संवाद

‘साइकल चलाउनु मेरो लत बनिसक्यो’


सुर्खेतका स्थायी बासिन्दा प्रकाश लामिछाने कामको शिलशिलामा काठमाडौंमा छन् । उनी साइकलका सौखिन् हुन् । साइकल नै उनको प्रमुख सवारी साधन हो भन्दा फरक पर्दैन । एकाध पटक स्कुटर चलाएबाहेक उनले अरु कुनै सवारी साधन चलाएका छैनन् । बरु फेरि–फेरि साइकल नै चलाउँछन् । पछिल्लो ७÷८ वर्षदेखि नियमित साइकिलिङ्ग गरिरहेका सञ्चारकर्मी लामिछानेसँग गरिएको साइकल संवाद :

  • कहिलेदेखि साइकल चलाउन थाल्नुभयो ?

बचपनदेखि नै हो भन्दा हुन्छ । मेरो दाइ (फुपुको छोरा जगत कोइराला)सँग साइकल थियो । त्यो देखेर नै मलाई साइकलप्रतिको मोह जागेको हो । दाइसँगै साइकलको पछाडि क्यारियरमा बसेर निकै यात्रा गरेँ ।

जब कक्षा पाँचदेखि म वीरेन्द्रनगरको अमरज्योति माध्यमिक विद्यालय नेवारेमा पढ्न थालेँ, त्यहाँ उपत्यकाका विभिन्न ठाउँहरूबाट आउने विद्यार्थीहरूले साइकल लिएर आउजाउ गर्थे । त्यो देखेर मलाई पनि साइकल सिक्न, किन्न र चलाउन खुबै रहर लाग्थ्यो तर त्यो रहर कसरी पूरा गर्ने भन्ने कुनै आइडिया थिएन । हुन त बुवासँग भनेको भए सायद किनिदिनु पनि हुन्थ्यो होला तर मैले न यो रहरबारे परिवारमा कसैलाई भन्न सकेँ न कसैले मलाई यस्तो रहर होला भनेर सोधे या सोचे नै ।

पकेटमा अलेली दाम हुँदा लुकिछिपी घण्टाको पाँच रूपैयाँ तिरेर सुर्खेतको घण्टाघर आसपासका चौरहरूमा कहिलेकाहीँ साइकल चलाउने कोशिस गरियो तर त्यो पर्याप्त भने भएन । तथापि केही मात्रामा भए पनि साइकल चलाउने रहर त्यतिबेला नै पूरा गरियो ।

  • पहिलो पटक साइकल चढ्दाको अनुभूति सम्झनुहुन्छ ?

पहिलोपल्ट साइकल चढ्दाको अनुभूति खासै सुखद छैन । एकजना नातेदार दाइले मलाई साइकलको अगाडिको डण्डीमा बसालेर चलाएको हुनाले निकै सास्ती महसुस गरेको थिएँ । त्यतिबेला ‘यस्तो जैरे साधन पनि कोही चढ्छ ?’ भनेजस्तो भएको थियो । तर पहिलो पटक आफ्नै साइकल किन्दाको अनुभूति भने कहिल्यै नबिर्सिने खालको छ ।

एसएलसी दिएर नतिजाको पखाईमा बसेको थिएँ । गाउँकै खुमप्रसाद अंकल जसले पसलमा सामान ओसार्न साइकल किनेका थिए । उनकै साइकल लगातार १० दिन चलाएपछि म साइकल चलाउन पोख्तजस्तै भएको थिएँ । तर अरुको मागेको साइकल चलाएर कहिले धित मर्नु ? आफ्नो पनि साइकल भैदिए त क्या कुदाउँथेँ भन्ने मनमा लागिरहने !

एसएलसी उत्तीर्ण भए लगत्तै मैले चनौटेमा रहेको एउटा निजी स्कुलमा शिक्षकको जागिर गर्न थालेँ र त्यसबाट आएको पहिलो महिनाको तलब २५०० मा आमाले दिनुभएको थप ७०० रूपैयाँ सहित ३२०० रूपैयाँमा हिरो साइकल किनेँ ।

साइकल किनेपछि सरासर शिक्षा क्याम्पस मास्थिरको खेलकुद मैदानमा पुगेँ । दिनभर त्यहीँ मैदानमा चलाएँ र घर गएँ । त्यो रात खुट्टा दुखेर सुत्नै गाह्रो भएको थियो । भोलिपल्ट बिहान साइकल पूजा गरेको पनि याद छ । त्यसपछि त्यो साइकलमा म बिहान ६ बजे आफू पढ्न क्याम्पस जाने र क्याम्पसबाटै १० बजे स्कुल पढाउन आइपुग्थें । स्कुल छुटेपछि घर आउँथें ।

