१७ सय जना संक्रमणमुक्त

सुर्खेत : कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मुक्त हुनेको संख्या एक हजार सात सय २२ जना पुगेको छ । शनिवार प्रदेशका तीन जिल्लामा गरी थप सात जना संक्रमणमुक्त भएका हुन् ।

प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार प्रदेश अस्पताल सुर्खेतबाट चार जना, नारायण नगरपालिका दैलेखको आइसोलेसनबाट दुई जना र छत्रेश्वरी गाउँपालिका सल्यानको आइसोलेसन केन्द्रबाट एक जनाले कोरोना जितेका छन् । महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार शनिवार कर्णाली प्रदेश अस्पताल सुर्खेतको प्रयोगशालामा गरिएको आरटी–पीसीआर परीक्षणमा पाल्पाका एक जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो तथ्याङ्कअनुसार कर्णालीमा कोरोना संक्रमितको संख्या एक हजार नौ सय ३९ पुगेको छ ।

प्रदेशभर सक्रिय संक्रमित दुई सय ११ जना छन् । महाशाखाले दिएको जानकारी अनुसार सुर्खेतमा ४० जना, दैलेखमा एक सय २९ जना, जाजरकोटमा १२ जना, सल्यानमा नौ जना, मुगुमा एक जना र कालीकोटमा १२ जना कोरोनाका ‘एक्टिभ केस’ छन् । कर्णाली प्रदेशमा हालसम्म ५० हजार बढीको आरडीटी र ४० हजार सात सय १३ जनाको आरटी–पीसीआर विधिबाट कोरोना परीक्षण भएको छ । पछिल्लो समय आइसोलेसन र क्वारेन्टाइन रित्तिँदै गएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हाल बाहिरबाट आउने व्यक्तिहरूको संख्यामा कमी आएकाले क्वारेन्टाइनहरू खाली हुँदै गएका हुन् । सरकारले विद्यालयमा रहेका क्वारेन्टाइनहरू खाली गर्न भनेकाले पनि सोही अनुसार तयारी गरिरहेको निर्देशनालयले जनाएको छ । कर्णालीमा कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु भएको छ ।

देशभर संक्रमितको संख्या २० हजार ८६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार गरेको नियमित कोभिड–१९ प्रेस ब्रिफिङ्गमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा तीन सय १५ जना संक्रमित फेला परेको जानकारी दिएका हुन् । नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १४ हजार चार सय ९२ पुगेको छ ।

प्रकाशित मितिः   १८ श्रावण २०७७, आईतवार ०६:०३