परीक्षणको दायरा
कर्णाली प्रदेशमा अलिक ढिला गरेर कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखियो । गत जेठ पहिलो साता पहिलो पटक दैलेखका एक युवामा संक्रमण पुष्टि भएको थियो । त्यसयता उक्त संख्या बढेर दुई हजार नजिक पुगिसकेको छ । यद्यपि संक्रमितहरू निको हुने क्रम पनि बढ्दो छ । संक्रमणमुक्त भएर डिस्चार्ज हुनेहरूको संख्या थपिँदै जाँदा नयाँ संक्रमित फेला पर्ने क्रम पनि रोकिएको छैन । अर्थात् संक्रमणको जोखिम घटेको छैन । अझै पनि कर्णाली प्रदेश कोरोना संक्रमणको जोखिममा छ ।
सुरुवातमा फेला परेका अधिकांश संक्रमित भारतबाट फर्किएकाहरू हुन् । महामारी फैलिएको मुलुकबाट फर्किएकाहरूमा गरिएको परीक्षणका क्रममा धमाधम संक्रमित भेटिएका थिए । उनीहरूलाई प्रदेशभित्रका विभिन्न जिल्लामा स्थापना गरिएका क्वारेन्टाइनमा राखिएको थियो । अहिले क्वारेन्टाइन रित्तिदै छन् । न्यून संख्या मात्रै क्वारेन्टाइनमा छ । त्यसो त सक्रिय संक्रमितको संख्या पनि दुई सय आसपास मात्रै छ । यो सकारात्मक पक्ष हो । तर यसो भनेर थप जोखिमलाई नजरअन्दाज गर्ने अवस्था भने छैन । यो किन पनि भने अहिले संक्रमण समुदायमा पुगिसकेको छ । समुदायमा महामारी अझ फैलिने डर बढी हुन्छ । त्यही जोखिम नियन्त्रण गर्नु अहिलेको चुनौती हो ।
कोरोना परीक्षण सुरुदेखि नै जति प्रभावकारी हुनुपर्ने थियो कर्णालीमा त्यसो भएन । भारतबाट फर्किनेहरूलाई बबई नाकामा अनिवार्य पीसीआर परीक्षण गराएर मात्र जिल्लामा पठाउने सरकारको घोषणा नै कार्यान्वयन भएन । ती घोषणा केवल सञ्चार माध्यमका समाचार मात्र बने । आरडीटी परीक्षणका भरमा नागरिकलाई जिल्ला पठाइयो । कोही लुकिछिपी घर पुगे । उनीहरूको न खोजी भयो न परीक्षण । क्वारेन्टाइनहरू पनि व्यवस्थित भएनन् । निर्देशिकामा टेकेर क्वारेन्टाइनमा १४ दिन राखेर समुदायमा पठाइयो । संक्रमण पुष्टि भएकालाई पनि १४ दिन मात्र आइसोलेसनमा राखेर पुनः परीक्षण नगरी डिस्चार्ज गरियो । यसले समुदायमा थप जोखिम बढायो । ढिलै भए पनि अहिले भने कोरोना परीक्षण समुुदायमा केन्द्रित गर्न थालिएको छ । लकडाउन हटेसँगै संक्रमणको जोखिम बढेको भन्दै समुदायस्तरमा परीक्षण गर्न लागिएको हो । अहिले प्रदेशमा बढी संक्रमण देखिएका दैलेख र सुर्खेतमा समुदायस्तरमा परीक्षण गर्न सुरु गरिएको छ । कोरोना संक्रमण दोस्रो चरणमा प्रवेश गरिसकेको अवस्थामा लक्षणसहितका संक्रमित फेला पर्न थालेपछि परीक्षणलाई समुदायस्तरमा नै केन्द्रित गरिएको कर्णाली प्रदेश सरकारले जनाएको छ ।
पछिल्लो समय भारतबाट तथा देशकै अन्य स्थानबाट कर्णाली भित्रिनेको संख्यामा कमी आएको छ । बाहिरबाट आउने व्यक्तिहरू कम हुँदै गए पनि कोरोना संक्रमणको जोखिम भने बढ्दै गएको छ । संक्रमण समुदायमा फैलिसकेकाले भिडभाड हुने सार्वजनिक स्थानहरूमा नमुना संकलन गरेर परीक्षण गर्न थालिएको हो । समुदायमा परीक्षण अनिवार्य भइसकेको छ । प्रदेशका सुर्खेत, जुम्ला, दैलेख र रुकुुम–पश्चिम गरी चार जिल्लामा पीसीआर जाँच मेसिन सञ्चालनमा छन् । अब परीक्षण किट व्यवस्थापन गरेर दायरा बढाउन ढिला गर्नु हुँदैन । परीक्षणमा ढिलाइले जोखिमसँगै संक्रमण पनि बढ्नेछ ।
प्रकाशित मितिः २२ श्रावण २०७७, बिहीबार ०६:००
साझा बिसौनी ।