म वीरेन्द्रनगर बहुमुखी क्याम्पसमा पढ्थेँ, क्याम्पसमा यति धेरै साइकल हुन्थे कि कहिलेकाहीँ त आफ्नो साइकल खोज्न र पत्ता लगाउन नै आधा घण्टा लाग्ने । सुरुसुरुमा नयाँ साइकल हुँदा चिन्ता पनि त्यत्तिकै लाग्ने, कसैले कोरिदियो कि, घण्टी चोरिदियो कि, आदि–आदि । त्यो साइकल मैले लगभग दुई वर्ष मात्र चलाउन पाएँ हुँला । बीचमै विभिन्न कारणले गर्दा म आफू बसेको ठाउँबाट पलायन हुने स्थिति आयो र उक्त साइकल पनि मेरो जिन्दगीबाट बिरानो भयो ।

  • साइकल चढ्नु आवश्यकता, रहर या बाध्यता ?

मेरो जीवनको सुरुमा रहरले साइकल सिकेँ । किनेको भोलिपल्टैबाट त्यो साइकल चलाउनु बाध्यता जस्तै भयो । बिहान ६ बजे कलेज लाग्थ्यो । कलेज पढ्न म करैखोलाबाट हालको मध्यपश्चिमाञ्चल विश्वविद्यालय भएको ठाउँ, लगभग ६ साढे ६ किलोमिटर दिनहुँ हिँडेर जान्थेँ । त्यसका लागि कम्तीमा पनि बिहान ५ बजे घरबाट हिँडिसक्नुपथ्र्यो । ५ बजे हिँड्न ४ बजे उठ्नै प¥यो किनकी उठेर हातमुख धोइ खाजा खाएर लुगा लगाउँदा १ घण्टा बितिहाल्थ्यो । गर्मी दिनमा त ५ बजे उज्यालो हुन्छ तर जाडो दिनमा ५ बजे त अँध्यारो नै हुन्छ । हाम्रो सुर्खेतमा काठमाडौँका कलेजमा जस्तो जाडो बिदा हुने चलन थिएन । अनि साढे ९ बजे कलेज सकिएपछि पौने १० बजे त चनौटे स्कुलमा पुग्नुपरिहाल्यो । त्यसैले रहरमा किनेको साइकल चलाउनैपर्ने बाध्यता तत्कालै आयो । बीचमा म पलायन भएर भारत पुगें । त्यहाँ पनि आफू बस्ने ठाउँ र जागिर खाने ठाउँ लगभग १० किमीको दूरीमा थियो । त्यहाँ पनि साइकल चलाउनै पर्ने बाध्यता आयो । बाध्यताले साइकल चलाउने क्रममै त्यतिबेला म लगभग १५÷२० वटा कुकुरहरूको सामूहिक आक्रमणमा परेको समेत छु ।

राति १ बजेतिर कामबाट फर्किने क्रममा खै किन हो कुकुरहरूले झम्टेर धन्नै सिध्याएका थिए । रेबिजविरुद्धको १४ वटा सुई नाइटो वरपर लगाएर डेढ महिना रेष्ट गर्नुपर्दाको पीडा त मैले कसरी भुलुँला र ! पछि कारण खोतल्दा मैले चलाएको लेडिज साइकलको अगाडि रहेको बाँस्केटमा पाउभाजी थियो सायद त्यसकै बासनाले त्यो खानेकुरा खोस्न मलाई त्यसरी आक्रमण गरेका हुन् कि झैँ पनि लाग्यो । खैर जे भए पनि साइकल चलाउँदाको त्यो घटना पनि स्मरणमा सदैव रहनेछ ।

  • अहिले महङ्गा बाइक र कार किन्नेहरूको संख्या बढ्दो छ, तपाईं भने फेरि–फेरि साइकल नै चढ्नुहुन्छ किन ?

सुर्खेतबाट काठमाडौं आएको केही समयपछि मैले इक्वेल एक्सेसमा काम सुरु गरें । त्यहाँ साइकिलिङ्गको रहर गर्ने साथीहरू हुनुहुन्थ्यो । कामको शिलशिलामा फिल्डमा जाँदा समेत हामी भाडामा साइकल लिएर कुदाउँथ्यौँ । त्यसैक्रममा नेपालगन्ज फिल्ड आएको बेला झोकैझोकमा फिल्ड यात्रामै साइकल किनियो । त्यो चाहिँ माउन्टेन बाइक थियो । मैले किनेको पहिलो माउन्टेन बाइक त्यही हो । मेरा लागि त्यो त्यतिबेलासम्मकै उच्च मूल्यको साइकल थियो । साथीहरूसँग पैसा सापट मागेर किनेको ।

