धान गोड्ने समयमा मलको चरम अभाव

पाँच महिनादेखि आयात ठप्प, तत्काल आपूर्ति नहुने, किसानलाई उत्पादन घट्ने चिन्ता

साउन १५ देखि भदौ १५ सम्म धान गोडमेल गर्ने समय हो । यतिबेला धान गोडमेलसँगै किसानहरूले खेतबारीमा मल हाल्ने गर्छन् । कर्णालीमा भने यसैबेला मलको चरम अभाव छ । चार–पाँच महिनायता रासायनिक मल (युरिया) आयात नभएपछि किसानहरू मर्कामा परेका छन् । बजारमा मलको हाहाकार भएपछि उनीहरू चिन्तित भएका हुन् । मल नपाएपछि खाली धान गोडमेल गर्ने काम मात्रै गरेको किसानहरूले बताएका छन् । मलको अभावका कारण यो वर्ष धान उत्पादनमा कमी आउने उनीहरूको चिन्ता छ । रासायनिक मल नपाउँदा यस वर्ष किसानले थप सास्ती खेप्नु परेको हो ।

वीरेन्द्रनगर–३ मसुरीखेतकी गीता थापाले मल अभाव भएपछि आफूहरू समस्यामा परेको बताइन् । उनले समयमै धानमा मल हाल्न नपाउँदा रोग लाग्न थालेको सुनाइन् । ‘मल पाइन्छ कि भनेर दिनभरी बजार धाइन्छ । नपाएपछि रित्तै हात फर्कनुपर्छ,’ उनले भनिन्, ‘मल नहुँदा हामी ‐किसानहरू) ठूलो मर्कामा परेका छौं ।’ खेतबारीमा मल नै नहालेपछि धानको उत्पादन घट्ने चिन्ता व्यक्त गरिन् ।

यस्तै, वीरेन्द्रनगर–११ का किसान प्रेम खत्रीले किसानहरूले सिजनमा मल बीउ नपाउने समस्या सधैं झेल्नु परेको बताए । उनले यतिबेला मल नपाउँदा ठूलो समस्या भएको दुखेसो पोखे । ‘सहकारी, एग्रोभेटबाट मल लिने गरिन्थ्यो । यसवर्ष कोरोनाका कारण मल आएको छैन भनेर पाएका छैनौं,’ उनी भन्छन्, ‘सरकारले बेलैमा यसबारेमा सोचेको भए अहिले हामीलाई मलको समस्या हुने थिएन् ।’ यस पटक बजारमा मुस्किलले पाएको मल पनि महङ्गो र गुणस्तरहीन भएको उनले बताए ।

सहरकारीमार्फत मल पाइरहेका किसानले मलको अभाव भएपछि निजी एग्रोभेटबाट महङ्गोमा मल लिन बाध्य छन् । तर, त्यहाँ पनि पर्याप्त मल भने पाइएको छैन । २५ रूपैयाँ किलो पर्ने यूरिया मललाई अहिले यहाँका किसानले ५५–६० रूपैयाँमा किन्नु परिरहेको छ । वीरेन्द्रनगर–१२ का किसान वासुदेव उपाध्यायले बजारमा युरिया मलको हाहाकार हुँदा महङ्गी पनि उत्तिकै बढेको बताए । किसानहरूले मल हाल्नुपर्ने सिजनमै चरम अभाव भोगिरहेको उनको भनाइ छ ।

कर्णालीमा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले युरिया मल आपूर्ति गर्दै आएका छन् । कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयका प्रमुख टोपाराम गौतम अहिले यहाँ मात्रै नभएर देशभर मलको अभाव भएको बताउँछन् । उनले कर्णालीमा चैतदेखि नै यूरिया मल भित्रिन नसकेको बताए । उनका अनुसार धान रोपेको एक महिनापछि कर्णालीका सुर्खेत, दैलेख र कालीकोटमा मात्र झण्डै पाँच सय मेट्रिक–टन मल आवश्यक पर्छ । तर, कोरोना महामारीका कारण लकडाउन भएपछि चैतयता बाहिरबाट मल नै आएको छैन । कार्यालय प्रमुख गौतम भन्छन्, ‘रोपाइँका लागि आवश्यक पर्ने चैतअघि नै आएको मल हामीले किसानहरूलाई बाँडिसक्यौं । धान गोडमेल गर्ने समयमा मल जरुरी हो । यतिबेलै मल आएको छैन ।’ कोरोनाका कारण मल उत्पादन गर्ने उद्योग अझै पूर्ण रूपमा खोलीनसकेकाले सबै ठाउँमा मलको अभाव रहेको र तत्काल आउने अवस्था पनि नरहेको उनको भनाइ छ ।

कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी धनबहादुर कठायतले तीन/तीन सय मेट्रिक–टन यूरिया र डीएपी मल ल्याउने प्रक्रिया थालिएको जानकारी दिए । पछिल्लो समय किसानहरूबाट मलको माग बढ्दो भए पनि आपूर्ति नहँुदा समस्या भएको उनले बताए । सूचना अधिकारी कठायतका अनुसार गएको वर्ष कर्णालीमा जेठसम्मको तथ्याङ्क हेर्दा चार हजार एक सय ६४ मेट्रिक–टन मल आपूर्ति भएको थियो ।

यता स्थानीय तहहरूले किसानहरूलाई अनुदानमा दिने भनिएको मल पनि असारमै बाँडिसकेका छन् । आर्थिक वर्षको सुरुवातमै भएकाले अहिले स्थानीय तहहरूले मल आयात गर्ने कुनै कार्यक्रम नभएको बताएका छन् । वीरेन्द्रनगर नगरपालिकाले रोपाइँको समयमा किसानहरूलाई सहकारीमार्फत अनुदानमा मल उपलब्ध गराएको प्रमुुख प्रशासकीय अधिकृत टीकाराम ढकालले जनाए ।

कृषि प्राविधिकहरूका अनुसार धान बालीमा कम्तीमा तीन पटकसम्म रासायनिक मल प्रयोग गर्नुपर्छ । डीएपी, युरिया र पोटासको अनुपात मिलाएर धानमा प्रयोग गर्नुपर्ने हुन्छ । जसले उत्पादन र उत्पादकत्व बढाउँछ । धानको उत्पादन वृद्धि गर्नका लागि रोप्नुपूर्व डीएपी र पोटास खेतमा हाल्नुपर्छ ।

प्रकाशित मितिः   २७ श्रावण २०७७, मंगलवार ०६:०६