अनियमित लोडसेडिङ्गको विरोधमा धर्ना
सुर्खेतका युवाहरूले अनियमित रूपमा भइरहेको लोडसेडिङ्गको विरोधमा धर्ना दिएका छन् । मंगलवार विद्युत प्राधिकरणको कार्यालय सुर्खेतमा धर्नासहित ज्ञापन–पत्र बुझाइएको हो ।
छिनछिनमै विद्युत लाइन आउने–जाने हुँदा सास्ती भोग्नुपरेको भन्दै युवाहरू विरोधमा उत्रिएका हुन् । साथै उनीहरूले विद्युत महसुल पनि बढी भएको भन्दै विरोध जनाएका छन् ।
सरकारले देशलाई पूर्णरूपमा लोडसेडिङ्गमुक्त घोषणा गरिसकेको अवस्थामा पनि सुर्खेतका नागरिकले विद्युुत आपूर्तिमा समस्या भोग्नु परेको विरोधमा उत्रिएका युवाहरूको भनाइ थियो । ‘विद्युत आपूर्तिमा आउने विविध समस्याको समयमा बाहेक अन्य अवस्थामा नियमित रूपमा विद्युत आपूर्ति भइरहनु पर्नेमा छिनछिनमै आउने–जाने समस्या छ । दैनिक करिब ३० देखि ४० पटकसम्म यस्तो समस्या दोहोरीरहेको छ’ ज्ञापन पत्रमा लेखिएको छ्, ‘यसले गर्दा विद्युतीय उपकरणमा समस्या देखिइ जनताको दैनिक काम कारबाहीमा अवरोध आएको छ ।’
विद्युुत आपूर्तिमा देखिएको समस्याले साना तथा मझौला उद्योग तथा कलकारखाना सञ्चालनमा कठिनाइ झेलिरहनु परेको पनि ज्ञापन–पत्रमा उल्लेख गरिएको छ । जसले गर्दा नागरिकको दैनिक जीवनयापनमा समेत कष्टकर अवस्थाको सिर्जना भएको जनाइएको छ । यस्तै मिटरमा समेत खपत युनिट बढ्ने समस्या देखिएको बताएका छन् । यस विषयमा विद्युत कार्यालयलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको र विद्युत महसुलको अनलाइन भुक्तानीमा समेत अविश्वास सिर्जना भएको बताइएको छ । विद्युत खपतविना नै चर्को महशुल तिर्न पर्ने समस्याले समेत नागरिक समस्या परेकोले विरोध गर्नुपरेको विरोधमा उत्रिएका युवा नविन देवकोटाले बताए । उनले अहिले ज्ञापन पत्र बुझाइएको र समस्या समाधान नभए थप आन्दोलन गरिने बताए ।
प्रकाशित मितिः २८ श्रावण २०७७, बुधबार ११:५४
साझा बिसौनी ।