वृक्षारोपणको फेसन, संरक्षणमा ध्यान छैन
सुर्खेत: वर्षायामलाई वृक्षारोपण गर्ने समयका रूपमा लिइन्छ । हरेक वर्षजसो निजी, सरकारी तथा गैरसरकारी संघ–संस्था र निकायलाई यो सिजनमा बिरुवा लगाउने चटारो हुन्छ । विभिन्न दिवसको अवसर पारेर तथा अभियानकै रूपमा समेत वृक्षारोपण गरिँदै आएको छ ।
पछिल्लो समय बिरुवा रोप्ने काम फेसनकै रूपमा देखा परेको छ । प्रत्येक वर्ष वन डिभिजन कार्यालयहरूले वृक्षारोपणका लागि लाखौं बिरुवा वितरण गर्छन् । ती बिरुवा वनक्षेत्रमा रोपिन्छ पनि । तर, यसरी रोपिने बिरुवा कति बाँचे र कति मरे भन्ने एकिन तथ्याङ्क भने कुनै निकायले राख्दैनन् ।
जोसुकैले वृक्षारोपण गर्ने हुँदा न लगाउने तरिका मिल्छ, न त लगाएका बिरुवाको अवस्थाबारे हेरफेर गरिन्छ । जसका कारण बर्सेनी रोपिने लाखौं बिरुवामध्ये मुस्किलले आधा मात्रै जोगिन्छन् । बिरुवा रोप्नेहरू बढ्दै गए पनि संरक्षणमा भने कसैको ध्यान पुगेको पाइँदैन । हरेक वर्ष एउटै स्थानमा वृक्षारोपण गरिनु र त्यहाँ बुट्यान क्षेत्र नबढ्नुले यसरी गरिने वृक्षारोपण औचित्यहीन भएको पुष्टि गर्छ ।
डिभिजन वन कार्यालय सुर्खेतले यो पटक मात्रै दुई लाख १३ हजार दुई सय १० बिरुवा वितरण गरेको छ । कार्यालय प्रमुख गोविन्दप्रसाद दहालका अनुसार यी बिरुवा रोप्नका निजी तथा सार्वजनिक निकायहरूलाई वितरण गरिएका हुन् । वन उपभोक्ता समितिहरूलाई एक लाख १५ हजार, निजी जग्गा तथा फर्मलाई ९३ हजार दुई सय १० र राष्ट्रिय वनलाई पाँच हजार विभिन्न जातका बिरुवा दिइएको हो । जसमध्ये जडिबुटीका एक लाख, फलफूलका ३३ हजार दुई सय १० र ८० हजार अन्य प्रजातिका बिरुवा वितरण गरिएको छ ।
कार्यालय प्रमुख दहालले वृक्षारोपण गरिएकामध्ये ७० प्रतिशत बिरुवा बाँचे पनि ठूलो उपलब्धि हुने बताए । ‘ठ्याक्कै यति बिरुवा बाँचे भन्ने तथ्याङ्क निकाल्न गाह्रो भए पनि रोपेका बिरुवामध्ये आधा बिरुवा पनि मुस्किलले बाँच्ने गरेको पाइएको उनले बताए । उनी भन्छन्, ‘जथाभावी रूपमा वृक्षारोपण गरिँदा बिरुवा नबाँच्ने, जलवायु, माटो र प्राविधिक कुरा नमिल्ने लगायतका समस्याहरू देखिने गरेका छन् ।’ वन विज्ञहरूका अनुसार बिरुवा संरक्षणमा उमार्दादेखि नै प्राविधिक कुरामा ध्यान दिनुपर्छ । उपयुक्त स्थान, रोप्ने तरिका र वस्तुभाउबाट समेत बचाउनुपर्ने हुन्छ । यसको लागि उपभोक्ता र आम नागरिक समेत सचेत हुनुपर्ने उनीहरू बताउँछन् ।
सुदूरपश्चिम प्रदेशका वन निर्देशक हेमराज विष्टले वृक्षारोपण गरेका बिरुवाहरू नबाँच्ने धेरै कारण रहेको औंल्याए । ‘कलिलो बिरुवा हराभरा हुन समय लाग्छ,’ उनले भने ‘खडेरी, माटो, घाम, वन्यजन्तु, घरपालुवा वस्तुभाउ र प्राविधिक कुरा नमिल्दा समेत बिरुवा सबै बाँच्दैनन् ।’ थुप्रै क्षेत्रमा वृक्षारोपण गरिने भए पनि वन डढेलोले समेत बिरुवा नाश हुने उनले बताए । बिरुवा रोप्दा बनाइने खाल्डो र रोपेपछि मल र गोडमेलमा समेत ध्यान पु¥याउँदा मात्र अधिकांश बिरुवा बचाउन सकिने उनको भनाइ छ ।
लायन्स क्लब सुर्खेतले केही वर्षयता यो सिजनमा हरेक पटक पाँच सय भन्दा बढी बिरुवा रोप्ने गरेको छ । क्लबका जोन चियर पर्सन भद्र भण्डारीले रोपिएका कति बिरुवा बाँचे भन्ने एकिन जानकारी भने नराख्ने गरेको बताए । उनले भन्छन् ‘मल, पानी र गोडमेल तथा चरीचरनमा समेत रोक लगाउन सकेको खण्डमा अधिकांश बिरुवा बचाउन सकिन्छ ।’ वृक्षारोपण गरिएका बिरुवा संरक्षणमा सरकारी क्षेत्रबाट पहल हुनुपर्ने उनले बताए । लायन्स क्लबले यो वर्ष मात्रै वीरेन्द्रनगरस्थित भैरम सामुदायिक वनमा दुई सय, भेरीगंगाको छिन्चुमा एक सय बिरुवा रोपिसकेको र अझै बिरुवा रोप्ने तयारीमा रहेको भण्डारीले बताए ।
यस्तै, काँक्रेविहार संरक्षण समितिले यो पटक काँक्रेविहार क्षेत्रमा दुई हजार बिरुवा रोपेको अध्यक्ष तारा रास्कोटीले जानकारी दिइन् । उनले यसैगरी हरेक वर्ष लगाएका बिरुवा आधा पनि नबाँच्ने गरेको बताइन् । रोपेका बिरुवाको संरक्षणमा भने सम्बन्धित निकायहरूको ध्यान नपुगेको उनले बताउँछिन् । त्यसका लागि स्थानीय नागरिक र सम्बन्धित सरकारी निकायसमेत जिम्मेवार हुनुपर्ने उनको भनाइ छ ।
प्रकाशित मितिः २४ श्रावण २०७७, शनिबार ०६:०३
सीता वली ।