तत्काल लकडाउन नहुने

काठमाडौं : कोरोना संक्रमितको संख्या बढेपछि पुनः देशभर लकडाउन हुने चर्चा भए पनि तत्काल नहुने भएको छ । सरकारले तत्काल देशभर लकडाउन नहुने बताएको हो ।

अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले तत्काल देशभर लकडाउन नहुने स्पष्ट पारेका हुन् । सरकारका प्रवक्ता समेत रहेका मन्त्री खतिवडाले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा देशभर एकैसाथ लकडाउन गर्ने मनस्थितिमा सरकार नरहेको बताएका हुन् । उनले जोखिम भएका स्थानमा स्थानीय सरकार तथा जिल्लास्तरबाट सेवाहरू रोकिने अथवा लकडाउन हुन सक्ने बताउँदै देशभर एकैसाथ लकडाउन हुने स्थिति नरहेको स्पष्ट पारे ।

खतिवडाले त्रसित भएर पूर्ण रूपमा यसअघि जस्तै लकडाउन हुन्छ भन्ने मनस्थिति कसैले पनि नबनाउन आग्रह गरेका छन् । उनले अहिले पनि दुई दर्जनभन्दा बढी स्थानीय तहहरूमा लकडाउन गरिएको उल्लेख गर्दै संक्रमणको जोखिम भएका ठाउँमा मात्रै लकडाउन हुने बताएका छन् । काठमाडौं उपत्यकाभित्रको बढ्दो संक्रमण जोखिम र त्यो पनि सरकारको मुख्य कार्यालयकै ठाउँमा संक्रमणको जोखिम भएको हुनाले केही कदमहरू चाल्न सुरु गरिएको उनले बताए ।

जनजीवनमा अप्ठेरो परे पनि केही दिनका लागि सार्वजनिक सेवा लिने कुरामा हतार नगर्न पनि मन्त्री खतिवडाले आग्रह गरेका छन् । सरकारले कोरोना नियन्त्रणका लागि प्रतिकार्यत्मक र उपचारात्मक विधि अपनाएर काम गरिरहेको र संक्रमितलाई भेन्टिलेटरसम्म पुग्नुपर्ने अवस्था आउन नदिने बताए । त्यसका लागि सरकारले उपचारका संयन्त्र, यन्त्र उपकरण लगायतको व्यवस्था गरिरहेको बताए । क्वारेन्टाइनहरू खाली हुँदै जाने र आइसोलेसनका बेडहरू बढ्दै जाने स्थिति भएकाले सोही अनुसारको व्यवस्था गर्नुपर्ने आवश्यकता अनुसार काम भइरहेको स्पष्ट पारे । आवश्यकता अनुसार कतिपय ठाउँमा आईसीयू कक्षको थप विस्तार गर्दै जाने रणनीतिमा सरकार रहेको बताए ।

प्रकाशित मितिः   २३ श्रावण २०७७, शुक्रबार ०६:०३