१३ सय छात्रालाई सेनिटरी प्याड

हुम्ला: छात्राहरूलाई विद्यालयमा नियमित गर्न सेनिटरी प्याड वितरण गरिने भएको छ । हुम्लाको खार्पुनाथ गाउँपालिकाले एक हजार तीन सय छात्रालाई महिनावारीका बेला पनि पढाइ नियमित गराउन स्वास्थ्य सामग्री प्याड वितरण गर्न लागेको हो । प्याड नहुँदा महिनावारीको समयमा छात्राहरू विद्यालयमा अनियमित हुने गरेका छन् ।

खार्पुनाथ गाउँपालिका क्षेत्रभित्र रहेका १० वटा सामुदायिक विद्यालयलाई निःशुल्क सेनिटरी प्याड वितरण गर्न लागेको छ । सामुदायिक विद्यालयका छात्रालाई पाँच हजार पाँच सय थान सेनिटरी प्याड वितरण गरिने गाउँपालिका शिक्षा शाखा प्रमुख भीमबहादुर थापाले जानकारी दिए । उनका अनुसार कक्षा ६ देखि कक्षा १२ सम्मका छात्राहरूलाई लक्षित गरी सो कार्यक्रम सुरु गर्न लागिएको हो । यसका लागि नेपालगन्जबाट सामान आइसकेको र लगत्तै वितरण गर्ने तयारी भएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मितिः   १८ श्रावण २०७७, आईतवार ०६:०६