मृतकका परिवारलाई दश लाख दिइने
पश्चिम रुकुमको ‘सोती घटना’मा मृत्यु भएका ६ जनाको परिवारलाई सरकारले आर्थिक सहायता दिने भएको छ । प्रति परिवार १०–१० लाख रूपैयाँ आर्थिक सहायता दिने निर्णय सरकारले गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद्का निर्णय मंगलवार सार्वजनिक गर्दै सरकारका प्रवक्ता अर्थ तथा सूचना र प्रविधिमन्त्री डा. युवराज खतिवडाले यस्तो जानकारी दिएका हुन् ।
चौरजहारी नगरपालिका–८ मा जेठ १० गते भएको घटनामा ६ जनाको मृत्यु भएको थियो । दलित युवाले कथित उपल्लो जातिकी केटी भगाउन खोजेको भन्दै गाउँलेले गरेको आक्रमणमा परी जाजरकोटको भेरी नगरपालिकाका नवराज विक लगायतका युवाको ज्यान गएको थियो । उनीहरूको शव केही दिनको अन्तरमा भेरीमा भेटिएको थियो । यो घटनामा नवराज विक, गणेश बुढामगर, सन्दिप विक, लोकेन्द्र सुनार, टीकाराम सुनार र गोविन्द शाहीले ज्यान गुमाएका थिए । यस्तै सरकारले घटनाका घाइते १२ जनालाई उपचारमा लागेको खर्च बराबरको रकम उपलब्ध गराउने पनि निर्णय गरेको छ ।
प्रकाशित मितिः २८ श्रावण २०७७, बुधबार ११:५३
साझा बिसौनी ।