जे सपना देखेँ, त्यही पूरा भयो
डम्मरकुमारी रोकाय, बराहताल गाउँपालिका शिक्षा शाखाको प्रमुख हुन् । वीरेन्द्रनगर–८ इत्राममा बुवा हरिलाल रोकाय र आमा धनरूपा रोकायको सन्तानका रूपमा उनको जन्म भयो । करिब एक दशक शिक्षण पेसामा बिताइन् । निजामती सेवामा प्रवेश गरेपछि पनि शिक्षा क्षेत्रकै प्रशासनतर्फ कार्यरत छिन् । उनै रोकायले आफ्नो बाल्यकालको कथा हाम्रा सहकर्मी मुना हमालसँग यसरी साटिन् :
त्यो बेलाको समय अहिलेकोजस्तो थियो । परिवेश नै फरक थियो । टेलिभिजन, टेलिफोन र रेडियोको पहुँच थिएन । बत्ती र पानीको सुविधा केही मात्रामा मात्रै थियो । वीरेन्द्रनगरमा त्यति बाक्लो बस्ती पनि विस्तार भइसकेको थिएन । घर–घरमा निजी खानेपानीका धारा कसैका हुन्थेनन् । सार्वजनिक धारा हुन्थे । बाल्यकालको भन्ने बित्तिकै बिहान सार्वजनिक धारामा पालो कुुरेर पानी घरमा ल्याएपछि स्कुल गएको सम्झना आउँछ । हरेक दिन बिहान पानी ल्याएपछि खाना खाएर मात्रै स्कुल पढ्न जाने हुन्थ्यो ।
बाल्यकालमा म चञ्चले स्वभावको थिएँ । सानोमा छँदा चञ्चलता हुन्छ नै । हाम्रो चार जना साथीहरूको समूह थियो । दिदीहरूले यिनीहरूले बढी चक्चक् गर्छन् भनेर भन्नुहुन्थ्यो । त्यसले गर्दा म चञ्चले थिएँ भन्ने लाग्छ । तर हाम्रो टिम पढाइमा कमजोर थिएन । पढाइमा राम्रै थियो । चार जनाले परीक्षामा पहिलो, दोस्रो, तेस्रो र चौंथो स्थान अरुलाई आउन दिदैन्थ्यौँ ।
पढाइप्रति मेरो धेरै रुचि थियो । बुवाआमा पनि छोराछोरीलाई पढाउनुपर्छ भन्ने सोचको भएकाले पढाइप्रतिको लगाव राम्रो थियो । हामी मध्यम वर्गको परिवार । मुख्य आयस्रोत भनेको खेतीपाती थियो । उब्जाएको अन्न बेचेर नै हाम्रो आवश्यकता पूरा गर्नुहुन्थ्यो । खानलगाउन दुःख भएन । नुन, चिनी बाहेकका सबै घरमा उत्पादन हुन्थ्यो । बुवाआमाले दुःख गरेर भए पनि हामीलाई अभावमा राख्नु भएन । हाम्रा आधारभूत आवश्यकता उहाँहरूले पूरा गर्नुहुन्थ्यो । त्यसैले एक जना दिदीबाहेक हामी सबै भाइबहिनीले पढाइलाई अघि बढाउन सक्यौँ ।
त्यसबेलामा कक्षा पाँचमा पनि बोर्ड परीक्षा हुन्थ्यो । अर्को विद्यालयमा गएर परीक्षा दिनुपथ्र्यो । हामीले त्यसबेलामा निलो मेडी र सेतो सर्ट लगाउँथ्यौं । त्यो विद्यालयको पोशाक थियो । पछि विस्तारै रातो सुरुवाल र निलो कुर्ता विद्यालयको पोशाक बन्यो ।
मलाई बाल्यकालमा सरकारी जागिर नै खानुपर्छ भन्ने लाग्थ्यो । त्यसबेलामा निजामती कर्मचारीको पोशाक निलो रङको हुन्थ्यो । यस्तै लगाएर जागिर गर्न पाएको भए कस्तो हुन्थ्यो भनेर मनमा लागिरहन्थ्यो । त्यसैले मैले सानैदेखि सरकारी जागिर नै खान्छु भन्थें । बुवाआमाले छोरीछोरी पढेर आफ्नै खुट्टामा उभिएर आत्मनिर्भर बनुुन् भन्ने नै थियो ।
