिने नागरिकहरूको पीसीआर रिपोर्ट अनिवार्य रूपमा नेगेटिभ भएको हुनुपर्ने बताइएको छ । विशेष गरेर सुर्खेत भित्रिने मुुख्य नाका काल्चे, बबई र कुुईनेबाट प्रवेश गर्ने नागरिकहरूले रिपोर्टविना जिल्ला भित्रिन पाउने छैनन् । बाहिरबाट आउने व्यक्तिहरूमार्फत संक्रमणको जोखिम भएकाले यस्तो व्यवस्था गरिएको प्रजिअ रेग्मीले बताए । पास बनाएर आएका व्यक्तिहरूले पनि पछिल्लो तीन दिनयताको पीसीआर रिपोर्ट पेश गर्नुपर्ने छ ।

कोरोना संक्रमण बढ्दै गएकाले नागरिकहरू थप सचेत हुन आवश्यक रहेको चिकित्सकहरूले बताएका छन् । उनीहरूले नागरिकहरू आफैं सचेत बन्नुको विकल्प नरहेको औंल्याएका हुन् । कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले नागरिकले सचेत र सतर्क भएर स्वास्थ्य सुरक्षा मापदण्ड अपनाए मात्र संक्रमणको जोखिम कम हुने बताए । उनले सरकारले अब मानिसहरूको आवतजावतमा कडाइ गर्नुपर्ने सुुझाए । उनी भन्छन्, ‘सरकारले नियन्त्रण, रोकथाम, व्यवस्थापन र उपचारलगायतका पक्षमा ठोस कार्ययोजनासहित कार्यान्वयनमा लैजानुपर्छ । नागरिकहरू पनि उत्तिकै जिम्मेवार बन्न जरुरी छ ।’ उनले अहिलेको परिस्थितिलाई बेवास्ता गर्दा भयावह अवस्था आउन सक्ने बताए ।

प्रदेश अस्पतालकै विशेषज्ञ डा. केएन पौडेलले कोरोना संक्रमणको जोखिमलाई कम गर्न मुख्यगरी सीमा नाकामा कडाइ गर्नु आवश्यक रहेको बताए । अनिवार्य रूपमा मास्क लगाउनुपर्ने र भौतिक दूरी कायम गर्नुपर्ने उनको सुुझाव छ ।

तीन जिल्लामा १५ आईसीयू थपिने

कर्णाली प्रदेशका तीन जिल्लामा आईसीयू बेड थप्न लागिएको छ । बिहीवार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले दैलेख, सल्यान र कालीकोटका जिल्ला अस्पतालमा आईसीयू बेड थप्ने निर्णय गरेको हो । यसको जिम्मा सामाजिक विकास मन्त्रालयलाई दिइएको छ ।

सामाजिक विकासमन्त्री दल रावलले तीनवटै जिल्ला अस्पतालमा पाँच÷पाँच वटा आईसीयू र एक÷एक वटा भेन्टिलेटर थप्ने तयारी गरिएको बताए । उनका अनुसार करिब दुई हप्ताभित्र आईसीयू र भेन्टिलेटर सञ्चालनमा ल्याउने गरी मन्त्रालयले तयारी अघि बढाएको छ । सुर्खेत र जुम्ला अस्पतालमा पनि आईसीयू र भेन्टिलेटर थप्नेबारे छलफल भइरहेको उनले जानकारी दिए ।

हाल कर्णालीका सुर्खेत, जुम्ला र दैलेख अस्पतालमा गरी ४० आईसीयू र १७ भेन्टिलेटर रहेका छन् । बैठकले एक स्थानीय तहमा एक क्वारेन्टाइन वा आइसोलेसन स्थायी रूपमा राख्ने निर्णयसमेत गरेको छ । सीमा नाकामा कडाइ गर्ने र भारत तथा देशका अन्य क्षेत्रबाट आएका व्यक्तिहरूलाई छुट्टाछुट्टै क्वारेन्टाइनमा राख्ने निर्णयसमेत गरिएको छ ।