कोरोना परीक्षण समुदायमा केन्द्रित
कर्णालीमा कोरोना भाइरस (कोभिड–१९) को परीक्षण समुुदायमा केन्द्रित गर्न थालिएको छ । लकडाउन हटेसँगै संक्रमणको जोखिम बढेको भन्दै समुदायस्तरमा परीक्षण गर्न लागिएको हो । प्रदेशमा बढी संक्रमण देखिएका दैलेख र सुर्खेतमा समुदायस्तरमा परीक्षण गर्न सुरु गरिएको छ । कोरोना संक्रमण दोस्रो चरणमा प्रवेश गरिसकेको अवस्थामा लक्षणसहितका संक्रमित फेला पर्न थालेपछि परीक्षणलाई समुदायस्तरमा नै केन्द्रित गरिएको कर्णाली प्रदेश सरकारले जनाएको छ ।
पछिल्लो समय भारतबाट तथा देशकै अन्य स्थानबाट कर्णाली भित्रिनेको संख्यामा कमी आएको छ । बाहिरबाट आउने व्यक्तिहरू कम हुँदै गए पनि कोरोना संक्रमणको जोखिम भने बढ्दै गएको छ । संक्रमण समुदायमा फैलिसकेकाले भिडभाड हुने सार्वजनिक स्थानहरूमा नमुना संकलन गरेर परीक्षण गर्न थालिएको हो । काठमाडौं, पूर्वी तराई र कैलालीतिर लक्षण देखिएका संक्रमित बढ्न थालेकाले ती ठाउँहरूबाट आउने व्यक्तिहरूको निगरानीमा पनि जोड दिइने कर्णाली सरकारले बताएको छ ।
‘संक्रमण समुदायमा गइसकेकाले परीक्षणको दायरा बढाएर समुदायमा केन्द्रित गरेका छौं,’ मंगलवार पत्रकारहरूसँगको भेटमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भने । अहिले क्वारेन्टाइनमा खटिएका सुरक्षाकर्मी, संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी, व्यवस्थापनमा खटिएका कर्मचारी, जनप्रतिनिधि र केही समुदायका व्यक्तिमा समेत संक्रमण देखिएको उनले बताए । ‘त्यसैले परीक्षण समुदायमा केन्द्रित गरेका हौं,’ मुख्यमन्त्री शाहीले भने, ‘अब एक साता पर्खिएर कोरोना संक्रमण र संक्रमितको स्वास्थ्य अवस्था हेरी रोकथाम तथा नियन्त्रणको थप योजना बन्नेछ ।’
पछिल्लो तथ्याङ्कअनुसार प्रदेशभर कोरोना संक्रमितको संख्या एक हजार नौ सय ४५ पुगेको छ । जसमध्ये प्रदेशभर एक हजार सात सय ४१ जना संक्रमणमुक्त भएका छन् । मंगलवारसम्म कर्णालीमा एक सय ९८ जना सक्रिय संक्रमित छन् । अहिलेसम्म दैलेखमा मात्र नौ सय ४० संक्रमित भेटिएका छन् । सुर्खेतमा पाँच सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश सरकारले जोखिम बढ्दै गए कर्णाली भित्रिनेहरूको अनिवार्य पीसीआर रिपोर्ट हुनुपर्ने व्यवस्था गर्न सकिने जनाएको छ । अहिले प्रदेशमा सुर्खेत, जुम्ला, दैलेख र रुकुुम–पश्चिममा गरेर पाँच वटा पीसीआर मेसिन छन् । ती मेसिनको दैनिक झण्डै एक हजार नमुना स्वाबको परीक्षण गर्ने क्षमता छ । मुख्यमन्त्री शाहीले पछिल्लो समय लक्षणसहित कोरोना भाइरस संक्रमित देखिन थालेकाले यसको अवस्था हेरेर दुई साता जति लकडाउन गर्न संघीय सरकारलाई सुुझाव दिएको बताए । उनका अनुसार कर्णालीमा भयावह अवस्था आउने देखिए प्रदेशका सबै नाकाहरूमा कडाइ गरिनेछ । प्रदेश सरकारले कर्णालीमा कार्यरत गैरसरकारी संघ–संस्थासँग पनि कोरोना लक्षित कार्यक्रम के गर्न सकिन्छ भन्ने विषयमा छलफल थालेको छ ।
कर्णाली सरकारले कोरोना उपचारका लागि दशवटै जिल्लामा अक्सिजन प्लान्ट र सुर्खेतमा अक्सिजन स्टोर राखिने जनाएको छ । पहिलेको तुलनामा आइसोलेसन, भेन्टिलेटर र आईसीयूूको व्यवस्थालाई मजबुुत गराउँदै लगेको सरकारको भनाइ छ ।
