यसरी सल्कदैछ संक्रमण

देशका अन्य ६ वटा प्रदेशमा संक्रमण फैलिसक्दा गत जेठ पहिलो सातासम्म कर्णाली कोरोना भाइरस ‐कोभिड–१९) संक्रमणबाट जोगिएकै थियो । यहाँ एक जनामा पनि संक्रमण भेटिएको थिएन । लकडाउन हुनुपूर्व चैत ७ गते नै कर्णाली सरकारले प्रदेश फर्कन चाहनेलाई १० दिनभित्र फर्किसक्न अनुरोध गरिसकेको थियो । सोही अनुसार स्वदेश तथा विदेशबाट हजारौंको संख्यामा नागरिकहरू कर्णाली भित्रिए । उनीहरूका लागि क्वारेन्टाइन र चेकजाँचको प्रबन्ध समेत गरिएको थियो । उतिबेला फर्कने अधिकांशको सीमा–नाकामै परीक्षण समेत गरियो । क्वारेन्टाइन राखियो । तीमध्ये कसैमा पनि कोरोना संक्रमण देखिएन ।

त्यतिञ्जेल कोभिड–१९ को संक्रमण विश्वभर फैलिँदै थियो । भारतका केही सहरहरूमा पनि संक्रमित भेटिन थालेका थिए । कर्णालीका अधिकांश युवाहरू मजदुरी गर्न भारतका विभिन्न सहरमा जाने हुँदा त्यहाँबाट फर्किनेले संक्रमण ल्याउने जोखिम उच्च थियो । तर, लकडाउन अघि नै फर्किएका कसैमा पनि संक्रमण पुष्टि भइसकेको भने थिएन ।

सरकारले चैत ११ गते लकडाउन ग¥यो । नेपाल–भारत नाकामा आइपुगेका कर्णालीवासी सीमावर्ती क्षेत्रमा अलपत्र परे । त्यतिबेला भारतमा पनि लकडाउन भइसकेको थियो । कोरोनाका कारण त्यहाँ रोजगारी गुमाएकाहरू कर्णाली फर्कन चाहन्थे । केही दिनपछि भारतले सेल सेवा सुरु ग¥यो । हजारौं नागरिक स्वदेश फर्कन सीमा क्षेत्रसम्म आइपुगे । उनीहरूलाई प्रदेश र स्थानीय सरकारले यातायातका साधन पठाएर धमाधम प्रदेश भिœयाए । तीमध्ये अधिकांशलाई न क्वारेन्टाइनमा बसाइँयो न त चेकजाँच नै गरियो । सिधै गाउँ–गाउँमा पठाउने काम गरियो ।

दैनिक हजारौं संख्यामा प्रदेश भित्रिनेको चापले सरकारले गरेको तयारीले पुगेन । यति ठूलो संख्याको व्यवस्थापनका लागि तयारी पर्याप्त थिएन । कर्णाली सरकारले सुरुमा भारतबाट बढीमा झण्डै २० हजार नागरिक मात्र फर्कन सक्ने आँकलन गरेको थियो । तर, एक सातामै १५ हजार नागरिकहरू भित्रिएपछि सरकारले उनीहरूका लागि आवश्यक क्वारेन्टाइन र परीक्षणको व्यवस्थापन गर्न सकेन । सरकारी तथ्याङ्क अनुसार लकडाउन यता मात्रै करिब ३५ हजार नागरिक कर्णाली भित्रिए । जसका कारण उनीहरू सिधै सम्बन्धित पालिका पुगे ।

यसरी संक्रमित क्षेत्रबाट नागरिक भित्र्याउनु र उनीहरूको उचित व्यवस्थापन गर्न नसक्नु प्रदेश सरकारका लागि दुर्भाग्य बन्यो । दोस्रो पटक अर्थात् लकडाउन जारी रहेकै अवस्थामा भित्रिएका नागरिकहरूले आफूसँगै संक्रमण पनि भित्र्याए । गत जेठ ५ गते दैलेख आठबिस नगरपालिकाका एक जना पुरुषमा कोभिड–१९ संक्रमण पुष्टि भयो । उनी केही दिन पहिले भारतबाट फर्किएर क्वारेन्टाइन बसिरहेका थिए ।

पहिलो संक्रमण देखिएपछि कर्णाली त्रसित बन्यो । भारतबाट आउनेहरू खुलेआम गाउँ–गाउँमा घुमिरहेका थिए । यसले गर्दा यहाँ संक्रमण भयावह हुने चिकित्सकहरूको पनि आँकलन थियो । त्यसयता दैनिक संक्रमित थपिँदै गए । अहिले कर्णालीमा कोरोना संक्रमण समुदायस्तरमा फैलिएको छ भने लक्षणसहितका गम्भीर संक्रमित भेटिन थालेका छन् । संक्रमितमध्ये ६ जनाको मुत्यु भइसकेको छ । कर्णालीमा संक्रमितको संख्या एक हजार नौ सय ५६ जना पुगेको छ । यीमध्ये एक हजार सात सय ७२ जना भने संक्रमणमुक्त भइसकेका छन् । तर, संक्रमणको जोखिम टरेको छैन । संक्रमण दिनहँु बढ्दो
क्रममा छ ।

