बुवाको स्मृतिमा एक लाख सहयोग

सुर्खेत: पत्रकार रमेश शाहीले आफ्ना बुवा स्वर्गीय दलबहादुर शाहीको स्मृतिमा मृगौलापीडित व्यक्तिहरूलाई आर्थिक सहयोग गरेका छन् । शाही र उनको परिवारले तीन जना मृगौलापीडित तथा एक सामाजिक संस्थालाई नगद एक लाख रूपैयाँ प्रदान गरेको हो ।

शुक्रवार पत्रकार शाही र उनकी आमा सरस्वती शाहीले तीनजना मृगौला पीडितलाई ३०–३० हजार रूपैयाँका दरले र वीरेन्द्रनगर–९ स्थित साझा घर नेपाललाई १० हजार रूपैयाँ हस्तान्तरण गरेका छन् । सहयोग पाउनेमा गुर्भाकोट नगरपालिका–५ का युवराज गाहा, वीरेन्द्रनगर–२ का रामबहादुर खत्री र वीरेन्द्रनगरकै प्रभात पन्त रहेका छन् । उनीहरू तीनै जना मृगौलामा समस्या भएपछि डायलासिस गराइरहेका बिरामी हुन् ।

आर्थिक अभावको कारण गाहाले डायलासिस समेत गर्न सकेका थिएनन् । उनले वीरेन्द्रनगर जाने–आउने भाडा नहुँदा बिहीवार हुने डायलासिस समेत नगरेको बताए । शाहीले आर्थिक सहयोग गर्ने भएपछि उनी शुक्रवार वीरेन्द्रनगर आएका थिए । साथै शाहीले बुवाको स्मृतिमा आगामी दिनमा पनि विपन्नहरूलाई सहयोग गरिने बताए । उनका बुवा दलबहादुरको गत वर्ष क्यान्सरका कारण निधन भएको थियो ।