बिरामीलाई लायन्सको आर्थिक सहयोग
सुर्खेत : विषालु च्याउको तरकारी खाँदा बिरामी परेका जाजरकोट कुशे गाउँपालिका–१ स्याक्रीका चलाउने परिवारलाई लायन्स क्लब अफ वीरेन्द्रनगर सुर्खेतले आर्थिक सहयोग गरेको छ । प्रदेश अस्पतालमा उपचारत उनीहरूलाई लायन्सले आर्थिक सहयोग गरेको हो । लायन्सले बिरामीका परिवारलाई १२ हजार रूपैयाँ सहयोग गरेको कुशे गाउँपालिकाका अध्यक्ष हरिशचन्द्र बस्नेतले जानकारी दिए ।
साउन ९ गते जंगलबाट ल्याएका विषालु च्याउको तरकारी खाँदा टेकबहादुर चलाउनेसहित परिवारका आठ जना बिरामी परेका थिए । तीमध्ये टेकबहादुरका २१ वर्षीय छोरा ललित, १६ वर्षीया छोरी औसरा, १३ वर्षीया छोरी धनसरा, ११ वर्षीया नातिनी निरुता र तीन वर्षीया नातिनी अञ्जनाको मृत्यु भएको छ । अञ्जनाको सोमवार, औसरा, धनसरा र निरुताको मंगलवार तथा ललितको बिहीवार उपचारको क्रममा कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको हो । टेकबहादुर चलाउने, उनकी ३० वर्षीया बुहारी कल्पना र छोरी पशुपति चलाउनेको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।
तीन जना उपचाररत रहेकाले उनीहरूलाई आर्थिक सहयोग गरेका हौं,’ लायन्सका अध्यक्ष लक्ष्मी शाहीले भनिन्, ‘आर्थिक अभावमा उपचारमा समस्या भइराखेकाले थप सहयोगका लागि पनि पहल गर्नेछौं ।’ रकम हस्तान्तरण गर्दै डिष्ट्रिक कोर्डिनेटर टीकाराम चपाईंले सुर्खेत–दैलेख एरियाका लायन्स क्लबबाट थप सहयोगका लागि पहल गरिने बताए ।
प्रकाशित मितिः १८ श्रावण २०७७, आईतवार ०६:०६
साझा बिसौनी ।