यस्तै, सुर्खेतमा पछिल्लो समय समुदायस्तरका करिब पाँच सय जनाको कोरोना परीक्षण गरिएको छ । सबैभन्दा बढी भिडभाड हुने यातायात, जिल्ला प्रहरी, नापी, मालपोत कार्यालयमा परीक्षण गरिएको हो । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले वीरेन्द्रनगर बजारका व्यवसायीहरूको पनि कोरोना परीक्षण गरेको जनाएको छ । जनस्वास्थ्य सेवा कार्यालयका प्रमुुख चेतननिधि वाग्लेले यातायात मजदुर, विद्युुत, बैंक, तरकारी बजार र टेलिकमलगायतका कार्यालयमा पनि परीक्षण गर्ने योजना रहेको जानकारी दिए । ‘हामीले परीक्षणलाई समुदायमा केन्द्रित गर्दै लगेका छौं,’ उनले भने, ‘विशेष गरेर वीरेन्द्रनगरमा बढी मानिसहरूको चहलपहल हुने भएकाले यहाँ धेरै स्थानमा परीक्षण गर्ने तयारी छ ।’ जिल्लाका अन्य ठाउँमा भने स्थानीय पालिकाको समन्वयमा समुदायमा कोरोना परीक्षण गरिनेछ ।
दुई साता लकडाउन गर्न विज्ञको सुझाव
कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि सरकारले फेरि लकडाउन गर्ने तयारीबारे परामर्श सुरु गरेको छ । पहिलेको तुलनामा दिनानुदिन संक्रमण दर बढ्दै गएपछि लकडाउन गर्नेबारे सरकारले सम्बन्धित विज्ञहरूसँग परामर्श थालेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विज्ञहरूले करिब दुई साता लकडाउन गर्न सुझाव दिएका छन् । मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा विज्ञहरूले कोरोना संक्रमण दर बढ्दै गएकाले करिब दुई साता लकडाउन गर्नुपर्ने सुझाव दिएका हुन् ।
अहिलेको जसरी कोरोना संक्रमण दर बढ्दै गएमा स्थिति भयावह हुने विज्ञहरूले बैठकमा बताएका थिए । विज्ञहरूले यस्तो सुझाव दिएपछि प्रधानमन्त्री ओलीले आफू सकारात्मक रहेको भन्दै छिट्टै टुङ्गोमा पुग्ने बताएका थिए ।
त्यस्तै, कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को पछिल्लो बैठकमा फेरि लकडाउन गर्नुपर्ने सम्बन्धमा छलफल भएको थियो । छलफलमा सहभागी सुरक्षा निकायका अधिकारीहरूले करिब दुई साता लकडाउन गरेर कोरोना रोकथामको नयाँ रणनीतिका साथ अगाडि बढ्नुपर्ने सुझाव दिएका थिए ।
साउन ७ गतेदेखि राजधानी प्रवेश तथा अन्य जिल्लाहरूमा अन्तरागमनलाई खुकुलो गरेपछि कोरोना संक्रमण दर बढेको छ । निजी तथा सार्वजनिक साधनको निर्बाध सञ्चालनदेखि होटल रेष्टुरेण्ट खुला गरेपछि संक्रमण बढेको विज्ञहरूले बताएका छन् । सरकारले चैत ११ गतेदेखि पटक–पटक समय थप गरी करिब चार महिना लकडाउन गरेको थियो । साउन ७ गतेदेखि लकडाउन औपचारिक रूपमा अन्त्य गरेको थियो ।
स्वास्थ्य मन्त्रालयले पनि केही समय लकडाउन गर्न उपयुक्त हुने सीसीएमसीलाई प्रस्ताव पेश गरिसकेको छ । जनस्वास्थ्य क्षेत्रका विज्ञहरूले कोरोना भाइरसको प्रकोप बढ्दै गएकाले लकडाउन गर्न सुझाव दिएका हुन् । छलफलमा सहभागी धेरै विज्ञहरूले लकडाउन गर्नुपर्ने धारणा राखेका छन् । लकडाउन नगरेमा थप भयावह हुन सक्ने औल्याउँदै कतिपय विज्ञहरूले कर्फ्यूसमेत लगाउनुपर्ने सुझाएका थिए ।
प्रकाशित मितिः २१ श्रावण २०७७, बुधबार ०६:०६
साझा बिसौनी ।