असफलता ढाक्ने वहाना
कर्णाली प्रदेश सरकारले गत आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक प्रगति समीक्षा गरेको छ । मंगलवार पत्रकार सम्मेलनको आयोजना गरी सरकारले वार्षिक प्रगतिको सारांश सार्वजनिक गरेको छ । प्रगति निराशाजनक छ, विगतका वर्षहरूमाजस्तै । न बजेट खर्च गर्न सरकार सफल भयो न अरु प्रगति नै प्रशंसायोग्य छन् । जहाँ हे¥यो त्यहीँ निराश हुनुपर्ने अवस्था छ । अर्को एउटा आर्थिक वर्ष खेर गयो भन्दा फरक पर्दैन । तर सरकार भने आफ्नो कमजोरी र असफलता ढोक्न अनेक वहाना बनाइरहेको छ । प्रगति समीक्षामार्फत पनि त्यही वहानाबाजी सार्वजनिक गरिएको छ ।
काम गर्न नसक्ने तर अन्तिममा अनेक कारण देखाएर वहाना बनाउने सरकारको विगतकै अभ्यास हो । पहिलो वर्ष सरकारले नयाँ संरचना र व्यवस्था कार्यान्वयनको सुरुवाती चरण भएकाले समस्या भएको जिकिर ग¥यो । दोस्रो वर्ष कर्मचारी अभावको वहाना छँदैथियो । अहिले आएर फेरि विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस अर्को वहाना थपियो । यिनै कारण देखाएर सरकार आफ्नो अक्षमता लुकाउन प्रयासरत छ । तर बिर्सन नहुने कुरा के छ भने नेपालमा कोरोनाका कारण सबै क्षेत्र अवरुद्ध नै हुनेगरी प्रभावित भएको गत चैत महिनादेखि हो । जबकी त्यसअघि नै उक्त आर्थिक वर्षका आठ महिना बितिसकेका थिए, जहाँ पनि कुनै प्रगति देखिएको थिएन । न बजेट कार्यान्वयनमा न त अन्य काममा । सरकार असफलप्रायः नै थियो ।
हरेक वर्ष लक्ष्यअनुरूप वार्षिक प्रगति गर्न नसक्दा सरकारले कुनै न कुनै बहाना बनाउँदै आएको छ । विकास बजेट खर्चको अवस्था प्रत्येक वर्ष निराशाजनक देखिएपछि सरकारले वर्षैंपिच्छे केही न केही बहाना बनाउने गरेको हो । कर्णाली सरकारले पहिलो वर्षलाई सिकाइको वर्ष भन्यो । दोस्रो वर्षलाई कानुन निर्माणको वर्ष । हालसम्म एक आंशिक र तीनवटा पूर्ण बजेट ल्याइसकेको सरकारले तेस्रो आर्थिक वर्षदेखि भने कर्मचारी अभाव र सांगठनिक पुनर्संरचनाको बहाना बनाउँदै आएको छ । प्रदेश सरकारले गएको वर्षमा विनियोजित कूल बजेटमध्ये मुस्किलले आधा मात्रै खर्च गरेको छ । सरकारले वार्षिक कार्यक्रमका लागि विनियोजित ३४ अर्ब ३५ करोड बजेटमध्ये १६ अर्ब ३६ करोड मात्रै खर्च गरी १७ अर्ब ९९ करोड बजेट फ्रिज भएको हो । बजेट नै पर्याप्त मात्रामा खर्च गर्न नसकेपछि विकास कार्यमा प्रगति हुने कुरै भएन । यो वर्ष पनि धेरै आयोजना अलपत्र नै रहे ।
सरकारले काम गर्न नसक्नुका जुन–जुन कारण उल्लेख गरेको छ त्यसले पक्कै पनि समस्या निम्त्याएको छ । जसमा दुईमत छैन । तर त्यही कारणले सबै काम रोकिएको भने होइन । गर्न सकिने धेरै काम पनि भएका छैनन् । न त अहिलेको महामारीसँग जुध्न प्रभावकारी काम भएको छ । उल्टै खर्चिएको पारदर्शीतामा प्रश्न उठेको छ । यही गतिमा अघि बढ्ने हो भने कर्णाली प्रदेशका नागरिकले विकास र समृद्धिको जुन सपना देखेका थिए त्यो पूरा हुने छैन ।
प्रकाशित मितिः २९ श्रावण २०७७, बिहीबार ०६:००
साझा बिसौनी ।