त्यो साइकल किन्दा समेत रोचक घटना भएको छ । पसलमा कहिल्यै नबस्ने दाजुचाहिँले साइकलको मूल्य नै थाहा नपाइकन हामीलाई सस्तो दाम बताए । पछि भाइ साउजी आएर बताए अनुसार त्यसको मूल्य ३५ हजार रहेछ । अनि हामी समूहमै भएकोले दाजुले एउटा रेट भन्ने, भाइले अर्कै रेट भनेर ग्राहक झुक्क्याउने भनेर लगभग ३ घण्टा कचकच गरेपछि भाइ साहुजी झोक्किएर दाजुले भनेकै सस्तो दाममा घटेर ‘बोलेको बचन राखिदिएँ’ भनेर सस्तो मूल्यमा दिए । त्यो साइकल मैले काठमाडौँमा केही वर्ष चलाएँ ।

यसरी नजानिँदो किसिमले साइकल मेरो लत बनिसकेको रहेछ । मैले साइकललाई बारबार चलाउन छोड्दा पनि घुमिफिरी म साइकलमै पुग्दोरहेछु । थाहा छैन यो किन र कसरी बनिरहेको छ । कतिसम्म भने मैले सबैभन्दा धेरै चलाएको सवारीसाधन नै साइकल हो । एकाध पटक स्कुटरबाहेक अन्य सवारी चलाएको छैन ।

  • एउटा साइकल किन्न कति रूपैयाँसम्म लगानी गर्नुभएको छ ?

हालसालै मैले एउटा साइकल किने जेमिस कम्पनीको डुराङ्गो एक्सपर्ट भन्ने मोडल । जुन साइकलको मूल्य लगभग ६० हजार हो । हालसम्म मैले किनेको सबैभन्दा महङ्गो साइकल यही नै हो ।

  • साइकल पहिले कमजोर आर्थिक अवस्था भएकाहरूको निजी सवारी साधनको रूपमा पनि लिने गरिन्थ्यो, पछिल्लो समय यो सम्पन्नहरूको सोख बन्यो पनि भनिन्छ । तपाईं मान्नुहुन्छ ?

आवश्यकता र सौख भन्ने कुरा व्यक्ति आफैले आफ्नो गच्छे अनुसार निर्धारण गर्ने कुरा हो । टिभी आवश्यकता पनि हो सौख पनि हो । २१ इन्चीको टिभी आवश्यकता होला भने ५५ इन्चीको अल्ट्रा एचडी टिभी सौख होला । त्यो चाहिँ व्यक्तिले आफ्नो क्रयशक्ति अनुसार निर्णय गर्ने कुरा हो अरुले दखलअन्दाजी गरेर सोख पालेको, स्वाङ पारेको भन्नु बेकार कुरा हो । साइकलमा पनि त्यही नै हो । गाडी चढ्न सक्ने हैसियतको मान्छे साइकल चढ्छु र वातावरणमैत्री बन्छु, स्वास्थ्यप्रति सचेत हुन्छु भन्छ भने उसले आफूलाई सहज हुने खालको साइकल किन्नुमा जति पो खर्च गरोस्, त्यो उसको निजी कुरा हो, उसको क्रयशक्तिको कुरा हो । यसमा अरुले धेरै चासो दिनु भनेको नदुखेको टाउको डोरी लगाएर दुखाए जस्तै हो ।

  • फुर्सदको समयमा शारीरिक अभ्यासका लागि चलाउने साधनको रूपमा साइकलको प्रयोग बढ्दैछ, यसलाई दैनिक जीवनयापनकै हिस्सा बनाउन सकिन्छ ?

एकदम सकिन्छ । हामी नेपालीहरू विदेशमा जस्तो ३/४ घण्टाको गाडी या मोटरसाइकल यात्रा गरेर २÷३ सय किमी टाढाको सहरमा जागिर खान या काम गर्न जानेमा पर्दैनौँ । हाम्रो भूबनावट र बसोबासका हिसाबले अधिकतम ३० किमीको दूरीमा हामीले काम गरिरहेका हुन्छौं । दिनहुँ यतिको दूरी भनेको साइकलमा आरामले यात्रा गर्न सकिन्छ । हामीहरू हरेक शनिवार समूहमा साइकिलिङ्ग गर्छौं । त्यसमा कतै नरोकिइ यात्रा गर्ने हो भने ४ घण्टामा ७० किमी आरामले गुडिने रहेछ, त्यो पनि उकालो, ओरालो, पिच, कच्ची, हिलो मैलो, खाल्डाखुल्डी परेको बाटो समेत जोडेर । यस हिसाबले हाम्रा यी ४० किमीसम्म रिङरोड हुने अबका सहरहरूमा साइकललाई दैनिक जीवनयापनको हिस्सा बनाउनु कुनै पहाड फोर्ने काम हैन, एकदम सजिलो छ ।

  • छिटो–छरितोका लागि साइकल प्रभावकारी हुँदैन पनि भनिन्छ नि ?