पर्साबाट आएका तीन जनामा संक्रमण

पर्साबाट आएका तीन जना मजदुरमा कोरोना संक्रमण देखिएको छ । उनीहरू चार दिन अघि मजदुरीका लागि ठेकेदारमार्फत पर्साबाट सुर्खेत आएका थिए । तीन जना संक्रमितसँगै १५ जना मजदुरीहरू वीरेन्द्रनगरस्थित एक होटलमा बसेका थिए । उनीहरूमध्ये मंगलवार ६ जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको हो । जसमध्ये तीन जनामा संक्रमण पुष्टि भएको छ । ती १७, १८ र २७ वर्षीय पुुरुषमा कोरोना संक्रमण देखिएको र बाँकी नौ जनाको परीक्षणका लागि बुधवार स्वाब संकलन गरिएको जनस्वास्थ्य सेवा कार्यालय सुुर्खेतले जनाएको छ । कार्यालयका अनुसार कोरोनाको उच्च जोखिममा रहेका पर्सा र रौतहटबाट आएकाले उनीहरूको परीक्षण गरिएको थियो ।

कोरोना पोजेटिभ देखिएका तीनै जना पर्साको बहुदरमाई नगरपालिका–९ का बासिन्दा हुन् । उनीहरूको स्वास्थ्य अवस्था समान्य रहेको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुुख चेतननिधि वाग्लेले जानकारी दिए ।

संक्रमित बसेको होटल सिल

पर्साबाट आएका मजदुरहरूमा कोरोना संक्रमण देखिएपछि उनीहरू बसेको होटल सिल गरिएको छ । वीरेन्द्रनगरस्थित जुम्लारोडको एक होटल सिल गरिएको हो । उक्त होटल पाँच दिनसम्म सिल गर्ने र त्यहाँ भएका सञ्चालक र कर्मचारीको पीसीआर परीक्षण गरिने जनाइएको छ । सुर्खेतका प्रमुुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बढी जोखिम भएका ठाउँहरूबाट आएका व्यक्तिहरूको निगरानी गर्न थालिएको जनाए । संक्रमणको आंशका भएका व्यक्तिहरूलाई होम क्वारेन्टाइनमा बस्न र स्वास्थ्य सुरक्षा अपनाउन भनिएको उनले बताए । उनले अन्य प्रदेशबाट आएकाहरूमा कोरोना पोजेटिभ देखिएपछि थप सतर्कता अपनाउनुपर्ने देखिएको औंल्याए । ‘पर्साबाट आएका व्यक्तिहरूमा कोरोना संक्रमण देखिए पछि यस घटनाले अलि सचेत र निगरानी बढाउनुपर्छ भन्नेतर्फ ध्यान गएको छ,’ प्रजिअ रेग्मीले भने ।

नाकामा फितलो निगरानी

सरकारले लकडाउन हटाएसँगै अहिले कोरोनाको जोखिम पनि बढेको छ । अन्तरजिल्ला मात्रै सवारी साधन सञ्चालन गर्न पाइने भनिए पनि कर्णालीमा भने यसको कार्यान्वयन कडाइका साथ गरिएको पाइदैन । मानिसहरूको आवतजावत रोकिएको छैन । अन्तर जिल्ला तथा सीमा–नाकाहरूमा गरिने निगरानी फितलो हुँदा संक्रमित क्षेत्रबाट मानिसहरूको सजिलै आवतजावत हुन थालेको हो । सीमा–नाकाबाट प्रदेश प्रवेश गर्नेहरूको परीक्षण समेत गर्ने गरिएको छैन । यसरी कर्णाली भित्रिनेहरूका कारण यहाँ थप भयावह स्थिति आउन सक्ने चिकित्सकहरूले औंल्याएका छन् । कर्णाली र प्रदेश नं. ५ को सीमा–नाका बबईमा उच्च सतर्कता नअपनाएकाले यहाँ कोरोनाको संक्रमण झनै बढ्दै जाने आँकलन गरिएको छ ।

यता, कर्णाली सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मंगलवार पत्रकारहरूसँगको भेटमा अब कर्णाली भित्रिनेको सीमा–नाका पीसीआर परीक्षण गर्न लागिएको जनाएका छन् । प्रदेश सरकारले भारत वा अन्य प्रदेशबाट कर्णाली आउने नागरिकलाई पीसीआर जाँचपछि मात्र प्रवेश गराउने भएको हो । मुख्यमन्त्री शाहीले लक्षणसहितका बिरामी देखा पर्न थालेको भन्दै सक्रिय भाइरस प्रदेश प्रवेश गर्न नदिन नाकाहरू सिल गर्ने सरकारको तयारी रहेको जनाएका हुन् ।