उपचारका लागि सहयोगको याचना

चार वर्षदेखि ओछ्यानमा थला परेका वीरेन्द्रनगर–६ शान्तिटोलका यामबहादुर सुनारले उपचारका लागि सहयोगको याचना गरेका छन् । २०७३ साउनमा बसको छतबाट खसेर मेरुदण्ड भाँचिएका सुनारले उपचारमा आर्थिक अभाव भएपछि सहयोगको याचना गरेका हुन् ।

‘घरमा कमाउने कोही छैन,’ उनले भने ‘अहिलेसम्म ऋण सापट गरेर १५ लाख जति खर्च भइसक्यो । बस चालकसमेत रहेका उनलाई बस समितिले उपचारको लागि लखनउसम्म लगे पनि बिमा वापतको रकम भने नदिएको उनले गुनासो गरेका छन् । मेरुदण्ड भाँचिएर थलापरेपछि मुटुको भल्बमासमेत समस्या देखिएको चिकित्सकहरूले बताएको उनले सुनाए । ‘मेरो यस्तो अवस्था भएपछि छोराछोरीले समेत पढ्न छोडे । अहिले बिहान–बेलुकीको छाक टार्न समेत धौ–धौ छ,’ यामबहादुर भने । श्रीमतीले घर अगाडि सानो घुम्ती गरेर खाने मेसो गरेपनि मुटुरोग र शरीरमा भएको घाउको लागि मात्रै महिनामा ६ हजारभन्दा बढी खर्च जुटाउन समस्या भएको उनले दुखेसो पोखे ।

आई.एन.एफ. सुर्खेतले पोखरामा ६ महिनासम्मको उपचार खर्च बेहोरिदिए पनि आफूले सरकारको तर्फबाट भने कुनै पनि सहयोग नपाएको बताए । उपचारको लागि सहयोग गरिदिन उनले विभिन्न व्यक्ति, संघ–संस्था र प्रदेश सरकार तथा स्थानीय सरकारलाई आग्रह गरेका छन् ।

प्रकाशित मितिः   २९ श्रावण २०७७, बिहीबार ०६:०१