मेला र जमघटमा रोक

सुर्खेतमा मानिसहरू जमघट हुने गरी कुनै पनि कार्यक्रम गर्न नपाइने भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको मंगलवार बसेको बैठकले जमघट हुने गरी कुनै पनि सभा, गोष्ठी, सेमिनार, तालिम, जुुलुस, जात्रा, महोत्सव र धार्मिक कार्यक्रम गर्न रोक लगाइएको हो ।

कोरोना भाइरसको जोखिम रहिरहेकाले अर्को निर्णय नहुुँदासम्मका लागि यस्ता गतिविधिमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए । उनका अनुसार यो निर्णय मंगलवारदेखि नै लागु भइसकेको छ । चाडपर्वहरू पनि नजिकिँदै गएकाले गाइजात्रालगायतका जात्रा लाग्ने र विभिन्न विरोधका नाममा प्रदर्शनहरू हुँदा भिडभाड बढ्ने भन्दै समितिले यस्ता गतिविधिमा रोक लगाएको प्रजिअ रेग्मीले जनाए ।

उनका अनुसार समितिको बैठकमा कोरोना रोकथाम, नियन्त्रण तथा उपचार लगायतका कार्यहरू प्रभावकारी ढङ्गले छिटो, व्यवस्थित र समन्वयात्मक रूपमा गर्ने विषयमा छलफल भएको छ । भारत तथा अन्य मुलुकबाट आउने व्यक्तिहरूलाई अनिवार्य रूपमा क्वारेन्टाइनमा राख्नको लागि प्रत्येक पालिकाले कम्तीमा एउटा क्वारेन्टाइन र एउटा आइसोलेसन यथावत राख्ने तथा व्यक्तिहरूको निगरानी बढाइ व्यवस्थित अभिलेख राख्ने पनि निर्णय भएको छ ।

प्रकाशित मितिः   २१ श्रावण २०७७, बुधबार ०६:०५