कर्णालीमा चार सय ७७ हेक्टरमा सिँचाइ सुविधा विस्तार

सुर्खेत: गएको आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारले प्रदेशभर दुई सय ४९ वटा सिँचाइ कुलो निर्माण गरेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७६÷७७ मा प्रदेशका विभिन्न जिल्लामा सिँचाइका लागि कुलो निर्माण गरिएको हो । कृषि सिँचाइ कुलो निर्माणपछि थप चार सय ७७ हेक्टरमा सिँचाइ सुविधा विस्तार भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सूचना अधिकारी धनबहादुर कठायतले गत आर्थिक वर्षमा दुई सय ५४ कृषि सिँचाइ कुलो निर्माण गर्ने लक्ष्यअनुसार दुई सय ४९ वटा निर्माण सम्पन्न भएको जनाए । सिँचाइ कुलो निर्माणपछि २८ हजार चार सय पाँच जना किसान प्रत्यक्ष लाभान्वित भएको मन्त्रालयको दावी छ । प्रदेशमा दुई लाख १६ हजार आठ सय ८० हेक्टर जमिनमा खेती हुन्छ । त्यसमध्ये प्रदेशमा अहिलेसम्म कूल सिंचित क्षेत्र ६८ हजार तीन सय ३५ हेक्टर मात्र छ ।

यस्तै गएको आर्थिक वर्षमा प्रदेश सरकारले एक सय ४५ कृषि सडक निर्माण गरेको छ । एक सय ४८ कृषि सडक निर्माण गर्ने मन्त्रालयको लक्ष्य थियो । कृषि सडक विस्तार भएपछि १३ हजार एक सय ८४ किसान प्रत्यक्ष लाभान्वित भएका छन् । सूचना अधिकारी कठायतले कृषि सडक निर्माण सम्पन्न गरेर एक सय ८९ किलोमिटर सडकको थप काम गरिएको बताए । मन्त्रालयले गएको वर्ष मात्रै ५१ दशमलव ३७ किलोमिटर कृषि सडक मर्मत गरेको छ ।

गएको वर्षमा प्रदेशका अन्य मन्त्रालयभन्दा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले बढी बजेट खर्च गरेको थियो । उक्त मन्त्रालयले कर्णालीका अरु मन्त्रालय मात्र होइन अन्य प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयहरूलाई पूँजीगत खर्चमा जितेको छ । मन्त्रालयले ७७ दशमलव २५ प्रतिशत बजेट खर्च गरेको हो । जुन अन्य प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयहरूले गरेको खर्चभन्दा बढी होे ।

प्रकाशित मितिः   २४ श्रावण २०७७, शनिबार ०६:०२