कोरोनाबाट मृत्यु हुने ७३ पुगे

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट शुक्रवार साँझसम्म नेपालमा मृत्यु हुनेको संख्या ७३ पुगेको छ । शुक्रवार मात्र थप पाँच जनाको मृत्यु भएको हो । पाटन अस्पतालमा दुई, धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा, विराटनगरको कोशी अस्पताल र वीरगञ्जको गण्डक अस्पतालमा एक÷एक जनाको मृत्यु भएको हो ।

स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विवरणमा ७० जनाको मृत्यु भएको उल्लेख छ । उक्त तथ्यांकमा शुक्रवार नै वीरगञ्ज, विराटनगर र पाटन अस्पतालमा भएको रूपन्देही सुनौलीकी महिलाको मृत्यु समावेश छैन ।

पछिल्लो २४ घण्टामा थप चार सय ६४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा सात हजार नौ सय २६ नमुना परीक्षण गर्दा उनीहरूमा संक्रमण पुष्टि भएको छ ।

यससँगै कुल संक्रमितको संख्या २२ हजार दुई १४ पुगेको छ । उनीहरूमध्ये ७३ जनाको मृत्यु भएको छ भने १५ हजार आठ सय १४ जना निको भएका छन् ।यसैबीच कर्णाली प्रदेशमा थप पाँच जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बिहीवार कालीकोटको खाँडाचक्र नगरपालिकाका २२ वर्षीया एक महिला र दुई पुरुष तथा सान्नी त्रिवेणी नगरपालिकाका तीस वर्षीय एक पुरुषमा संक्रमण देखिएको हो ।

त्यस्तै, सुर्खेतमा गरिएको आरटी–पीसीआर परीक्षणमा रामेछापका एक जना पुरुषमा पनि संक्रमण भेटिएको प्रदेश स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या एक हजार नौ सय ६५ पुगेको छ ।

बिहीवार प्रदेशभरका विभिन्न आइसोलेसनबाट ५५ जना संक्रमित संक्रमणमुक्त भएका छन् । हालसम्म प्रदेशमा कोरोना संक्रमणबाट मुक्त हुनेहरूको संख्या एक हजार आठ सय ६३ पुगेको छ । महाशाखाको पछिल्लो तथ्याङ्क अनुसार प्रदेशभर कोरोनाका सक्रिय संक्रमित ९६ जना मात्र छन् । कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मितिः   २४ श्रावण २०७७, शनिबार ०६:०१