स्याउ उत्पादन ५० प्रतिशत घट्ने अनुमान
यतिबेला जुम्लाका बगैँचामा स्याउको आकार र कलरले पूर्ण रूप लिँदैछ । तर स्याउ गत वर्षभन्दा कम फलेको छ । वर्षभरि दुःख गर्दा पनि स्याउ नफलेपछि किसान चिन्तित भएका छन् ।
गत वर्ष १२ हजार मेट्रिक टन स्याउ फलेको जुम्लामा यो साल ५० प्रतिशत उत्पादन घट्ने अनुमान गरिएको छ । स्याउबाटै समृद्ध बनेका जुम्लाका किसान यो वर्ष भने स्याउ नफलेपछि चिन्तित भएका हुन् । वर्षभरि दुःख गर्दापनि स्याउ नफल्दा सात जनाको परिवार कसरि पाल्ने भन्ने पिरलो हुन थालेको पातारासि गाउँपालिका वडा नम्वर ६ उर्थुका स्थानीय जयकृष्ण विष्टले बताए ।
कृषि विकास कार्यालयका अनुुसार जुम्लामा १६ हजार घरपरिवारले स्याउ खेति गर्दै आएका छन् । स्याउ रोपेको जमिनमा अन्य अन्न उत्पादन हुँदैन । यस पटक न किसानसँग स्याउ छ, न त खाने अन्न छ । असिना पानी, खडेरि र कालो तुसारोले स्याउ सखाप पारेको स्थानीय जुनतारा विष्टको भनाइ छ ।
गत वर्ष स्याउबाटै ३४ करोड आम्दानी भएको थियो, तर यो वर्ष असिना पानी र कालो तुसारोले ५० प्रतिशत उत्पादन घट्ने कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटा बताउँछन् । पाँच वर्ष अघिबाट स्याउको बिमा सुरु भएपनि यो पटक जम्मा सात सय ४७ जनाले मात्रै बिमा गरेको बताउँदै देवकोटाले कृषकलाई हरेक वर्ष अनिवार्य बिमा गर्न सुझाएका छन् । ‘जुम्लामा एक त स्याउ पालो गरेर एक वर्ष फल्छ एक वर्ष फल्दैन, त्यसमा पनि असिना पानी, खडेरि र कालो तुसारोले स्याउमा नोक्सान हुन्छ । कृषकले स्याउबाट हुने आम्दानी सुरक्षित गर्न अनिवार्य बिमा गर्ने गर्नुपर्छ’ देवकोटाले भने ।
हालसम्म खडेरि र असिनाले पु¥याउने क्षतिको मात्रै बिमा हुँदै आएको छ । कालो तुसारोले पनि स्याउमा क्षति पु¥याउने भएकोले यसलाई बिमाभित्र राख्न पहल भइरहेको शिखर इन्सोरेन्स कम्पनिका प्रतिनिधि ऋषिराम पाण्डेले बताए । स्याउ नफल्नुमा गुणस्तरहिन नर्सरीको पनि दोष रहेको तातोपानी–७ सर्मिका स्थानीय प्रेम रावलले बताए ।
प्रकाशित मितिः २९ श्रावण २०७७, बिहीबार ०६:०३
साझा बिसौनी ।