त्यो भनाइ मात्र हो । बढ्दो मोटरसाइकल, रिक्सा र ४ पाङ्ग्रे सवारीको कारण उत्पन्न जाम छिचोल्ने कुरामा साइकल झन् छरितो हुने रहेछ । म हाल काठमाडौंस्थित मेरो घरबाट ६ किमीको दूरीमा रहेको मेरो कार्यालयमा आउजाउ गर्दा लगभग स्कुटरले लिने समयमै पुग्दो रहेछु । अब भन्नुस् कसरी छिटो–छरितो भएन ?

  • सहरी क्षेत्रमा अन्य सवारी साधनलाई साइकलले विस्थापित गर्नुपर्ने कुरा पनि उठ्ने गरेको छ । त्यसो गर्न सम्भव होला ?

गर्ने कुशल नेतृत्व भए कसो सम्भव नहोला ? सहरलाई वातावरणमैत्री, प्रदूषणमुक्त बनाउने, सहरवासीलाई स्वस्थ बनाउने यो भन्दा सुलभ अर्को कुनै तरिका बताइदेओस् न कसैले । त्यतिबेला यसलाई सम्भव छैन भनेर मानौंला ।

  • नियमित साइकिलिङ्ग गर्दा हुने फाइदा के हो ?

भनिसकें यो पर्यावरणमैत्री छ, यसले कसैलाई हानी गर्दैन । साइकलले ठोक्किएर कुहिनो दुख्ला तर ठूलो दुर्घटना हुँदैन । साइकल चलाउनेको रक्तचापदेखि तौल समेत सन्तुलित हुने कुरा भनिरहनु नपर्ला । सहरलाई जाममुक्त गर्न पनि यो भन्दा राम्रो कुन पो तरिका होला र । यस्ता व्यक्तिगत तथा सामाजिक फाइदा धेरै छन् ।

  • कर्णाली प्रदेशका सहरी क्षेत्रमा साइकल लेन बनाउने चर्चा चल्दै आएको छ । यो कति आवश्यक ठान्नुहन्छ ?

कर्णाली प्रदेशका मुख्य–मुख्य सहरहरू सबै साइकल सिटी बनाउने हो भने बन्छ । बजारको भित्री भागमा साइकल बाहेक अरु सवारी छिर्नै नदिए पनि घाटा लाग्दैन । त्यो सम्भव छैन भने साइकल लेन मात्र बनाइदिने हो र लेन अनुशासन सबैले पालना गर्ने हो भने न त दुर्घटना हुन्छ न त सवारी जाम नै । यो एकदम आवश्यक कुरा हो । अहिले त साइकलवालालाई बाटो दिने त परैको कुरा हेप्ने चलन मात्रै छ ।

  • अन्तिममा, थप केही भन्न चाहनुहुन्छ ?

साइकल महङ्गो सौख होइन । तपार्इंले आफ्नो दैनिकी र कामको प्रकृति अनुसारको साइकल छनौट गर्न सक्नुहुन्छ । हप्ताका ६ दिन अरु सवारी साधन नचढी काम नबन्ने पेसामा हुनुहुन्छ भने माउन्टेन बाइक किनेर शनिवार अलिक लामो दूरी र अफरोड जान सक्नुहुन्छ किनकी तपार्इंलाई बाँकी ६ दिनको कोटा समेत पुग्नेगरी साइकल चलाउन मन लाग्ला र त्यस्तो ठाउँमा साधारण साइकलहरू जान नसक्लान् । नत्र तपाईंलाई सम्भव छ र ५–६ किमीको समथर बाटोको दूरीमा हुने कार्यस्थलमा दिनहुँ साइकल चलाएर आउजाउ गर्न मिल्ने स्थिति छ भने सामान्य साइकल किनेर त्यसैलाई दैनिकी बनाउँदा पनि हुन्छ । तसर्थ सकेसम्म साइकल चढ्नुस्, सक्नुहुन्न भने अरुले साइकल चढ्दा टाउको दुखाउन र खिसिटिउरी गर्न छाड्नुस् । मान्छे आफ्नो रुचिको जिन्दगी जिउन र रुचिको सवारी साधनमा यात्रा गर्न स्वतन्त्र छ, त्यसले तपार्इंलाई सिधै हानी नगरुञ्जेल तपाईंले कचकच गर्नु भनेको अरुको स्वतन्त्रता खोस्नु मात्रै हो ।

प्रकाशित मितिः   २४ श्रावण २०७७, शनिबार ०६:०६