पढाइसँगसँगै घरका अन्य कामहरू पनि गर्नुपथ्र्यो । घरमा गाइवस्तु पालिएको हुुन्थ्यो । घाँस काट्ने, रोपाइँ गर्न जाने सबै काम गर्नुपथ्र्यो । कहिलेकाहीँ साथीहरू मिलेर खेल्ने पनि गथ्र्यौं । बाक्लो बस्ती नभएकाले चौर खुल्ला हुन्थे । वास्तवमा अहिलेका बालबालिकाभन्दा त्यसबेलामा हामी खुल्ला वातावरणमा खेलेर हुर्किन पाएका हौं भन्ने लाग्छ । अहिलेका बालबालिका हरेक सुविधाको पहुँचमा भए पनि हामीले जस्तो खुल्ला वातावरण पाएका छन् जस्तो लाग्दैन ।
स्कुल जाँदा खेल्दै जान्थ्यौं । साँझ घर फर्किंदा खेल्दै फर्किन्थ्यौँ । त्यसबेला हामीले बाह्रहाते, चुङ्गी लगायतका खेलहरू खेल्थ्यौं । जिल्ला अदालतनिर पहिले ठूलो चौर थियो । प्रायः खेल्ने ठाउँ हाम्रो त्यही नै हुन्थ्यो । कहिलेकाहीँ घर नजिकै इत्रामखोला भएकाले बुवाआमासँग लुकीलुुकी पौडी खेल्न जान्थ्यौं । थाहा पाएपछि गाली गर्नुहुन्थ्यो ।
कहिलेकाहीँ साथीहरूसँग मिलेर बद्मासी पनि गरियो । विशेष गरेर बर्खाको समयमा काँक्रा चोरेर खान्थ्यौं । आ–आफ्नै बारीको काँक्रा चोरेर खाने गरिन्थ्यो । छिमेकी अरुको बारीमा भने गएर काँक्रा चोरेनौं ।
पहिले सबैको घरमा टेलिभिजन हुन्थेनन् । त्यसबेलामा डकुमेन्ट्री देखाइन्थ्यो । कसले देखाउँथ्यो भनेर ठ्याक्कै थाहा भएन । सबैलाई पायक पर्ने गरी वीरेन्द्रनगरका विभिन्न ठाउँमा सूचना तथा जनचेतनामूलक भिडियो डकुमेन्ट्री देखाउने गरिन्थ्यो । इत्राममा शिवालय चोकमा भिडियो डकुमेन्ट्री देखाइन्थ्यो । शिवालयचोक अगाडिको चौरमा साँझ परेपछि डकुमेन्ट्री हेर्नेको ठूलो जमघट हुन्थ्यो । हामी केटाकेटीहरू भिडियो डकुुमेन्ट्री हेर्न ठाउँ रोक्नका लागि साँझ छिटो–छिटो खाना खाएर ६ बज्न बित्तिकै ओछ्याउने चकटी, बोरा लिएर गइहाल्थ्यौं । ती दिन अहिले सम्झदा रमाइलो लाग्छ ।
मैले १४ वषकै उमेरमा श्रीकृष्ण संस्कृत तथा साधारण माविबाट एसएलसी पास गरेको हुँ । त्यसपछि स्नातकोत्तरसम्मको पढाइ सुर्खेत शिक्षा क्याम्पसबाट पूरा गरें ।
बाल्यकालमा भविष्यका लागि जे सपना देखें, त्यो पूरा भयो । बाल्यकालमै सरकारी जागिर खान्छु भनेर देखेको सपना अहिले आएर पूरा गरेँ भन्ने लाग्छ । मैले २०६३ सालदेखि अस्थायी रूपमा शिक्षण पेसा सुरु गरें । २०७० सालमा शिक्षक सेवा आयोगबाट स्थायी पदमा नाम निकालँे । त्यसबेलामा मैले प्रावि, निमावि र माविको लिखित परीक्षामा तीनवटै ठाउँमा महिला र खुल्लाबाट नाम निकालेको थिएँ । स्कुलमा पढाउँदै मैले परीक्षाको तयारी गरेको थिएँ । पछि सुरुमै माविको अन्तरवार्ता भयो । माविमा नाम निस्केपछि मैले जुम्लाको चन्दनाथ माविमै पढाएँ । त्यसपछि मैले निजामती कर्मचारीतर्फ पनि तयारी गरिरहेको थिएँ । बिहानदेखि साँझ चार बजेसम्म विद्यालयमै पढाउनुपथ्र्यों । त्यसपछिको समयलाई मैले व्यवस्थापन गरेर आयोगको तयारी गरें । २०७३ सालमा मैले शाखा अधिकृतमा नाम निकालँे । जिल्ला शिक्षा कार्यालयमा काम गरेपछि समायोजन भयो । अहिले म बराहताल गाउँपालिका शिक्षा शाखाको प्रमुुखका रूपमा कार्यरत छु ।
मुना हमाल ।