दुई हजार नाघ्यो संक्रमितको संख्या

कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या दुई हजार नाघेको छ । सोमवार सुर्खेत र दैलेखमा गरिएको आरटी–पीसीआर परीक्षणमा थप २४ जनामा संक्रमण भेटिएपछि संक्रमितको संख्या दुई हजार तीन पुगेको हो ।

प्रदेश अस्पताल सुर्खेतको प्रयोगशालामा गरिएको परीक्षणमा ६ जना र जिल्ला अस्पताल दैलेखमा गरिएको परीक्षणमा १७ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । मन्त्रालयका अनुसार सुर्खेतको वीरेन्द्रनगर–१२ का ५३ वर्षीय पुरुष, सल्यानको वनगाड कुपिण्डे नगरपालिकाका–२४ र ३२ वर्षीया दुई जना महिला, सोही नगरपालिकाका १३ वर्षीय बालक तथा २०, २५, र २४ वर्षीय पुरुषमा समेत कोरोना संक्रमण देखिएको हो ।

त्यस्तै, दैलेखको भैरवी गाउँपालिकाका १४ वर्षीय बालक, २६ र ३२ वर्षीय पुरुष, नारायण नगरपालिकाका २२, २६, २९ र ४४ वर्षीया महिला तथा सोही नगरपालिकाका १० जना पुरुषमा संक्रमण भेटिएको महाशाखा प्रमुख लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

पछिल्लो तथ्याङ्कअनुसार प्रदेशभर कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या एक हजार आठ सय ८० रहेको छ । सोमवारसम्म कर्णालीमा कोभिड–१९ का ‘एक्टिभ केस’ एक सय १७ रहेका छन् भने हालसम्म ६ जनाको मृत्यु भइसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कोभिड–१९ संक्रमितको संख्या २३ हजार तीन सय १० पुगेको छ । जसमध्ये १६ हजार चार सय ९३ जना संक्रमणमुक्त भएका छन् भने ७९ जनाको मृत्यु भएको छ । सोमवार मात्र कोरोना संक्रमणका कारण थप चार जनाको मृत्यु भएको हो ।

प्रकाशित मितिः   २७ श्रावण २०७७, मंगलवार ०६:०७